६ लाख बढीको अखाद्य पदार्थ नष्ट
बजारमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको थुप्रै भेटिने गरेका छन् । बजार अनुगमनका बेला भेटिएका अखाद्य पदार्थ भेटिंदा नष्ट गर्ने गरिएपनि अरु बेला निर्वाध बिक्री हुने गरेका छन् ।
‘अखाद्य वस्तु अनुगमनमा नष्ट गरिन्छ नै, तर उपभोक्ता आफै पनि आफुले प्रयोग गर्ने खाद्य वस्तुमा सतर्क हुनुपर्दछ’, वाणिज्य कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईले भने ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ६ लाख २० हजार ३ सय ७७ रुपैयाँ बराबराको अखाद्य पदार्थ नष्ट गरेको छ । अखाद्य पदार्थ बढी जसो मिठाई र बेकरीबाट नष्ट गरिने गरेको छ ।
२ सय १५ फर्मलाई कारवाही
४ लाख ७० हजार जरिवाना असुली
बजारमा हुने बेतिथि अनुगमन र कारवाहीको तथ्यांक हेर्दा देखिन्छ । किराना होस् वा इलेक्ट्रोनिक्स, कपडा वा मिठाई पसल अनुगमनका बेला कैफियत भेटिने गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक बर्षमा गरेको अनुगमनमा स्टेशनरी, कस्टमेटिक, फलफुल तरकारी, मदिरा, हार्डवेयरलाई समेत कुनै नै किसिमको कारवाही गरेको पाइन्छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईले बजारको नियमित रुपमा अनुगमन हुने गरेको जानकारी दिएका छन् । उनले जिल्लामा संयुक्त तथा वाणिज्यले छुट्टै पनि आफ्नो कार्यक्षेत्र अन्तर्गत अनुगमनलाई निरन्तरता दिएको जानकारी दिएका छन् ।
वाणिज्य कार्यालयले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ३ सय १७ वटा व्यवसायिक फर्महरुको अनुगमन गरी २ सय १५ फर्मलाई तत्कालै सुधार गर्नुपर्ने विषयमा सुधार गर्न निर्देशन दिएको जानकारी दिएको छ । ३ सय १७ फर्म अनुगमन गर्दा २ सय १५ मा कुनै न कुनै किसिमको कैफियत भेटिनुले बजारमा बेथिति चरम रहेको पाइन्छ । अनुगमनका क्रममा ७७ फर्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको वाणिज्यको तथ्यांक रहेको सूचना अधिकारी चौलागाईले बताए ।
वाणिज्यले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म १५ वटा फर्मलाई जरिवाना गरेको छ । उक्त अवधीमा ६ लाख २० हजार ३ सय ७७ रुपैयाँ जरिवाना गरेको छ । चालु आर्थिक बर्षमा वाणिज्यले २ वटा वस्तुको नमूना परीक्षणका लागि लिएको थियो भने १० वटा फर्मको कारोबार रोक्का तथा शिलबन्दी गरेको थियो ।
१५ सय बढी फर्म थपिए
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय अन्तर्गत चालु आर्थिक बर्षको फागुन मसान्तसम्म १ हजार ५ सय ६७ नयाँ फर्म दर्ता भएका छन् । कोरोनाका कारण व्यवसायिक क्षेत्र धराशयी भएका बेला समेत नयाँ फर्म दर्ता घटेको छैन ।
चालु आर्थिक बर्षको फागुन मसान्तसम्म १ हजार ५ सय ५५ प्राइभेट र ९ वटा साझेदारी फर्म दर्ता भएका छन् । त्यस्तै, १ हजार ४ सय ७२ वटा प्राइभेट र ४६ वटा साझेदारी फर्म नविकरण भएको कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईले जानकारी दिएका छन् ।
वाणिज्यले फर्म दर्ता, नविकरण, जरिवानाबाट कुल ८८ लाख ७० हजार ६४ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको छ ।
यस्तो, देशभरको अवस्था
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म÷कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म÷कम्पनीको अनुमगन गरेका थिए ।
विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । अनुगमनका क्रममा विभागले रु चार करोड ४७ लाख ८१ हजार २२१ मूल्य बराबरको खान अयोग्य म्याद समाप्त भएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ । सो अवधिमा ८० व्यावसायिक फर्मको कारोबार रोक्का र सिलबन्दी गरिएको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
विभागले चालु आवको माघ मसान्तसम्म एक हजार ८१९ फर्मको अनुगमन गरेको छ । सो अवधिमा ८६३ फर्मलाई रु ८९ लाख ८० हजार जरिवाना तिराइएको र रु २८ लाख ५५ हजार ३१८ बराबरको अखाद्य वस्तु नष्ट गरिएको श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय र सहकार्यमा बजार अनुगमन कार्यलाई गाउँ, टोल र बस्तीसम्म विस्तार गर्ने रणनीति अवलम्बन गरेको जानकारी दिए ।