पाँच ‘स’को अभियान लिएर घरदैलोमा एमाले

नेकपा एमाले बाँकेले पाँच ‘स’को अभियान लिएर बाँकेका सबै वडामा कार्यकर्ता परिचालन गर्ने भएको छ । जिल्ला पार्टी अध्यक्ष किस्मत कुमार कक्षपतिको नेतृत्वमा जिल्लाका आठ वटै पालिकाका अध्यक्ष तथा सदस्यहरुको बैठकले अभियान घोषणा गरेको हो ।

पार्टी अध्यक्ष कक्षपतिका अनुसार, पार्टी जिल्ला सहइन्चार्ज समेत रहेका केन्द्रीय सदस्य मो. हारुन हलवाईको विशेष आतिथ्यतामा बसेको सबै पालिकाका नगर तथा गाउँपालिका कमिटि अध्यक्ष, सचिव र जिल्ला पदाधिकारीको बैठकले सबै वडामा पुगेर पाँच ‘स’को अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘आगामी ११ गते अभियानका संयोजक र पालिका कमिटिले पार्टी जिल्ला कमिटिमा प्रतिवेदन पठाउनु पर्नेछ’, स्थानीय तहको निर्वाचन कार्यक्रम अगाडि अभियान पूरा गरिसक्नु पर्ने जानकारी दिंदै कक्षपतिले भने, ‘विशेषत पार्टीका जग बलियो बनाउन यो अभियान घोषणा गरिएको हो ।’

पाँच ‘स’ पार्टीको सैद्धान्तिक विचारको प्रवाहलाई प्रधानतामा राखिएको छ । ‘अर्को स भनेको संगठन निर्माण तथा परिचालन, समृद्धिका कार्ययोजनाहरुको सूचिकरण, सञ्चारको महत्व र स्थानीय निर्वाचन तयारी हो’, अध्यक्ष कक्षपतिले भने, ‘अन्तिम स भनेको सदस्यता नविकरण तथा वितरणलाई लिइएको छ ।’ ‘त्यसक्रममा विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत सम्मान र सांगठनिक रुपमा सुदृढिकरण गर्दै विचारले लेस बनाउनु अभियानको उद्देश्य हो’, अध्यक्ष कक्षपतिले आइतबार मात्रै पनि पार्टी प्रवेश कार्यक्रम गरिएको जानकारी दिंदै भने ।

विशेष बैठकमा जिल्ला कमिटि उपाध्यक्ष डिल्ली बिसी, उपसचिव दिपक कुमार बर्मा, भूमिसरा धिताल लगायत सहभागी थिए भने प्रतिवेदन तयारीका लागि नगर अध्यक्ष दत्तप्रसाद आचार्यलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया