आज बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा निकै सान्द्रभिक विषयमा चर्चा गरिनेछ । हुन त यस स्तम्भमा उठाउन खोजिएको विषय हाम्रो समाजमा सामान्य रुपमा लिइन्छ । तथापि त्यसका कारण कतिपयको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष असर पारिरहेको हुन्छ । हो त्यो कुरा हो कुनै महिलाका लागि आफुखुशी स्वैच्छिक मनगढन्त व्याख्या र टिकाटिप्पणी गरी महिलामाथि विभिन्न आरोप लगाइकन उसको चरित्र हत्या गर्नु आदि । सबभन्दा बढी घटना र आरोप राजनीतिमा जोडिएका महिलाहरु माथि लगाइन्छ । कुनै महिला यदी आफु भन्दा राजनीतिक रुपले अगाडि बढ्दैछिन् वा अगाडि बढ्न सक्ने सम्भावना देखे । ती महिलालाई बदनाम गर्न कुनै न कुनै राजनीतिकर्मीसंग उसको अनैतिक सम्बन्ध रहेको भनी झूठो अफवाह फैलाइन्छ । विभिन्न आरोप लगाइ उसको चरित्रहत्या गरिन्छ ।
यसै गरी कुनै महिला सामाजिक क्षेत्रमा आफ्नो दक्षता र योगदानका कारण अगाडि बढ्न थाल्छिन् । आफ्ना योगदानका कारण आफ्नो अनुभव साट्न देश विदेश घुम्ने अवसर पाउँदा उनीमाथि पनि आरोप लगाइन्छ । फलानोले गर्दा होला परियोजना पाएकी फलानासंग हिडिरहन्छे जरुर अनैतिक सम्बन्ध होला होइन भने त्यतिकै कसले यतिका सहयोग गर्छ बिना स्वार्थ । भनी यहाँ पनि त्यही मनगढन्ते आरोप लगाइन्छ । ती महिलालाई बदनाम गरिन्छ ।
यसै गरी कुनै असहाय महिलालाई कसैले राम्रो नियतले निजको जीवनमा आर्थिक रुपमा सहजता होस् भनी सहयोग गर्छ वा गर्न खोज्छ भने उसमाथि पनि त्यस्ता शंका र आरोप । पहिला त शंका गरिन्छ कि फलानाले यति धेरै सहयोग गरिरहेछ आखिर किन होला । शंका पछि आरोप परिणत हुन जान्छ र भन्न थालिन्छ कि फलानाले फलानीलाई आफ्नो परिवार सरह ठानेर निरन्तर सहयोग गरिरहेछ जरुर कुनै गढबढ छ । यो त भयो महिलाको राजनीतिक, सामाजिक र आर्थिक रुपमा मनगढन्त मुल्यांकन, मनगढन्त व्याख्या र टिकाटिप्पणी ।
अब महिलाको नीजि कुरा अर्थात उसको शारारिक बनाव श्रृंगारको कुरा गर्ने हो भने यहाँ पनि शंका र आरोप नै हुन्छ । महिलाको शारारिक बनोट, उसको कपाल, लुगा, जुत्तालाई लिइन्छ । जापानका कतिपय विद्यालयहरुले छात्रहरुमा यौन उत्तेजना ल्याएको भन्दै छात्राहरुलाई कपालको एउटा चुल्ठी बाट्न अर्थात् पोनीटेल बनाएर आउन प्रतिबन्ध लगाएका छन् । छात्राहरुले एउटा चुल्ठी बाट्न नपाउने उक्त नियमलाई लिएर सन् २०२० मा जापानको फुकुओका इलाकाका विभिन्न स्कुलहरुमा सर्भेक्षण गरिएको थियो ।
त्यस सर्भेक्षणका क्रममा छात्राहरुले एउटा चुल्ठी बाट्दा पछाडि पट्टी खुल्ला गर्धन देखिने र त्यसले केटाहरुमा यौन उत्तेजना आउने कतिपयको तर्क थियो । जसले गर्दा पोनीटेलमाथि प्रतिबन्ध लगाइयो । गर्धन हेरेर यौन उत्तेजित भइहाल्ने जातिलाई ‘पुरुष’ भनिन्छ । यसै गरी भारतको कर्नाटकमा छात्राहरुलाई हिजाबमाथि प्रतिबन्ध लगाइएको छ । जस बारे विश्व स्तरमा नै ठुलो बहस चलिरहेछ ।
अब हामी हाम्रो समुदायको बारेमा चर्चा गरौं जसका कारण पुरुषहरु उत्सुक र यौन उत्तेजित भइहाल्छन् तर महिलाहरुलाई थाहै हँुदैन । सर्वप्रथम जुत्ताबाट सुरु गरौं यदि कुनै महिला साधारण जुत्ता चप्पल लगाएकी हुन्छिन् भने तिनलाई कस्ती गाँउले जस्ती देखिन्छे, जुत्ता लगाउन नि आउँदैन भनिन्छ ।
यदि कुनै महिलाले हाईहिल (चुच्चे कुर्कुच्चादार) जुत्ता चप्पल लगाएकी हुन्छिन् भने भन्छिन् हेर त कति मस्केर हिडेकी कम्मर मर्काई मर्काई । अनि चाखलाग्दो कुरा यो कि कुनै पनि महिलाको हाईहिल लगाएर हिड्ने हिडाइबाट पुरुष उत्तेजित हुन्छन् रे । साधारण जुत्ता लगाए गांउले गवार स्टाईलिस हाईहिल लगाए पुरुषलाई उत्तेजित बनाउने आरोप सहितको टिप्पणी ।
कुनै महिलाले आँखामा चश्मा लगाए चसमिश भनी गिजाउने तर कुनै महिलाले आंखामा गाजल लगाए ती गाजालु आँखा हेरेर पुरुष उत्तेजित भइहाल्ने अरे । कुनै महिलाले कानमा मुन्द्री नलगाउँदा फेसन गर्न जान्दैने भनिने वा यसले ठुलो मुन्द्री लगाएमा कस्ती देखिन्छे भनी उत्सुक बनाउने आरोप । अलि ठुलो मुन्द्री लगाएमा पुरुष त्यो हल्लिएको मुन्द्री हेरेर उत्तेजित भइहाल्ने रे ।
कुनै महिलाले कपाल खुल्ला छाडेर हिडेमा पुरुषलाई लोभ्याउनका लागि भनी आरोप लगाइन्छ किनभने कपाल खुल्ला छाडेर हिड्दा महिलाले पटक पटक कपाल मिलाउछिन् । जसका कारण पुरुष आकर्षित हुन्छन् र यौन उत्तेजना बढ्छ रे । भने कसैले कपालको चुल्ठो बनाएर हिड्दा उसको पछाडिको गर्धन खुल्ला देखिन्छ जसलाई देखेर पुरुष उत्तेजित भइहाल्ने अरे ।
कुनै महिलाले लिपस्टिक लगाएर मेकअप गरीकन हिड्दा उसको लिपस्टिकको रंग र मेकअप हेरेर पुरुष उत्तेजित भइहाल्छन् रे भने यदि कसैले लिपस्टिक र मेकअप लगाउदैँन् भने उसले लिपस्टिक र मेकअप गर्दा कस्ती देखिने हुन भनी उत्सुकता जगाउने आरोप पनि महिलालाई नै ।
कुनै महिलाले जिन्स टिसर्ट, स्कर्ट लगाएर हिड्दा उनको शरीरको बनोट हेरेर पुरुष उत्तेजित भइहाल्ने भने कुनै महिलाले नकाब र हिजाबमा शरीर ढाकेर हिड्दा उसलाई हेर्न उत्सुक र उत्साहित हुने पनि पुरुष नै । महिलाको कपडाको रंग उसको दोपट्टा ओढ्ने स्टाइल सब पुरुषका लागि संकेत हुन्छन् रे । भन्नाले शरीर नढाक्दा उत्तेजित बनाउने आरोप पनि महिलालाई नै र शरीर ढाकेर हिड्दा उत्सुक बनाउने आरोप पनि महिलालाई नै ।
यसै गरी हाँस्नु पनि पुरुषलाई उत्तेजित बनाउने कारण भनी व्याख्या गरेछन् भन्नाले यदि कुनै महिला हाँसेर कुरा गर्छिन् भने उनले पुरुषलाई संकेत दिइरहेकी हुन्छिन् । हाँस्नु मुस्काउनु यी सबै पुरुषका लागि इशारा र संकेत हुन्छन् कि अब महिला उसको लागि सेट भइसकेकीछिन् भनी । तर यदि कुनै महिला न हांसिकन रिजर्व रहेर कुरा गर्छिन् भने उनलाई रुड,घामड वा घमण्डीको उपाधी दिइन्छ वाह रे बलवान र बुद्धिमान पुरुष ।
महिलाका हरेक कुरा पुरुषका लागि उसलाई यौन उत्तेजित बनाउने संकेत ठानिन्छ यहाँसम्म कि महिलाको हिडाइ, बसाइ लवाइ खवाइ र उभिने तरिका समेत पुरुषका लागि सिग्नल हुन्छन् रे उसलाई उत्तेजित बनाउनका लागि ।
सबै ज्ञानगुण महिलाका लागि नै हुन्छन् यो नगर, त्यो नगर, यसरी नबस्, त्यसरी न उभिने, कसरी हाँस्ने, कस्तो लुगा लगाउने, कस्ता मेकअप गर्ने कस्ता मेकअप नगर्ने, कसरी कपाल बाट्ने, किन कपाल खुल्ला नछाड्ने आदि इत्यादि । किनभने पुरुष विचरा यति अबोध हुन्छन् कि यिन कुरालाई नै इशारा र संकेत ठानेर यौन उत्तेजित भइहाल्छन् बिचरा पुरुष ।
तर पुरुषलाई कसैले भन्दैन कि कस्ता काम गर्नुपर्छ । कस्ता लुगा लगाउनुपर्छ । कस्तो आचरण अपनाउनुपर्छ । महिलासंग कस्तो व्यवहार गर्नुपर्छ । कसरी आफ्नो नियतलाई राम्रो बनाउनुपर्छ । अरुमाथि कर्के आँखा लगाउनु हुँदैन । आफु र आफ्नो उत्तेजनालाई कसरी संयम राख्नुपर्छ । यी यावत कुरा गरेको खासै सुनिदैंन् किनभने यस बारेमा कसैले ज्ञान बांडेको भेटिदैन् ।
पुरुषलाई कसैले सिकाउदैँन् कि हरेक महिलाका कुरामा संकेत र सन्देश लिनु पर्दैन् । हरेक प्रतिबन्ध महिलामाथि मात्रै लगाएर पुग्दैन् । पुरुषलाई पनि बिना काम सार्वजनिक स्थल, स्कुल,कलेज अगाडि उभिएर महिलाहरुलाई देखेर आंखा सेक्नु भन्दा आफ्नो कामधन्दा व्यापार र शिक्षामा ध्यान दिनुपर्छ ।
यस कारण महिलाप्रति आफुखुशी मगढन्ते व्याख्या र टिकाटिप्पणी गर्न छाड्नुस् । महिला पनि मानव हुन उनको आफ्नो पनि अधिकार छ । महिलाहरुलाई आफ्नो अधिकार, इच्छा, आवश्यकता, धर्म, समुदाय र मुल्यमान्यता अनुसार आफ्नो लागि बेस र उत्तम हुने कुरा आफै तय गर्न स्वतंत्रता दिनुपर्छ । जब महिला र पुरुष दुबै मानव हुन मानव भएका नाताले महिला पुरुष दुबैका लागि एउटा मर्यादा छ ।
तथापि महिलाका लागि मात्रै स्वैच्छिक मनगढन्त टिप्पणी आखिर किन गरिन्छ भन्दा खेरि पुरुषप्रधान समाजमा महिलालाई अगाडि बढ्नबाट रोक्नका लागि । महिलालाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा अधिकार सम्पन्न हुन नदिनका लागि उनीहरुलाई परनिर्भर र आश्रित बनाई राख्ने आशयले ।