आर्थिक बर्षको बित्यो आठ महिना, जिल्लाको पूँजीगत खर्च २९ प्रतिशत मात्रै

बाँकेमा रहेका संघीय तथा प्रदेश कार्यालय अन्तर्गतका सरकारी कार्यालयहरुले चालु आर्थिक बर्षको ८ महिना बितिसक्दा पनि खर्च भने जम्मा २९ प्रतिशत मात्रै गरेका छन् । पूँजीगत खर्च विकास खर्च हो । विकास खर्च समयमै नहुने हो भने बजेट फ्रिज भएर जाने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा आइतबार बाँकेका सरकारी कार्यालयले गरेको पूँजीगत खर्चको विवरण प्रस्तुत गर्दै समस्याहरु बारे समेत चर्चा गरियो । विकासे आयोजनाको जिम्मेवारी रहेका कार्यालयको खर्च सन्तोषजनक देखिएको छ ।

ठूलो बजेट रहेका कार्यालय निकै कम मात्र खर्च गरेका छन् । चालु आर्थिक बर्षको दोस्रो चौमासिक गुज्रिदा पनि भएको सुस्त खर्चले विभिन्न क्षेत्रमा प्रभाव पार्ने देखिन्छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जिल्लामा रहेका प्रदेश तथा संघ अन्तर्गतका कार्यालयले १ प्रतिशत भन्दा पनि कम पूँजीगत खर्च गर्ने कार्यालय रहेको समिक्षामा पाइएको बताए । ‘प्रशासन पूँजीगत खर्च बढाउनका लागि भएगरेका समस्या सहजीकरणका लागि तयार छ’, दैनिक नेपालगन्जसँगको कुराकानीमा खत्रीले भने, ‘हामीले पूँजीगत खर्च बढी गर्न प्रोत्साहित गर्ने कार्यक्रम समेत ल्याएका छौं ।’

पूँजीगत खर्च बढाउन नौलो अभ्यास ः प्रजिअ
बाँकेमा सबैभन्दा बढी पूँजीगत खर्च गर्ने भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख मनोज खतिवडा सम्मानित

पूँजीगत खर्च बढाउनका लागि बाँकेमा नौलो अभ्यास सुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले पूँजीगत खर्च बढी गर्ने कार्यालय र त्यसका प्रमुखलाई प्रत्येक महिना मूल्यांकन गरेर सम्मान गर्ने कार्यक्रमको थालनी गरेको जानकारी दिएका छन् ।
देशभर पूँजीगत खर्च कम भैरहेको सन्दर्भमा बाँके प्रशासनले बढी खर्च गर्ने कार्यालयलाई प्रोत्साहन गर्ने नीति लिएको हो । ‘यसले कार्यालयहरु बीच पूँजीगत खर्च बढाउने प्रतिस्पर्धा सुरु हुन्छ र विकासका लागि आएको बजेट खर्च हुन्छ भन्ने विश्वास छ’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नीति लिएका हौं ।’ पूँजीगत खर्च बढी गर्ने कार्यालयलाई कर्मचारी मिलन केन्द्रले सम्मान गर्नेछ ।
प्रशासनले बाँकेमा सबैभन्दा बढी पूँजीगत खर्च गर्ने भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख मनोज खतिवडालाई सम्मानित गरेको छ । ‘सम्मानले पूँजिगत खर्च बढाउन प्रोत्साहित गर्ने विश्वास लिएको छु’, आइतबार दैनिक नेपालगन्जसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले भने ।

कसले कति गरे

बाँकेमा सबैभन्दा बढी पूँजीगत खर्च गर्ने कार्यालय भूमिगत तथा जलस्रोत विकास कार्यालय हो । जसले ९७ प्रतिशत भन्दा बढी खर्च गर्न सफल भएको छ ।


जिल्लामा जल तथा मौसम विज्ञान कार्यालयले २.३५ प्रतिशत, सिक्टा सिंचाई आयोजनाले २०.४३ प्रतिशत, यान्त्रिक व्यवस्थापन डिभिजनले ४०.६ प्रतिशत, राष्ट्रिय पशु तथा प्रजनन कार्यालयले ९.८३ प्रतिशत, क्षेत्रीय आयोजना तथा व्यवस्थापन कार्यालयले २६.३१ प्रतिशत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले १७.३४ प्रतिशत खर्च गरेका छन् ।


त्यस्तै, बनस्पति तथा अनुसन्धान केन्द्रले ३५.८३ प्रतिशत, बाँके राष्ट्रिय निकुञ्जले १०.९४ प्रतिशत, सडक डिभिजन नेपालगन्जले ९.८७ प्रतिशत, कृषि ज्ञान केन्द्रले ४.८७ प्रतिशत, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले ५७.२३ प्रतिशत, भूमिगत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले १२.९७ प्रतिशत, पशु तालिम केन्द्रले ५१.८६ प्रतिशत, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले १.७५ प्रतिशत मात्रै खर्च गरेका छन् ।


डिभिजन वन कार्यालयले २५.०३ प्रतिशत, सडक पूर्वाधार विकास कार्यालयले १८.७३ प्रतिशत, सहरी विकास तथा भवन कार्यालय २२.६६ प्रतिशत, प्रदेश प्रशिक्षण प्रतिष्ठानले ३६.७९ प्रतिशत, जिल्ला समन्वय समिति बाँकेले ६१.५२ प्रतिशत, सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ०.६७ प्रतिशत, भेरी अस्पताल नेपालगन्जले ८३.१७ प्रतिशत, भेरी प्राविधिक शिक्षालयले ४४.८९ प्रतिशत, सामाजिक विकास डिभिजनले ३९.०५ प्रतिशत, स्वास्थ्य कार्यालयले ३९.९३ प्रतिशत खर्च गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया