विचार

अहिले देश निर्वाचनमय भएको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा दशकौं देखि आलोपालो देशको ढुकुटीमा रजगज गरेका पार्टीका नेताहरु तुफानी पारामा आमसभा, पार्टी प्रवेश, कार्यकर्ता भेटघाट देखि निर्वाचन केन्द्रित रणनीतिक योजनाका नुस्का बताउन गाउँगाउँ पुगेका छन् । कसैलाई एमसीसी पास भएकोमा गर्व छ त कसैलाई त्यो पास गराउन आफ्नो प्रत्यक्ष संलग्नता हुन नपाएकोमा पछुतो छ । कसैलाई २०७४ सालमा गरिएका चुनावी बाचाहरुलाई उलटफेर गर्नै ठिक्क छ त कसैलाई ती बाचा फेरि पस्केर अर्को झुठको पोको तयार गर्ने व्यस्तता छ । कतिलाई गठबन्धन गरेर आफ्नो अस्तित्व जोगाउने अनुनयविनय छ त कतिलाई घुर्की लगाएरै भएपनि अस्तित्व रक्षाको खेल तयार गर्नुछ । कतिपयलाई नेपालको मूलकुल धर्मसंस्कृति भाषा सभ्यता र नेपाली मौलिकतालाई बेलायती संवर्धनवाद र आफ्नो मुलधर्म कै बिषयमा जनमतसंग्रह गराउने प्रचार गरेर सत्तामा भागिदारीको दाउ छ ।

उसैपनि नेपालमा बिगतका पाँच दशक देखि नै फागुन देखि बैसाखसम्मका दिनहरु सधैं आन्दोलन र राजनीतिक महोत्सवका दिन हुने गरेका छन् । यहाँ राजनीति चिया पसलदेखि शिक्षालयसम्म हुने गर्छ । यसै बीच यिनै महिनाहरुमा नीजि विद्यालयका संगठनहरुका सभाहरु, शिक्षाका चर्चाहरु पनि हुने गर्छन् । हिजो मात्रै नीजि विद्यालयहरुको संगठन प्याब्सनको महामेला सकिएको छ । नीजि शिक्षाको राजनीतिमा विगत कै परम्परालाई निरन्तरता दिँदै थुप्रै थोत्रा बाचाहरु पस्केर नयाँ नेतृत्व आएको छ ।

३१ बर्ष पुरानो नीजि विद्यालयको संगठनले आफ्नो नयाँ नेतृत्व चयन गर्दै गर्दा देशैभरिबाट काठमाण्डौमां राम्रै मेला लगाए । यो मेलामा आएका प्रतिनिधिहरुको रवाफ हेर्दा कुनै कतै कठैबरा अभावमा भएका भन्ने लाग्दै लागेन । पाँच हजार प्रवेश शुल्क तिरेर, अधिकांशले हवाइजहाजको यात्रा गरेर राम्रै होटल र रिसोर्टहरुमा बसेर मेला लगाएको देख्दा कुनै पनि नीजि विद्यालयको सञ्चालक कमजोर आर्थिक पृष्ठभूमिको छ भन्ने ठाउँ देखिँदैन ।

यस्तो प्रक्रिया त बिगत तीन दशक देखि अनवरत रुपमा चलेकै छ । नीजि विद्यालयका कुराहरु पनि गरिएकै छ । अनि सिंहदरबार र बालुवाटारको बगलीमा बसेर चोचोमोचो पनि चलेकै छ । अनि त्यो गलैपरानीबाट निस्केर हायतौबाको नौटङ्की गर्दै फेरि मोफसललाई प्याजि आँसुपनि देखाँइदै छ ।

नेपालमा सबैभन्दा सजिलो राजनीतिक एजेण्डा भनेको नै नीजि शिक्षा हो ।यहाँको राजनीतिको एउटा जमात छ जो ‘नीजि शिक्षालाई बन्द गराउँछु’ भनेर चुनावी एजेण्डा सेट गर्छ । त्यसको छाउरा संगठन ‘छ लौ चन्दा दे नत्र ….। ’ भन्दै थर्काउन आउँछ । त्यहि पार्टीको केन्द्रीय नेताको अगलीबगलीमा बस्नेले ‘लौ म नीजि विद्यालयलाई बचाउँछु बचाएँ, ’ आदि फतुर बकाएर नियुक्तिको दाउ लाउँछ । अनि माउ नेताले ‘म नीजि विद्यालय त बन्दै गराउँछु’ भन्दै कार्यकर्ता र जनतालाई उल्लू बनाउँछ । आफु महङ्गा महङ्गा स्कूल खोल्छ, आफ्ना सन्तानलाई पचासौं हजार तिर्ने नीजि विद्यालयमा पढाउँछ । यो कस्तो चरित्र ? यसलाई दोगलेपन मात्रै होइन यसलाई त चौगलेपन भन्दा पनि कमै हुन्छ । यो शिलशिला तीन दशक देखि चलेको चल्यै छ । फेरिपनि धेरै जनतालाई विश्वास छ कि नीजि विद्यालय त एकदिन बन्द पक्कै हुनेछन् ।
हो बन्द नहोलान भन्न पनि सकिँदैन । किनकि देशमा नीजि मात्रै होइन सरकारी पनि चलेका छन् भन्ने अवस्था त छैन । हरेक शिक्षकले पार्टीको भातृसंगठनको कित्तामा नउभिए उसको खैरात नै छैन । विद्यालयमा सामान्य बिदा पाउने देखि सरकारले दिने पुरस्कारसम्म पार्टीको ताबेदारी संगठनमा नहुने हो भने चालिस बर्ष इमान्दार भएर काम गरेपनि उसलाई धन्यवाद भन्ने न त अभिभावक निस्किन्छ न स्थानीय देखि केन्द्रसम्मको सरकार । पार्टीको पगरी छैन भने उसको परिचय नै छैन नेपालका विद्यालयहरुमा । तर पार्टीको परिचय छ भने सत्तोचुर धोकेर ठस्ठस्ती गन्हाउँदै विद्यालय जानेले पनि शिक्षा पुरस्कारमा सिफारिस पाउँछ । उसले उभिँदा पनि र बस्दा पनि सञ्जालमा ‘वाह कति सुहाएको , बधाइ, गज्जब, हजुरजस्तो हामी पनि हुन पाए….. ’ उफ ! हेर्दा पनि लाजै लाग्ने । पार्टीबाट त झन सम्मानका बौछार त कति हो कति । यहि हो नेपालका अधिकाशं विद्यालय शिक्षकहरुको मनोदशा ।

कतिपयलाई यो कुराले रिस उठ्ला पनि । त्यो रिसपनि यस्तै प्रबृति भएकाहरुलाई नै हो उठ्ने । थाह छ वहाँहरुलाई पनि । तर यो पङ्तिकारले अलिकति वास्तविकतालाई प्रतिनिधि रुपमा उजागार गर्न मात्रै खोजेको हो ।

नेपालको शिक्षामा राजनीतिको दुर्गन्धको डुङ्गुर चानचुने छैन । चाहे त्यो सरकारी होस् या नीजि । आज पनि नीजि विद्यालयहरु, क्याम्पसहरु, प्राविधिक शिक्षालयहरु, पाठशालाहरुमा आफैले अनुसन्धान गरेर हेर्नुस् त्यहाँ भएका लगानीकर्ताहरु को छन् ? त्यहाँ भएका प्रधानाध्यापकहरु को छन् ? मैले भन्नै पर्दैन । यहाँहरुले आफै बुझ्नु हुनेछ । देशको राजश्वबाट तलबभत्ता, मानप्र्रतिष्ठा, अनि सिङ्गो मिहनेत आफ्नो नीजि लगानीमा । अनि कुरा ठूल्ठूला गरेर जनतामा भ्रम । सबैलाई थाह छ । यो राजनीति । तर तैं चुप, मैं चुप । नीजि विद्यालयहरुको योगदानका कथाहरु पस्केर सरकारले आफ्नो तथ्याङ्क मिलाउँछ र संसारलाई देखाउँछ । नेताले त्यहि नीजि विद्यालयका नेताहरुलाई ललिपप दिन्छ र आफ्नो स्वार्थ बचाउँछ । तर जब चुनाव आउँछ नीजि विद्यालय त म बन्द गराउँछु गराउँछु भन्छ । यो साताभित्र नै केहि ठूला भनिने नेताहरुले नीजि विद्यालयलाई त अब खेदिन्छ भनेर ताली खाएछन् । अब घोषणा पत्रमा पनि पक्कै लेखिनेछ । तर प्रश्न त गर्नै पर्छ यी दैचिउरे प्रबृतिका पार्टी र नेताहरुलाई कि तिम्रो यो नौटङ्की कहिलेसम्म ?

नीजि विद्यालयहरु भनेका लुटेरा हुन भन्ने न्यारेटिभ बनाउनेहरु को हुन् ? के कति लुटेर राखे ? राज्य इमान्दार हो भने ती लुट्नेहरुलाई किन खोज्दैन ?लुटेर थुपारेको धन सरकारीकरण किन गर्दैन ? नीजि विद्यालयहरुलाई लुटेराको नामान्करण गराउने कस्ले बनायो ? के सबै आठ दश हजार नीजि विद्यालयहरु लुटेरा हुन कि एकाध हजार विद्यालय मात्रै हुन् ? खोइ यसको तथ्याङक ?

बन्द हडताल हुन्छ विद्यालय नै तारो बन्छ । राजनीति गर्नुपर्छ यहि विद्यालय नै मैदान बन्छ । चन्दा धाकधम्की चलाउनुपर्छ यहि विद्यालय निशाना बन्छ । संघसंगठन र नेता बनाएर भरौटे बगलमा बसाउनुपर्छ यहि विद्यालय चम्चाघर बन्छ । चुनाव आउँछ यहि विद्यालय एजेण्डा बन्छ । मिध्याङ्कलाई तथ्याङ्क बनाउनु पर्छ यहि विद्यालयहरुको तथ्याङ्क खोजिन्छ । छात्रवृत्रिका कुरा आउँछ यहि विद्यालय भरपर्दो देखिन्छ । कर उठाउने टार्गेट पुग्दैन यहि विद्यालयलाई चिठ्ठी लेखिन्छ । तर जब सरकारी तालिम, कुनै सहयोग या विद्यार्थीलाई सरकारी छात्रवृति आदि इत्यादिका कुरा आउँछ यी नीजिलाई किन दिने ? सरकारी पैसो नीजि विद्यालयसँग जोड्नै हुँदैन भन्नेमा अभिभावक देखि त्यहि नीजि विद्यालयबाट पढेर नेता र कर्मचारी भएको सबैको एकमत हुन्छ । यो भतुवागिरी नभए के हो त ?

यहाँ अभिभावक, राजनीतिक पार्टी नेता वा कर्मचारीहरु मात्रै यसका पात्र होइनन् । यहाँ त नीजि विद्यालयका संगठनका नेताहरु र स्वयं विद्यालयहरु पनि उत्तिकै जिम्मेवार पात्र हुन् । नीजि विद्यालयले आजसम्म सभासम्मेलन भोज भतेर गर्ने बाहेक वास्तविक रुपमा नीजि विद्यालयका कर्मचारी, निमुखा लगानीकर्ता र यसमा पढ्ने विद्यार्थीहरुको लागि समेतको प्रशंसायोग्य काम गरेको देखिँदैन । झण्डै तीस लाख विद्यार्थाी पढाउने नीजि विद्यालय संगठनले आज तीस बर्षसम्ममा कतिवटा उच्चशिक्षाका छात्रवृति दियो ? कतिवटा मेडिकल या इञ्जिनियरिङ्ग र प्राविधिक शिक्षालय बनायो ? कर्मचारी र शिक्षकका लागि कत्रो कल्याणकोष बनायो ? तीनका बालबालिकालाई उच्चशिक्षामा कति छात्रवृति दियो ? तर पार्टीलाई, नेतालाई र तीनको आदेश वा धम्कीमा कति दियो र दिइरहेको छ त्यसको हिसाब नीजि विद्यालयले दिनसक्दैनन् । किन कि यी विद्यालय भनेका त टाँठालाई राजनीति गर्ने गराउने, नियुक्तिमा पुग्ने, निर्वाचनका बेला आम मतदातासँग र आफ्ना बच्चालाई नीजि विद्यालयमा पढाएर शान मार्दै त्यहि विद्यालयलाई लुटेरा भन्नेहरुको भोट पाउने एजेण्डा बनाउने थलो बाहेक केहि होइनन् । बन्द गर यो बेसर्मीको राजनीति । राष्ट्रिय पौरखीको सम्मान बीना न देशको शिक्षामा सुधार हुन्छ, न विकास र समृद्धिमा टेवा पुग्छ । सबैलाई चेतना होस् ।

प्रतिक्रिया

प्रतिक्रिया