सत्य तथा न्यायको अधिकार सुनिश्चित गर्न पीडितको माग

विगत सशस्त्र द्वन्द्वका पीडितहरुले सत्य र न्यायको अधिकार प्रत्याभुत गर्न माग गरेका छन् । १२ औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसका सन्दर्भमा एडभोकेसी फोरम नेपालले बाँकेको हवल्दारपुरमा आयोजना गरेको कार्यक्रमका सहभागी द्वन्द्व पीडितहरुले द्वन्द्व सकिएको १५ बर्ष ब्यतित भैसक्दा समेत घटनाको सत्य तथ्य थाहा पाउन नसकेको गुनासो गर्दै मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायको प्रत्याभुति दिलाउन माग गरेका थिए ।

कार्यक्रममा एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले मानव अधिकार उल्लघंनका पीडितको सत्य, न्याय र परिपुरणको अधिकार हुने बताउँदै पीडितलाई न्यायको प्रत्भाभुतिका लागी तत्काल सरोकारवालाको ध्यान जानु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बेपत्ता परिवारकी सितलि घर्ति र रबि बुढामगरले बेपत्ता छोराको अवस्था थाहा नपाउदा रातदिनको मानसिक पीडामा बाच्न बाध्य भएको बताएका थिए ।

रबि बुढाका २ छोरा यज्ञ बहादुर बुढा र नर बहादुर बुढा राज्यपक्षबाट २०५९ साल देखि बेपत्ता पारिएका छन् । नावालक छोरा नन्दराम घर्ति र गगन घर्ति बेपत्ता पारिदा आफ्नो परिवार नै उजाड भएका बृद्ध आमा सितली घर्तिले पीडा पोखेकी थिइन् । गहभरि आँसु खसाल्दै सितली घर्तिले भनिर्न छोराको पत्तो लाग्छ कि भनी सकि नसकी हिड्छु तर खै जिवनकालमा बेपत्ता छोराहरुको पत्ता नलाग्ने भो’ ।

कार्यक्रमा कोहलपुर नपा १४ वडा अध्यक्ष टेकचन हरिजनले द्धन्द्ध पीडितको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । यसै गरि कार्यक्रममा सहभागी नेकपा एमालेका प्रतिनिधि गोपाल गिरि, नेकपा माओवादी केन्द्रका बासुदेव शर्मा जनप्रतिनिधि रुक्मिीणी शर्मा र जाहागिर अलिले पीडितका सवाल सम्बोधनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा हवल्दारपुर चौकीका इन्चार्ज सरोज खत्रीले द्धन्द्ध पीडितको पीडामा मलपट्टी लगाउन स्थानीय सरकारले पीडित लक्षित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

१४ नं वडाका वडा सचिव सुवास यादवले आफु पनि द्वन्द्व पीडित भएको उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा द्वन्द्व पीडित लक्षित जनचेतनामुलक आयमुलक बजेटका कार्यक्रम ल्याउने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा पीडितहरु कौशिला कार्की, अलि बहादुर कार्की, तुला शाही, राम गोपाल तमोली, तारा खड्का लगायतका द्वन्द्व पीडितहरुले स्थानिय सरकारले आफुहरुको पीडा नसुनेको भन्दै पीडित लक्षित परिपुरका कार्यक्रम ल्याउन माग गरेका थिए ।

पीडितहरुले सरोकारवालासंग आफना कुरा खुलेर राख्न पाउदा खुसी लागेको भन्दै बिना पूव्र्राग्रह द्वन्द्व पीडितका सवाल सम्बोधनमा सबैले सकारात्मक भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा द्धन्द्ध पीडितका सवालहरुको उजागर र वकालतका लागी कोहलपुर नगरपालिका वडा नं ५,७, १४ र १५ नं वडाका पीडितहरुले कौशिला कार्कीको संयोजकत्वमा ९ सदस्यिय न्यायका लागी द्धन्द्ध पीडित समिति गठन गरेका छन् ।

समितिले मासिक रुपमा बैठक बसी पीडितको सवालको उजागर गरि न्यायको पक्षमा वकालत र पैरवीका कार्यक्रम गर्ने संयोजक कार्कीले बताईन । २४ मार्च अर्थात संयुक्त राष्ट्र संघको आव्हानमा मानव अधिकारको गम्भीर उल्लंघनका पीडितहरुको सम्मान तथा सत्य र न्यायको अधिकारका लागि ‘अन्तर्राष्ट्रिय सत्य–तथ्य जान्न पाउने अधिकार दिवस’ मनाउने गरिन्छ ।

गम्भीर अपराधका पीडितले सत्य–तत्थ्य थाहा पाउने अधिकार स्थापित गर्न ल्याटिन अमेरिकी देश एल्साल्भाडोरमा त्यसताका भएका हत्या, यौनजन्य हिंसा, वलपूर्वक वेपत्ता पार्ने कार्य, यातना जस्ता गम्भीर अपराध विरुद्ध आवाज उठाएका आर्कविशप मनसिग्नोर रोमियोको सन् १९८० को मार्च २४ का दिन भएको हत्याको सम्झनामा यो दिवस विश्वभर मनाई रहँदा नेपालमा पनि बिशेष गरी दशबर्षे सशस्त्र द्वन्द्व तथा विभिन्न समयमा बर्बरतापूर्वक भएका गम्भीर अपराधका घटनामा पीडितको सत्य तथा न्यायको अधिकार सुनिश्चित गर्नु पर्ने अधिकारकर्मी वसन्त गौतम बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया