नेपालगन्जमैं पोखरा विश्वविद्यालयको दिक्षान्त

एमबीएको तयारीमा अल्पाइन


निजी क्षेत्रबाट व्यवस्थापनमा उच्च शिक्षा अध्ययनका लागि सञ्चालित नेपालगन्जस्थित अल्पाइन म्यानेजमेन्ट कलेजले एमबीए अध्यापन पहल थालेको छ ।


स्थापनाको १३ वर्षमा पहिलो पटक नेपालगन्जमैं आइतवार पोखरा विश्वविद्यालयको १७ औं दिक्षान्त समारोह आयोजना गरेको अल्पाइनले एमबीए अध्यापन पहल थालेको जानकारी दिएको हो । ‘यो क्षेत्रकै नमूना व्यवस्थापन कलेज सञ्चालन हाम्रो लक्ष्य हो,’ समारोहमा बोल्दै अल्पाइनका प्रवन्ध निर्देशक प्रा.डा. बेदराज केसीले भने, ‘अब छिट्टै एमबीए प्रोग्राम सञ्चालनका लागि आवश्यक योजनामा लागेका छौं ।’

अल्पाइन कलेजका अध्यक्ष ई. किरण बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य केशव प्रसाद पथिकले स्तरिय शिक्षाका लागि आफु प्रतिबद्ध रहेको बताए । ‘यो १३ वर्षमा चारसयबढी विद्यार्थी यहाँबाट दिक्षित भएका छन्,’ अल्पाइनका प्राचार्य पथिकले भने, ‘उनीहरुको व्यवसायिक सक्रियता र सफलता देख्दा गौरबबोध भइरहेको छ ।’


पहिलो पटक आयोजित दिक्षान्त समारोहमा पोखरा विश्वविद्यालयका पूर्व डिन डा. गोविन्द लामिछानेले सहभागी ३६ विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरे । ‘अब तपाईहरु स्वअध्ययन र अनुसन्धानमा लाग्नुस्,’ पूर्व डिन डा. लामिछानेको सुझाव थियो, ‘थियो अध्ययन कहिल्यै नरोक्नुस्, कामसँगै पढाईलाई प्राथमिकता दिनुस् ।’

अल्पाइनबाट उत्कृष्ट विद्यार्थीका रुपमा फरीन फातिमा हल्वाई, जग्दिश्वरी शाह, माया सुनार र पिलाडेल रत्नचक्मालाई कलेजले सम्मान गरेको छ । कलेजका तर्फबाट समारोहमा अध्यक्ष शाहले कदर पत्र प्रदान गर्दै दिक्षित विद्यार्थीहरु कलेजका ‘सद्भावना दूत’का रुपमा सधै सम्मानित रहने बताए ।

दिक्षान्त समारोहको संचालन प्रतिक्षा गौतम र सुशिल नेपालीले गरेका थिए । अभिभावसहित समारोहमा दिक्षित हुन सहभागी विद्यार्थीहरुमा निकै उत्साहको वातावरण देखिन्थ्यो ।

‘यो आफैमा गौरवान्वित क्षण हो,’ विशेष कारणबश यसरी नेपालगन्जमा दिक्षान्त समारोह गर्न पाएकोमा हर्षित प्राचार्य पथिकले भने, ‘यो अन्तिम पनि हुनसक्छ ।’ कलेजका प्रवन्ध निर्देशक प्रा.डा. केसीले भने पोखरा विश्वविद्यालयसँग यसबारे कुरा राख्ने प्रतिबद्धता जनाउँदै अभिभावकसँगै विद्यार्थीले दिक्षित हुँदाको उत्साहलाई निरन्तरता दिन प्रयास गर्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया