पिएम कप भलिबलको आठौं संस्करण उद्घाटन आज

दुई भारतीय सहित छ टिमको सहभागिता सुनिश्चित


प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण आज विहीवारदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृतिमा हुँदै आएको प्रधानमन्त्री कपको आठौं संस्करण चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुने भएको हो ।
विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको प्रतियोगिता तयारीबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले आयोजना वर्षेनी परिस्कृत गरिंदै गएको बताए । सबै तयारी पुरा भएको जानकारी दिंदै अध्यक्ष ठकुरीले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

आयोजनाका लागि सातौं संस्करणदेखि मुलआयोजक समिति संयोजक रहेकी लुम्बिनी प्रदेश सदस्य कृष्णा केसीले प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई यहाँको चिनारीको रुपमा विकास गर्ने प्रयास भएको बताइन् । ‘दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य हो,’ पत्रकारहरुसँग संयोजक केसीले भनिन् ।


आयोजकले खेलाडीको बसोबास कोहलपुर तथा खेल सञ्चालन नेपालगन्जमा व्यवस्था मिलाएका छन् । ‘यसो हुँदा पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई भावनात्मक एकतामा जोड्ने अपेक्षा हाम्रो हो,’ आयोजकको भनाइ छ, ‘यसले महानगरको परिकल्पनालाई साकार पार्ने हाम्रो सोंच हो ।’

प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहने अध्यक्ष ठकुरीले जानकारी दिए । उनका अनुसार, लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी(महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।


त्यस क्रममैं प्रदेश सभा सदस्य कृष्णा केसी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, रुपैडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कसौधन, भलिबलका पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी राकेशकुमार श्रीवास्तव, राखेप पुर्व निर्देशक जयन्तकुमार शर्मा, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले पिएमकपको टिसर्ट सार्वजनिक गरेका थिए ।
पिएमकप भलिबलको वेभसाइट धधध।ऊअगउखयििभथदबिि।अयm पनि लन्च गरिएको इभेन्ट कोअर्डिनेटर सौगातविक्रम शाहले जानकारी दिए । मिस नेपाल नम्रता श्रेष्ठ प्रतियोगिताको सदभावना दूत छन् ।


आज उद्घाटनलगत्तै पहिलो खेल नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुने आयोजकले जनाएको छ ।


नेपाली भलिबलको सर्वाधिक धन राशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।

प्रदेश सांसद केसीको संयोजकत्वमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा सहसंयोजक तथा अन्य पालिका उपप्रमुखहरु उपसंयोजक रहनेगरी आयोजनाको काम अघि बढाइएको आयोजकले जनाएको छ । ‘समाजका अगुवा महिलाहरु यसको मुल समितिमा बिभिन्न जिम्मेवारीमा रहनुभएको छ,’ अध्यक्ष ठकुरीले भने ।


आयोकजले दिएको जानकारी अनुसार, प्रतियोगितामा आवश्यक पोशाक युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएलले उपलब्ध गराएको छ । आयोजक टिम लुम्बिनी युनाइटेडका लागि लिनिङ ब्राण्डको जर्सी सेट र युक्यान ट्रयाकसुट रहेको छ । यस प्रतियोगितालाई आईक्यासले डिजिटल पेमेन्ट पार्टनरका रुपमा सघाएको छ ।


नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश सरकारसँगै पालिकाहरु र युएनडिपीसमेत जोडिएको छ ।
‘दैनिक नेपालगन्ज पत्रिकासहित नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड, क्युएफएक्स बागेश्वरी सिनेमा, दराज, , मिठो छ ट्रिट, फन्की क्याफे, नेपाली सेनाको भैरवप्रसाद गण, क्रियटिभ ह्याण्ड्स, द हिडेन ट्रेजर लगायत संघसंस्था यसको सफलतामा जोडिएका छन्,’ अध्यक्ष ठकुरीले पत्रकार सम्मेलनमा भने ।

सकियो पिएम कप भलिबलको आठौं संस्करण तयारी

प्रतिक्रिया

प्रतिक्रिया