औषधी जस्तो संवेदनशील विषयमा समेत लापरवाही हुँदै आएको खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले मेडिकल तथा फार्मेसीहरुको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको, नेपालमा दर्ता नभएका औषधी बिक्री गरेको फेला पारेको हो । पछिल्ला दिन वाणिज्यले मेडिकल तथा फार्मेसीहरुको अनुगमनलाई तिव्रता दिएको छ ।
वाणिज्य कार्यालयले आइतबार नेपालगन्ज मेडिकल कलेज नजिकै रहेको एक फार्मेसीलाई अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा तत्कालै २० हजार रुपैयाँ जरिवाना गरेको छ । नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको र खरिद बिल नदेखाएको हुँदा जरिवाना गरेको जानकारी दिंदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले थप अनुसन्धान र कारवाही औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जबाट अघि बढ्ने बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज र औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जबाट भएको संयुक्त बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज प्रमुख कृष्ण प्रसाद पौड्याल र औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साह लगायत सहभागी दिए ।
फार्मेसी निरीक्षक शाहले यसअघि पनि औषधी पसलको अनुगमन गरेर त्रुटि भेटिएकालाई तत्काल सुधार गर्ने निर्देशन दिएको बताएका छन् । ‘मापदण्ड पालना नगरेको भेटिए मापदण्ड पूरा नहुँदा सम्म फार्मेसी, मेडिकल सञ्चालन गर्न दिंदैनौं’, उनले भने, ‘नेपालमा दर्ता नभएका औषधी बिक्री गरेको सन्दर्भमा थप कारवाहीका लागि विभागमा जानकारी पठाएर प्रक्रिया अगाडि बढाउने गरेका छौं ।’
यसअघि पनि नेपालमा दर्ता नभएको औषधी बिक्री गरेको फर्म भेटिएपछि औषधी व्यवस्था विभाग शाखा नेपालगन्जले त्यसबारे कारवाही प्रक्रिया अगाडि बढाएको छ । यसै महिना कोहलपुरमा गरिएको एग्रोभेट अनुगमनमा खरिद बिल नदेखाएका ५ वटा फर्मलाई ४५ हजार जरिवाना गरिएको थियो ।