भारतका पाँचवटा राज्यमा विधानसभाको निर्वाचन प्रक्रिया सक्किएको छ । उत्तरप्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाब राज्यमा भएको निर्वाचनको परिणाम नेपालका प्रगतिशील भनिने चुनावी पण्डितहरु, भारतका हिन्दूहरुसँग छूवाछूत राख्न र मोदी योगी प्रति कटाक्ष गर्नमा नै आफुलाई बुद्धिजीवि सम्झिनेहरुले आँकलन गरेको भन्दा बिल्कुलै फरक आएको छ । उत्तर प्रदेशमा पछिल्लो ३५ बर्षको इतिहासलाई उल्टाउँदै कुनै सरकार लगातार दोश्रो कार्यकालको लागि दोहरिएको छ । कतिपय मिथकहरु त्यहाँ भत्केका छन् । जातिय, क्षेत्रिय समीकरण देखिकिसानका नामका र धार्मिक अल्पसंख्यक तुष्टिकरण, मुस्लिम मौलवीहरुका अनेक फतवाहरु समेतका‘सोसल इञ्जिनियरिङ्ग’ का प्रयोगहरु सबै फ्लप भएका छन् । त्यहाँका पाँच राज्यमा भएको निर्वाचनमा चारवटा राज्यमा भारतीय जनता पार्टीले बाजी मारेको छ । पञ्जाबमा भने ‘दिल्ली मोडेल अफ गभनेस्स‘ भनेर चिनिएको अरबिन्द केजरीवालको आम आदमी पार्टीले अत्याधिक सीट जितेको छ ।
निर्वाचन त छिमेकी राज्यका राज्यहरुको विधानसभाको थियो तर त्यो निर्वाचन संसारका धेरै मिडियाका लागि मसला मात्रै भएको थिएन अति सूक्ष्म निरीक्षणको बिषयपनि बनेको थियो । धेरैले भारतले शुरु गरेको भारतीयताको पुर्नजागरणमा पूर्णबिरामको आशा पालेका थिए । सन् २०२४ मा त्यहाँ हुने संसदीय निपर्वाचनको पूर्वानुमान यहि चुनावलाई नै मानेका थिए । त्यसैको सेरोफेरोमा रहेर नेपालमा प्रष्टसँग सर्वसाधारण जनताले नै अनुभूत गर्नेगरि लेख्ने बोल्ने विश्लेषण गर्ने गएिको पाइन्थ्यो । नेपालको उत्तरप्रदेशको सीमावर्ती जिल्लाका कतिपय व्यक्तिहरु योगीको जयजयकार गर्न सीमावर्ती गाउँहरुमा पुगेका पनि थिए भने कतिपय राजनीतिक पार्टीका व्यक्ति र लेखकहरु केजरीवालका मान्छेहरुसँग नेपालमा केजरीवालको ‘दिल्ली मोडल’ खोज्दै दिल्ली पुगेका थिए । कतिपय लेखकहरुले लखनऊको हजरतगञ्जको कफिहाउसमा बसेर एक कप कफि पिउँदै उत्तरप्रदेशको सरकार नै अखिलेश यादवको समाजवादी पार्टीको बनाएर फर्किसकेका थिए । तर जब परिणाम आयो सबैका कथाहरु भत्किए ।
त्यहाँको निर्वाचनमा कहाँ कुन तत्वले काम गर्यो भन्ने बारेमा अहिले बिभिन्न बिश्लेषणहरु भैरहेका छन् । हिजो गैर भाजपाको सरकार बन्नेमा ढुक्कसँग ठोकुवा गर्नेहरु आज मौन भएका छन् । आफ्नो अनावश्यक अभिष्ट अनुरुप परिणाम नआएपछि आम आदमी पार्टीको पञ्जाबमा भएको जीतलाई आफ्नो नै जीत भएको झैं नेपालमा त्यस्तै प्रयोग गर्नुपर्ने तर्क दिइरहेका छन् । कतिपय पार्टीका शुभचिन्तक मानिने ुबुद्धिजीविहरुले आफुनिकट पार्टीका नेताहरुलाई आम आदमी पार्टीको कार्यशैलीको उपदेश दिँदैछन् ।
अरबिन्दको उदयः
कुनै समय समाजिक अभियन्ताका रुपमा कार्य गरेका अरबिन्द केजरीवाल भ्रष्टाचार बिरोधी आन्दोलनका अभियन्ता अन्ना हजारेको आन्दोलनका सहयोगी पात्र थिए । राजनीतिको आकांक्षामा सत्तागल्लीको छिद्र खोजिबसेका अरबिन्दले अभियान छोडेर आम आदमी पार्टीको गठन गर । निकै लामो समय दिल्लीको अनधिकृत कलोनी, झुग्गी झोपडीहरुमा समाजिक कार्य गरेका उनलाई गरिबीको भाषा थाह भैसकेको थियो । दिल्लीका त्यस्ता कलोनीहरुमा भएको बिद्युत, पानीको टट्कारो समस्यासँग उनी परिचित थिए । जनसंख्याको बृद्धिसँगै आफ्ना बालबालिकाहरुलाई विद्यालय शिक्षा दिन असहज अवस्थाबाट गुज्रेका ती कलोनीहरुका अभिभावकहरुको समस्यालाई नजिकबाट नियालिरहेका थिए । यी तीनवटा मुद्दालाई चुनावी एजेण्डा बनाउँदा सजिलै सत्तामा पुगिने बाटो उनले पहिलाए । त्यसमाथि हरेक चीज खर्च नगरी प्राप्त होस् भन्ने मानवीय स्वभावलाई उनले पानी बिजुलीमा केहि यूनिटसम्म शुल्क नलिने घोषणा गरेर दिल्लीको सत्तामा पुगे । तर उनीसँग न त कुनै राजनीतिक सिद्धान्त थियो न कुनै दिर्घकालिन रणनीति नै । तथापि नेपालका केहि पार्टीहरुले केजरीवालको ‘थ्योरी’ पनि भन्न भ्याएका छन् ।
उत्तरप्रदेशमा भाजपालाई फाइदा हुनका कारणहरुः
भाजपाका नेता योगी सरकारले पेशेवर अपराधिहरु माथि गरेको क्षतिपूर्ति सहितको कारवाही, सुशासन, राष्ट्रिय नेतृत्वको इमान्दारिता, मोदीको छविको प्रभाव आदि उत्तरप्रदेशमा भाजपाको पुर्नआगमनको मुख्य कारण रहेको देखिन्छ । त्यसमाथि काँङ्ग्रेस र बहुजन समाज पार्टीको त्यहाँका जनतामा ल्याउन नसकेको उत्साह र त्यसतर्फको भोट भाजपामा हन्तातन्तरण भएको देखिन्छ । चुनाव प्रचारका बेला गैरभाजपाहरुको जातिय र धार्मिक अल्पसंख्यहरुको तुष्टिकरण पनि योगीको जीतको कारण बनेको छ ।
पञ्जाबमा आमआदमी पार्टीको सफलताः
पञ्जाब भारतको दुश्मन मानिने देश पाकिस्तानसँग सीमा जोडिएको राज्य हो । त्यहाँ अलग देशको माग सहित खालिस्तानी आन्दोलनले आहत बनेको थियो भने बिगतका सरकारहरुका पालामा लागूऔषध कारोबार र प्रयोगकर्ता बढेको, त्यहाँ सीमा पारिबाट लागू औषध उपलब्ध गराएको, ड्रोनबाट हतियारहरु समेत खसालेका समाचारहरु आउने गरेका थिए । त्यसले त्यहाँको समाजमा आतंक र लागू औषधको कारण सुरक्षा खतरा महसुस गरिएको थियो । आफ्नो धर्म र धार्मिक क्रियाकलाप माथि कुनै सम्झौता नगर्ने सीख परम्परा माथि र गुरुग्रन्थ साहिब माथि नै अपमान गर्ने कामबाट बिच्केका पञ्जाबी जातिहरुले काँङ्ग्रेस सरकारको बिकल्प खोजिरहेका थिए । त्यहाँ दशकौं सत्तासीन रहेको काँङ्ग्रेस र अकाली दलकमा आएको टुटफुटले त्यहाँ सत्ता परिवर्तनको मार्ग सहज बनायो ।यसैमा परिवादी राजनीतिबाट वाक्क भएका जनताका लागि केहि यूनिट बिजुली निशुल्क दिने दिल्ली मोडेलको प्रयोग सफल भयो । बर्षौसम्म अकाली दललाई सहयोग गरेर सरकार बनाउने मार्ग प्रसस्त गरेको भाजपाको त्यहाँ कुनै आफ्नो भरपर्दो संगठन थिएन । राष्ट्रिय पार्टीहरु कमजोर रहेको र एकमात्र क्षेत्रिय पार्टी अकाली दल समेत कमजोर परेको अवस्थामा आम आदमी पार्टीलाई त्यहाँ आफ्नो वर्चश्व कायम गर्ने उपयुक्त मौका अर्को हुनै सक्दैनथ्यो । सो मौका आमआदमी पार्टीका लागि अवसर बन्यो । केजरीवाललाई बीना ठूलो माथापिच्ची कै अपार सफलता मिल्यो ।
नेपालमा आम आदमी पार्टीको जीतमा खुशी किन ?
पञ्जाबमा आम आदमी पार्टीको जीनमा केहि पार्टी र व्यक्तिहरु रमाइरहेका छन् । सन् १९८९ मा वी पी सिंहको जनता दलले दिल्लीमा सरकार बनाउँदा वी पी र आइ पी गुजराल मोडेलका चर्चा पनि नेपालमा नभएको होइन । त्यहि पार्टीका चन्द्रशेखरले चाक्सीबारीमा उचालेको कथाले २०४६ पनि ल्याएको थियो ।अहिले केजरीवालको नेपालका केहि आफुलाई वैकल्पिक भन्ने पार्टीहरु र बिभिन्न जोड घटाउ, एकता र बिग्रह गर्दैे बिभिन्न पार्टीको ढोका चाहर्ने नेताहरुले आम आदमी पार्टीको सफलताको कथा नेपालमा खोजिरहेका छन् । त्यसको प्रयोग नेपालमा किन हुनसक्दैन ?आम आदमी पार्टीको मोडेल यहाँ किन हुन सक्दैन ?भन्ने बहस चलाएका छन् । कतिपय त यस्ता नेताहरु पनि छन् पहिलो पटक केजरीवालले दिल्लीमा सरकार बनाउँदा नै नेपालमा निकै ठूलो होहल्ला गर्न शुरु गरेका थिए । तीनले अहिलेसम्म एउटा स्वीकार्य नेतृत्व दिएर पार्टी निर्माणसम्म गर्न सकेका छैनन् ।
अरबिन्द केसरीवाल कै पुराना साथीहरुको आरोप र ‘सिख फर जस्टिस’ अर्गनाइजेसनको कुरालाई आधार मान्ने हो भने आम आदमी पार्टीलाई विदेशी पञ्जाबीहरु, यूरोपियन यूनियन आदीबाट ‘रिफरन्डम’ को शर्तमा सहयोग पनि मिलेको आरोप छ । अरबिन्द केजरीवालको आम आदमी पार्टीको पञ्जाब जीतमा सबैभन्दा बढि खुशी मनाउनेहरुमा नेपालमा आत्मनिर्णयको अधिकार सहितको राज्य चाहनेहरु नै बढि देखिएका छन् । कुनैपनि राजनीतिक सिद्धान्त नभएको पार्टीको जीत र नेपालमा मनाउँदै गरेको खुशीको बीचमा कुनैपनि सम्बन्ध छैन भन्न सकिँदैन । भविष्यमा सो पार्टीलाई पञ्जाबको सन्दर्भमा लागेको आरोपसँग सो पार्टी मुछिन पुगेमा आम आदमी पार्टीको स्वार्थ प्रष्टिनेछ । त्यो सम्बन्धले सत्ताका लागि जुनसुकै दाउखेल्ने नेपालका पार्टीहरुमा अलगाववादी विचारले अझै प्रश्रय पाउने छ । नेपालको धरातलीय यथार्थलाई कुनैपनि पार्टीहरुबाट बुझ्ने प्रयास नै गरिएन । नेपालमा राजनीति गर्दैगर्दा कहिले रुसको कथा उतार्न खोजियो भने कहिले नेपाली मौलिकतामा कतै मेल नखाने चीनको कथाहरु उतार्न खोजियो । अहिले अरबिन्द केजरीवालको कथाका कुरा गरिँदै छ । त्यहाँको बिशिष्ट परिस्थितिमा भएका घटनाहरुलाई नेपालमा वाद र प्रतिमान बनाएर खोजिएको नेपाली समस्याको समाधान न हिजो नेपाल सापेक्ष थियो न भविष्यमा हुनसक्छ । यो नेपालका राजनीतिक दलहरुले स्वीकार गर्नै नखोज्ने सत्य हो ।
अन्तमा,
नेपालको आफ्नै बिशिष्टता छ । आफ्नै मुलकुल धर्मसँस्कृति भाषा सभ्यता र मौलिकता छ । यहाँको आफ्नै मौलिक राजनीतिको इतिहास छ । यहाँको कुरालाई, यहाँको समस्यालाई, यहाँको शिक्षालाई, यहाँको जीवनयापनको आवश्यकतालाई अन्यत्रको परिभाषाले समेट्न सक्दैन । तरपनि अहिलेसम्म सबैकुरा अन्यत्रकै नजरियाबाट समाधान खोजिँदैछ । नेपालका राजनीतिक पार्टीहरुले भारतको आम आदमी पार्टीको सफलतालाई नेपालमा प्रयोग गरेर वैर्तणी तर्न खोज्दैछन् । नेपाल न दिःल्ली हो न पञ्जाब । नेपालमा भएका समस्याहरुसँग न त दिल्लीका आवश्यकताहरु मेल खान्छ न पञ्जाब कै आवश्यकताहरुसँग मेल खान्छ ।
दिल्ली भोको थिएन । अपेक्षाकृत बेरोजगारी पनि थिएन । अभावमा बाँच्न बाध्य पनि थिएन । अनि पञ्जाब भोको थिएन । अभावमा पनि थिएन भने आम आदमी पार्टीको एजेण्डासँग र त्यहाँको स्वार्थसँग नेपालका राजनीतिक पार्टीहरुको एजेण्डा कसरी मेल खान्छ ? कसरी नेपाली जनताको स्वार्थसँग मेल खान्छ ? कसरी अरबिन्द केजरीवालको प्रयोगले नेपालमा काम गर्छ ? हो बिजुली मुफतमा दिने प्रयोग हो भने त्यसको त शुरुआत भैसकेको छ । अब कति कसले फ्रि बाँड्ने भन्ने पतिष्पर्धा गर्दा हुन्छ । तर जुनसुकै हालमा पनि नेपालमा अलगाववाद, आत्मनिर्णयको अधिकारलाई लिएर केजरीवाल मोडेलको राजनीति गर्न नेपालको लागि किमार्थ पनि स्वीकार्य हुनु हुँदैन ।
अहिले पेट्रोलियम पदार्थ महङ्गो भएको छ । नेपालमा रहेका झण्डै २ लाख बढि मोटरसाइकल प्रयोगकर्ताहरुलाई निश्चित लीटर पेट्रोल निशुल्क दिने, बोर्डिङ् स्कूलमा बच्चा निशुल्क पढाइदिने, बिजुली निशुल्क दिने, ग्यास निशुल्क दिने आदी जस्ता केजरीवाल मोडेलका योजनाल्याउँदा नेपालका पार्टीहरुले चुनाव जित्न, आइएनजीओ र बृद्धभत्ताको बलमा सत्तामा पुगेको एमालेलाई वैकल्पिकहरुले टक्कर देलान । एकपटक विकल्प पनि बन्लान । त्यसपछि नेपालजस्तो साधारण खर्च धान्न समेत हप्तैपिच्छेविदेशी कर्जा लिने देशमा सरकार कसरी कति दिन चलाउँछन् त्यो भने भन्न सकिँदैन । भारतको जस्तो मजबुत अर्थतन्त्र वर्तमानमा नेपालको छैन । रेमिट्यान्स, आयात शुल्क र वैदेशिक कर्जामा आश्रित नेपालको आफ्नो ठोस आयको योजना बीना अरबिन्द केजरीवालको दिल्ली मोडेलको चर्चाबाट नेपालका राजनीतिक पार्टीहरुले वैतर्णी तर्न खोज्नु कत्तिको सफल योजना हो ? कतै यो आत्मरतिमा रमाउनु बाहेक केहि नहुनसक्छ ? भारतमा ‘बुरा नमानो होली है’ भन्दै अनेक राजनीतिक मजाक गर्ने चलन छ । यदि अरबिन्द केजरीवालको प्रयोग गरेर होली मनाउन खोजिएको हो भने त्यहाँसम्म ठिकै छ । ती सपना देख्ने पार्टीहरु लगायत सबै नेपालीलाई होलीको शुभकामना ।