
खजुरा गाउँपालिकाले संघ तथा प्रदेशबाट प्राप्त गर्ने बजेट बाहेक पनि शिक्षा, युवा तथा खेलकुद शाखाका लागि ३ करोड बढी बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दा खजुराले उक्त शाखाका लागि २ करोड ७५ लाख विनियोजन गरेको थियो । तर, पछि बजेट अपुग भएपछि खजुरा थप २७ लाख रुपैयाँ शिक्षा क्षेत्रमा थप गरेको हो ।
खजुरा गाउँपालिकाका सूचना अधिकारी समेत रहेका योजना अधिकृत दिल बहादुर पौडेलले पूर्व निर्धारित बजेट अपुग हुने देखिएपछि शिक्षा प्रभावित नहोस् भनेर पालिकाले २७ लाख रुपैयाँ थप गरेको जानकारी दिए । ‘खजुरा अन्तर्गतका विद्यालयका समस्या समाधानका लागि आवश्यक पर्दा तत्कालै बजेट थप गरिएको हो’, योजना अधिकृत पौडेलले भने ।
सरकारले बाल विकास तहका शिक्षकको तलब १५ हजार बनाएर ७ हजार मात्रै बजेट पठाएपछि अध्यापन प्रभावित नहोस् भनेर पालिकाले तत्कालै निर्णय गरेर बजेट थप गरेको छ ।
खजुरामा गुणस्तरीय शिक्षाका लागि पालिका प्रयासरत् रहेको अधिकृत पौडेलले बताए । पालिकाले सामुदायिक विद्यालयका लागि पूर्वाधार विकासमा संघ र प्रदेशबाट बजेट ल्याउन समेत पहल गर्दै आएको छ । जसका कारण संघ तथा प्रदेशबाट विभिन्न किसिमका बजेट खजुराका सामुदायिक विद्यालयले प्राप्त गर्न सफल भएका छन् ।
खजुराले शिक्षा तथा खेलकुदमा राम्रो प्रगति गरिरहेको स्थानीय बताउँछन् । खजुरामा जनता र ज्ञानोदय मावि नमूना विद्यालयका रुपमा रहेका छन् । उनीहरुले नमूना भएसँगै सरकारसँग अतिरिक्त बजेट प्राप्त गर्दै आएका छन् । दुवै विद्यालयले चालु आर्थिक बर्षमा ७० लाखका दरले पूर्वाधारका लागि बजेट पाएका थिए ।
शैक्षिक सुधारका लागि पूर्वाधार थपिंदै
५० प्रतिशत अनुदानमा शिक्षकलाई ल्यापटप बाँडिदै
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा भौतिक पूर्वाधार थप गर्ने प्रक्रिया अघि बढेको छ । खजुराका विभिन्न विद्यालयले विद्यालय भवन र आइसिटीका लागि बजेट प्राप्त गरेको पालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिएका छन् ।
खजुरा गाउँपालिकाको नेरा प्रावि गोदहना, शुक्रमावि गाउँफर्क, अम्बर मावि गौतम बस्तीले आइसिटीका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले, तिर्खा मावि जलपोखरीले २ कोठे भवनका लागि १८ लाख तथा अम्मर मावि गौतम बस्ती, भानु मावि उढरापुर, नेरा मावि मनकामनापुर ४ कोठे भवनका लागि प्रति विद्यालय ३६ लाख रुपैयाँ शैक्षिक सुधारका लागि बजेट प्राप्त गरेका छन् । ‘प्राप्त बजेट कार्यान्वयनमा रहेको छ’, पालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले भने ।
त्यस्तै, खजुराले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । उक्त बजेटबाट शिक्षकहरुलाई अनुदानमा ल्यापटप वितरण गर्ने योजना रहेको शिक्षा शाखा प्रमुख मल्लले बताए । ‘१९० जना शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना छ’, उनले भने ।
‘शिक्षालाई प्राथमिकतामा राखेका छौं’
किस्मत कुमार कक्षपति
अध्यक्ष
खजुरा गाउँपालिका
खजुरा गाउँपालिकाले शिक्षालाई सधै प्राथमिकतामा राखेर काम गरिरहेको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि पूर्वाधार थप्ने देखि आवश्यक शिक्षक व्यवस्थापनका लागि निरन्तर हाम्रो प्रयास रहेको छ । विद्यालयका लागि आवश्यक पर्ने बजेट पालिका तथा संघ र प्रदेशबाट सुनिश्चितता गर्नु हाम्रो जोड रहेको छ ।
गत दुई बर्ष कोभिडले शैक्षिक क्षेत्र नराम्ररी प्रभावित रह्यो । त्यसैले हामीले पहिलो बर्ष रेडियोबाट कक्षा सञ्चालन गर्यौं । कोरोनाको प्रभाव लामो समय रहने र त्यसले विद्यार्थीहरु अध्यापनबाट वञ्चित हुने देखेपछि पालिकाले आफ्नै बजेटबाट अनलाइन र अफलाइन कक्षाका लागि तयारी गर्यो । प्रविधिको प्रयोग गरी अनलाइन कक्षा पनि सञ्चालनमा रहेका छन् ।
हामीले निजी, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई अनलाइन कक्षा सञ्चालनको तालिम दियौं । अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, प्राध्यापक सँग छलफल गरेर आगामी दिनमा विद्यालय नखुल्ने अवस्थामा अनलाइनबाटै कक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरेका छौं ।
