खाली गर्न थालियो अतिक्रमित क्षेत्र, घरधनीको आक्रोश

(सुर्खेतरोडमा रहेको घर शुक्रबार भत्काइए पछिको अवस्था । तस्विर : विवेक श्रेष्ठ/एफबी)

सडक डिभिजन नेपालगन्जले जमुनाहदेखि कोहलपुर सडक खण्डको अतिक्रमित संचरना भत्काउन सुरु गरेको छ । जसका कारण कतिपय घरधनीको आक्रोश र आलोचना सडक डिभिजनले झेल्नु परिरहेको छ । घरधनीलाई सञ्चारमाध्यम, माइकिङ्ग मार्फत सूचना, पत्राचार, सडक ऐन तथा जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय बैठक पछि सडक क्षेत्रफल खाली गर्न थालिएको हो । यद्यपि घरधनीले अझै सूचना नपाएको गुनासो गर्दै आएका छन् ।

कोहलपुरबाट सुरु गर्न थालिएको संरचना हटाउने कार्य कोहलपुर उद्योग वाणिज्य संघले पूर्व सूचना नपाएको भन्दै एकसाता माग गरेपछि रोकिएको छ । त्यसपछि सुर्खेतरोडको जानकी गाउँपालिका क्षेत्रबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो । कतिपयले घर तथा संरचना भत्काउन २÷३ समय मागेपछि सडक डिभिजनले दिएको छ । भने कतै घर नै भत्काउन थालेको छ । सुर्खेतरोडमा एक जनाको घर भत्काएपछि ठूलै विरोध सडकले झेल्नु परेको छ । घरधनीले अनाहक आफ्नो घर भत्काइएको भन्दै आक्रोश पोखेका थिए ।
सडक ऐन अनुसार सडक क्षेत्रफल ३१ मिटर हो । तर, नेपालगन्ज उपमहानगरपालिकाले ३१ भन्दा कम क्षेत्रफलमा संरचना बनाउन दिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा आलोचना समेत भएको थियो ।

सडक डिभिजन नेपालगन्जका प्रमुख होम बहादुर एसीले सडक क्षेत्रफल अतिक्रमण गरेको भए आफैले हटाउन पुनः दैनिक नेपालगन्जसँगको कुराकानीमा आव्हान गरेका छन् । ‘सडक क्षेत्रफल खाली सबैको सहयोगले सम्भव हुन्छ, अहिले अतिक्रमण हटाउन थालिएको छ, सबैले सहयोग गर्नुपर्दछ’, उनले भने ।

सडक डिभिजन नेपालगन्ज प्रमुख एसीले अतिक्रमण गर्ने सबैको अतिक्रमण हटाउने बताएका छन् । ‘कसैले समय मागे दियौं होला तर सबैको अतिक्रमण हटाउने छौं, यो व्यक्तिगत विषय होइन, यही सहरका लागि, कानुनी व्यवस्था अनुसार हो’, उनले भने ।

किन खाली गरिंदैछ सडक क्षेत्र ?

जमुनाह देखि कोहलपुर सम्म विल्डअप एरिया बाहेकको क्षेत्रमा २५ मिटर र बिल्डअफ एरियामा २१ मिटर सडकको दायाँबायाँ अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको छ । तत्कालै सडक फराकिलो बनाउने कुनै योजना त छैन । तर पनि सडक क्षेत्रफल खाली गराउनु बारे घरधनी तथा आम स्थानीयमा चासो जागेको छ ।

यसअघि दैनिक नेपालगन्जसँगको कुराकानी र जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसीले तत्काल सडक चौडा गर्ने योजना तथा बजेट नभएको स्पष्ट पारेका छन् । ‘कानुन बमोजिम सडक क्षेत्र क्लियर गर्न मात्रै खोजिएको हो’, उनले भने, ‘अतिक्रमण बढ्दै जाँदा सडक साँघुरो भएको छ, पार्किङ समेत अव्यवस्थित भएको छ ।’
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख एसीले अब सडकका लागि साइड क्लियर नहुँदा सम्म योजना बनेर कार्यान्वयनमा नजाने भएकाले सडक क्षेत्रफल खाली गर्न लागेको बताउँछन् । ‘पहिले सडक ठेक्कामा गएपछि साइट क्लियर गर्नुपथ्र्यो, जसले गर्दा निर्धारित समयमा बाटो बन्नै सक्दैनथ्यो, ठेकेदारलाई पटकपटक म्याद थपिदिनुपथ्र्यो’, उनले भने, ‘त्यसैले अब सडकको योजना बनाउनु अघि साइट क्लियर अनिवार्य गरिएको छ ।’

नेपालगन्जको सडक फराकिलो हुनु, व्यवस्थित हुन नेपालगन्जकै लागि आवश्यक र राम्रो हुने सर्वदलीय बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताएका थिए । राजनीतिक दल र जनप्रतिनिधिले पनि निर्णय गरेपछि सडक डिभिजनलाई पछि नहट्न, कानुन बमोजिम सडक क्षेत्रफल खाली गर्न आग्रह गरेका थिए ।

धम्बोझीदेखि खजुरा मानपुरसम्मको सडकको विभिन्न ठाउँमा अझै पनि अतिक्रमण खाली नहुँदा सडकको योजना दु्रत अगाडि बढ्न नसकेको समेत सर्वदलीय बैठकमा सहभागीले बताएका थिए । यसले पनि योजना बनाउनु अघि साइट क्लियरको महत्वलाई पुष्टि गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया