‘मोक्षभूमि’माथि नेपालगन्जमा साहित्य संवाद

‘साहित्य आम नागरिकको कथा हो, इतिहास चाहीँ विजेताको वर्णन’, वरिष्ठ कथाकार महेशविक्रम शाहले पद्मश्री साहित्य पुरस्कार प्राप्त उपन्यास मोक्षभूमि माथि परिचर्चा सुरु गर्दै उपन्यासकार केशव दाहालले भनेको टिप्पणी प्रतिवाद गरे । लगत्तै दाहालले आफ्नो धारणा राख्दै भने, ‘त्यो चाहीँ दुर्भाग्य हो, इतिहास विजेताको मात्रै लेखिदा पूर्णता भएन, साहित्य समाजको बृहगंम कल्पनामा हुनुपर्छ, कोरा होइन ।’

नेपालगन्जमा शनिबार आयोजित पृथक शैलीको साहित्यिक कार्यक्रममा यसखालका वाद प्रतिवाद, चर्चा–परिचर्चा गरिए । जहाँ साहित्यकार मात्रै होइन त्रिभुवन विश्वविद्यालयका प्राध्यापक देखि क्याम्पस पढ्ने विद्यार्थीसम्म सहभागी थिए । उद्योगपति, व्यापारीदेखि पत्रकार, साहित्य लेखनमा निरन्तर स्रष्टादेखि साहित्य अनुरागीसम्मका सहभागितामा भेरी साहित्य समाजले शनिवार नेपालगन्जमा ‘मोक्षभूमि साहित्य संवाद’ आयोजना गर्यो ।

मोक्षभूमि उपन्यासका लेखक केशव दाहालसँग वरिष्ठ साहित्यकार महेशविक्रम शाहले गरेको संवाद बाँकेको साहित्यिक पृष्ठभूमिमा आकर्षक अभ्यासका रुपमा सार्थक देखियो ।

‘मोक्षभूमिको लेखन, उपन्यासमा भएको विषयवस्तु, कृतिले दिने सन्देशका विषयमा उपन्यासकार दाहालसँग गरिएको संवाद वास्तवमा रोचक रह्यो,’ संवादलाई नियालिरहेका प्रगतिशील श्रष्टा अशोक कर्माचार्यले भने ।

भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समाजका लेक प्याकुरेलले गरेका थिए । ‘यो उपन्यास नितान्त कथा भएपनि इतिहासको आधारभूमिमा लेखिएको हो’, साहित्यमा आफुलाई नयाँ पात्रका रुपमा उभ्याउँदै उपन्यासकार दाहालले मानव सभ्यतालाई चित्रण गर्दै त्यसका उथलपुथल प्रति उपन्यास घुमेको बताए ।


कार्यक्रमबीच विभिन्न श्रष्टा सम्मानसँगै साहित्यकार किरण कोइरालाको लघुकथा संग्रह श्रृष्टिचक्रको लोकार्पण गरिएको छ । कोइरालाको पाँचौ कृति श्रृष्टिचक्र सामुहिक लोकार्पण गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया