मुलुकभरका होम स्टेहरुको छाता संस्था, होम स्टे एशोसिएसन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनले ९ बुंदे गाभर भ्याली घोषणा जारी गरेको
छ । बाँकेको गाभर भ्याली होम स्टेमा आयोजना भएको राष्ट्रिय सम्मेलन तथा होमस्टे कार्यशाला गोष्ठी समापन पछि सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी ९ बुंदे घोषणा पत्र सार्वजनिक गरिएको हो ।
होम स्टे एशोसिएसनका नवनिर्वाचित महासचिव कृष्ण चौधरीका अनुसार, सम्मेलनले बार्षिक तथा आवधिक कार्ययोजना तयार गर्ने प्रतिबद्धता जारी गर्दै होम स्टे प्रवद्र्धन रणनीति तय गर्ने जनाएको छ । सम्बन्ध विकासका लागि अन्तर्राष्ट्रिय संघ, संस्था सँग समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएको होम स्टे एशोसिएसनले छिट्टै होम स्टे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।
‘त्यसअघि होम स्टे कार्यविधि तयार गरी कार्यान्वयन गर्न प्रतिबद्ध छौं’, घोषणा पत्रबारे जानकारी दिंदै महासचिव चौधरीले भने, ‘सबै राजनीतिक दलको नीति तथा कार्यक्रममा होम स्टे प्रवद्र्धनको रणनीति तयारीका लागि पहलकदमी गर्दैछौं ।’
समृद्धिको आधार होम स्टे हो भन्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न आव्हान गरेको सम्मेलनले ‘होम स्टेमा मन, यसैमा छ जीवन अभियान’ सञ्चालन गर्ने जनाएको छ । होम स्टे मार्फत प्रकृति, मौलिक रैथाने कला, संस्कृति, ज्ञान सीप प्रविधिको संरक्षण तथाप्रवद्र्धन गर्न होम स्टे एशोसिएसन नेपालले आव्हान पनि गरेको छ ।
यसअघि बाँकेको गाभर होमस्टेमा भएको होमस्टे महासंघको तेस्रो राष्ट्रिय सम्मेलनले प्रेमशंकर मर्दनिया थारुको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिको महासचिवमा बाँकेका होमस्टे सञ्चालक कृष्ण चौधरी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एकराज घिमिरे, प्रकाश गुरुङ, धनिश्वर बस्याल, बाबुराजा महर्जन, सचिवमा गंगादेवी हयाजु, कोषाध्यक्षमा सुरज बास्तोला निर्वाचित भएका छन् । अधिवेशनले विधान समेत पारित गरेको थियो ।