ज्ञानोदयले मनायो ४४ औं बार्षिकोत्सव

बाँकेको खजुरा गाउँपालिकाले आफ्नो ४४ औं बार्षिकोत्सव कार्यक्रम सोमबार भव्य कार्यक्रम बीच मनाएको छ । कार्यक्रममा तीन वटा भवन, साइन्स ल्याब र कम्प्युटर ल्याबको समेत उद्घाटन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले विद्यालयको प्रगति थपिंदै गएको बताएका थिए । उनले खरको छानो र माटोका गाह्रो भएको विद्यालयले ४३ बर्ष पुग्दा पूर्वाधार तथा खजुराको शैक्षिक योगदानमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको बताए ।

२०३४ सालदेखि २०५० सालसम्म प्रा.वि. तह, २०५१ मा नि.मा.वि., २०५४ सालमा मा.वि., २०५६ सालमा उ.मा.वि., २०६६ सालमा स्नातक तह बी.एड. र २०७३ सालमा प्राविधिक सिभिल इन्जिनियरिङ कक्षा ९ अनुमति प्राप्त गरी कक्षाहरु सञ्चालन हुँदै आएको छ भने २०७३ सालमा शिक्षा मन्त्रालय शिक्षा विभागबाट नमुना मा.वि. छनोट भई नमुना गुरुयोजना निर्माण गरी कार्यान्वयन अगाडि बढेको प्रधानाध्यापक सापकोटाले जानकारी दिए । उनले वि.सं. २०७४ बाट प्राविधिक धार सिभिल इन्जिनियरिङ सञ्चालन भएको उल्लेख गरे ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा हाल आधारभूत तह १–५ सम्म स्थायी दरबन्दी ११, राहत २ गरी जम्मा १३ जना, मा.वि. साधारणतर्फ ९–१० मा स्थायी दरबन्दी ४ र राहत १ गरी ५ जना, (साविक उ.मा.वि.) कक्षा ११–१२ मा ३ वटा दरबन्दी र प्राविधिक धारतर्फ अनुदानबाट १ प्रशिक्षण सहायक, ४ प्रशिक्षक, २ सह प्रशिक्षक, २ विज्ञान शिक्षक गरी ९ जना सहित जम्मा ३० जना शिक्षक, शिक्षिका कार्यरत रहेको जानकारी प्रधानाध्यापक सापकोटाले जानकारी दिए ।

‘बालविकासतर्फ ४ जना, लेखापाल १ र कार्यालय सहयोगी १ को लागि समेत केही सरकारी अनुदान प्राप्त हुँदै आएको छ । यस बाहेक ०–१२ मा १३ जना शिक्षक र कर्मचारीतर्फ ११ जना गरी जम्मा २४ जना कर्मचारीलाई निजी स्रोतबाट व्यवस्थापन गरिएको छ ।

रुम टु रिडबाट ३ जना र रेष्ट संस्थाबाट १ जना सहयोगी शिक्षक समेत गरी यस विद्यालयमा जम्मा ६२ जना शिक्षक कर्मचारीहरूबाट नियमित पठनपाठन र प्रशासनिक कार्य हुदैँ आएको छ’, प्रधानाध्यापक सापकोटाले भने, ‘हाल यस विद्यालयमा बालविकास÷नर्सरी कक्षादेखि १२ सम्म जम्मा विद्यार्थी १९५० जनाले अध्ययन गरिरहेका छन् । प्रि. प्राइमेरी नर्सरी र के.जी. ५ वटा कक्षा, १–५ मा ६ वटा कक्षा र ६ देखि १० सम्म १४ वटा , ११–१२ मा १० वटा गरी ३५ वटा कक्षा सेक्सन खोली पठनपाठनलाई सुचारु रुपमा सञ्चालन गरिएको छ ।’

सरकारको नीति अनुरुप यस विद्यालयले २०७३ सालदेखि गरिखाने शिक्षाको रुपमा प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ कक्षा ९–१२ को अनुमति प्राप्त गरी कक्षा ९ मा ४६ र कक्षा १० मा ४४ जना, कक्षा ११ मा ४० जना र कक्षा १२ मा ३८ जना विद्यार्थीहरूलाई ४ जना इन्जिनियरहरू ,२ जना सब–इन्जिनियरहरु र १ जना प्रशिक्षण सहायक, २ जना विज्ञान शिक्षकबाट पठन पाठन र प्रयोगात्पक कार्यको व्यवस्था मिलाइएको विद्यालयले जानकारी दिएको छ । विद्यालयमा २०७७ सालदेखि खजुरा गाउँपालिकाबाट विज्ञान समूह सञ्चालनको अनुमति लिई कक्षा ११ र १२ का कक्षाहरू निजी श्रोतबाट शिक्षक तथा व्यवस्थित ल्याबको व्यवस्थापन गरी सञ्चालन गरिएको छ ।

करिब २ विगाहको क्षेत्रफलमा रहेको यस विद्यालयले सुविधा सम्पन्न १० ओटा भवनका ६५ वटा कोठाहरूमा पठनपाठन, ल्याब, पुस्तकालय, स्टोरको साथै लेखा प्रशासनिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।

विद्यालयका विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व अधिकारी, राजनीतिक दलका नेता, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति, विद्यार्थी लगायतलाई पुरस्कृत तथा सम्मानित पनि गरिएको थियो । सहायक प्रधानाध्यापक यम नारायण महतोले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लेक प्याकुरेलले गरेका थिए ।

सात जनालाई दीर्घसेवा पदक

बाँकेको खजुरा गाउँपालिकामा रहेकोे ज्ञानोदय नमुना माध्यमिक विद्यालयले सोमबार आयोजित ४४ औं बार्षिकोत्सवका अवसरमा सात जनालाई दीर्घसेवा पदक प्रदान गरेको छ । विद्यालयले २५ वर्ष अनवरत सेवा गर्नेलाई उक्त पदक प्रदान गरेको हो ।

पदक प्राप्त गर्नेमा विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, विनोद श्रीवास्तव, सरन सापकोटा, पदमा शर्मा, चन्द्र प्रकाश शर्मा, कमल चौधरी र सुरक्षा गार्ड राम बहादुर थापा रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया