विद्यालय चलाउन वडाले बनाउँदै व्यवसायिक भवन

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले लग्दहवा स्थित माध्यमिक विद्यालय सञ्चालनको स्रोत जुटाउन व्यवसायिक भवन निर्माण थालेको छ ।

बुधबार औपचारिक कार्यक्रम बीच वडाध्यक्ष दिपककुमार बर्माले ६ कोठे व्यवसायिक भवनको शिलान्यास गरे । विद्यालय परिसरमा नै निर्माण सुरु गरेको ६ कोठे भवनले मावि तर्फ अत्यन्तै न्यून शिक्षक दरबन्दी रहेको समस्यालाई सम्बोधन गर्ने विश्वास वडाध्यक्ष बर्माको छ ।

‘मावि तर्फ एक जनामात्रैको दरबन्दीले गुणस्तरीय शिक्षा सम्भव छैन’, दरबन्दीका लागि गरिएको प्रयास पहुँच अभावले सफल नभएको भन्दै वडाध्यक्ष बर्माले भने, ‘निजी स्रोतले धान्न नसकेकाले संघीय सरकारसँग अनुरोध गरेर प्राप्त ३५ लाखबाट ६ कोठे व्यवसायिक भवन बनाउन लागिएको हो ।’

अध्यक्ष बर्माले यसबाट आउने स्रोतबाट कम्तिमा ४ जना मावि शिक्षक करार भर्ना गर्न सकिने विश्वास व्यक्त गरे । ‘गुणस्तरीय शिक्षाका लागि शिक्षक जनशक्ति आवश्यक भएकाले यो उपाय गरिएको हो’, वडा सदस्य दिग्विजय ढुंगानाको भनाइ थियो ।


केही दिनमैं थप रु २० लाखको लागतमा सोही विद्यालयमा ४ कोठाको भवन निर्माण गरिने जानकारी दिंदै अध्यक्ष बर्माले चालु आर्थिक बर्षमा आफ्नो वडाभित्र पाटेश्वरी प्र.बि भुजैइगाउँको स्कुलमा माटो पटानका लागि रु ५ लाखको बजेट छुट्याइएको बताए । ‘केही दिनमैं त्यहाँ काम शुरु हुन्छ,’ वडाध्यक्ष बर्माले भने ।

प्रतिक्रिया

प्रतिक्रिया