उपभोक्ता अधिकारमा जिम्मेवार बनौं


उपभोक्ता अधिकार संरक्षणमा बस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नु पर्नेमा उपभोक्ता अधिकारकर्मी एवं सम्बद्धहरुले जोड दिएका छन् । उपभोक्ता हित संरक्षण मञ्चसंगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले बस्तु तथा सेवा प्रदायक निकायको गैर जिम्मेवारपन र अनुचित ब्यापारिक क्रियाकलापका कारण उपभोक्ता ठगिनु परेको बताएका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतमले बजारमा म्याद नाघेका, लेवल नभएका गुणस्तरहीन बस्तुको बिगबिगी रहेको चर्चा गदै यस्ता अनुचित ब्यापारिक क्रियाकला रोकिनु पर्ने बताए । बजारमा बस्तुका साथै औषधी, स्वास्थ्य, शिक्षा लगायतका सेवाको गुणस्तरमा समस्या देखिएकोले यस्ता कुरामा सुधार ल्याउन नियमनकारी निकायको प्रभावकारी भुमिकामा जोड दिए ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक उमा थापा मगरले कानून थाहा छैन भनेर कोहि पनि आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै उपभोक्ता शिक्षा र उपभोक्ता अधिकार संरक्षणमा सबै लाग्नु पर्ने बताइन् । सरोकारवाला बिचको आपसी सहयोग र समन्वयले मात्र उपभोक्ता अधिकार संरक्षण हुन सक्ने बताउदै उपप्रमुख थापाले उपभोक्ता हित संरक्षणमा जनप्रतिनिधिलाई कर्मचारीहरुले आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिइन् ।


उपभोक्ता अधिकार, कानूनी ब्यवस्था र हाम्रो दायित्व बिषयक अभिमुखिकरण कार्यक्रममा ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा उपभोक्ता अधिकारका बिषयमा उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, खाद्य स्वच्छता र गुणस्तरका बिषयमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य निरिक्षक नेत्रा बोगटी, नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको काम, कर्तब्य र अधिकारका सम्बन्धमा नगरपालिकाका अधिकृत प्रबिन राना र उपभोक्ता अधिकार संरक्षणमा नियमनकारी निकायको भुमिका, बजार अनुगमन, देखिएका समस्या र समाधानका उपायहरुका बिषयमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले सहजिकरण गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य भिमराना भाट, उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष तेज कुमार पाठक, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डल लगायतका वक्ताले उपभोक्ता शिक्षा, अधिकार अधिकार र नियमनकारी निकायको भूमिकाका बिषयमा चर्चा गरेका थिए । कार्यक्रमको संचालन गर्दै उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरीले बजारको बेतिथि औल्याउदै उपभोक्ता अधिकारका लागि उपभोक्ता आफै सचेत बन्नु पर्ने र नियमनकारी निकायले प्रभावकारी भुमिका रहनु पर्ने बताएका थिए ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेत, नगर कार्यपालिका सदस्य वडा अध्यक्षहरु, वडा सचिव लगायत उपभोक्ता हित संरक्षण सम्बद्ध सरकारी र गैर सरकारी संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपभोक्ता अधिकारका सम्बन्धमा भएका कानूनी ब्यवस्था, तिनको कार्यान्वयन अवस्था फितलो रहेकाले नियमनकारी निकायको भुमिका प्रभावकारी हुनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया