खजुरा क्यान्सर अस्पताल, लिनायक मेसिन राख्ने बंकर जलाम्मे

सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा निर्माण गरिएको अत्याधुनिक रेडियोथेरापी उपचार लिनायक मेसिन राख्ने भवन जलाम्मे अवस्थामा रहेको छ । मेसिनका लागि टेण्डर भएको अवस्थामा मेसिन आए राख्ने स्थान नभएको अस्पतालका अध्यक्ष किशोर थापाले जानकारी दिएका छन् । ‘करोडौंको लिनायक मेसिन बंकर बनाएर सुरक्षित साथ राख्ने र प्रयोग गर्नुपर्दछ’, अध्यक्ष थापाले भने, ‘तर, अहिले मेसिन राख्ने बंकर जलाम्मे छ, बर्षात् झन् भरिने गरेको पाइएको छ ।’ उनले बंकरको निर्माणको गुणस्तरमा प्रश्न उठाउँदै प्रयोगमा नआएको बंकर प्रयोगमा ल्याउन मर्मत आवश्यक रहेको बताए । ‘नयाँ बनेको बंकर प्रयोगमा ल्याउन मर्मत गर्न आवश्यक छ, भवन कमसल भएकाले फाइल अध्ययन प्रक्रिया अगाडि बढाउँदै रिनोभेसनको लागि बोलपत्र आव्हान भैसकेको छ’, अध्यक्ष थापाले भने ।

लिनायक मेसिनले रेडियो विकिरणमार्फत क्यान्सरको उपचार गर्ने र रेडियो विकिरण बाहिरी वातावरणमा चुहिन नदिन बंकर आवश्यक पर्छ । ‘निकै सावधानी र सतर्कतापूर्वक गरिनु पर्ने उपचारको उपकरण राख्ने भवन नै कमसल हुनु चिन्ताजनक हो, कसरी भवन बनाइयो, हस्तान्तरण गरियो त्यो बुझ्न अध्ययन प्रक्रिया अगाडि बढाएको हुँ’, अध्यक्ष थापाले भने, ‘भवनमा लापरवाही भएको स्पष्ट देख्न सकिन्छ ।’
अस्पतालमा बर्षौदेखि कार्यरत कर्मचारीले पानीको सप्लाई बंकर भवन नजिकै रहँदा, दुई वटा भवन जोडिएको ठाउँमा उपयुक्त जडान नहुँदा, पानीको सतह १५÷१६ फिट हुनु र बंकर भवन अण्डरग्राउण्ड भएकाले बंकर भवन जलाम्मे भएको हुनसक्ने बताएका छन् । ‘पानी नै रहेको अवस्थामा करोडौंको संवेदनशील मेसिन राख्नु उपयुक्त हुँदैन, अब प्राविधिकले नै यसको निकास दिनसक्छन्’, कर्मचारीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया