समयसँगै आएका प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण विश्वका धेरै सभ्यताहरू लोप भएका छन् । सबै बाधाका बाबजुद पनि मध्यकालीन सहर कीर्तिपुरले काठमाडौं उपत्यकाको नेवा सभ्यतालाई अक्षुण्ण राख्न योगदान पु¥याएको छ । स्थानीय रूपमा किपू भनेर चिनिने कीर्तिपुर विश्व सम्पदा क्षेत्रहरूको अस्थायी सूचीमा नामांकन गरिएका काठमाडौंउपत्यकाका तीन मध्ययुगीन र प्राचीन बस्तीहरू मध्ये एक हो ।
नामको शाब्दिक अर्थसँग मेल खाने कीर्तिपुर वास्तवमा ‘गौरवको सहर’ हो। कीर्तिपुरको इतिहासको वर्तमान स्वरूप, यसको मूर्त र अमूर्त सम्पदाहरू ११ औं शताब्दीतिरका हुन् भनी अनुमान गर्न सकिन्छ । काठमाडौं उपत्यकाको मनोरम दृश्य यस भिरालो ड़ाड़ाडा अवस्थितकीर्तिपूर सहरको टुप्पोबाट हेर्न सकिन्छ ।
नेपालको पुरातत्व विभागले कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न २०६३ साल पुस ३० गते युनेस्कोमा निवेदन दिएको थियो । त्यसबेलादेखियसलाई युनेस्कोको सांस्कृतिक सम्पदा साइटहरूको अस्थायी सूचीमा राखिएको छ ।
मध्ययुगीन बस्ती १२ वटा ढोकाहरु भएको किल्लाको रूपमा विकसित गरिएको थियो। स्थानीय बुद्धिजीवी वीरबहादुर महर्जनका अनुसार १२ ढोकाहरुमध्ये नगरको पर्खालसहित ११ वटा ढोकाको स्थान पत्ता लागेको छ । उनले यी सहर ढोकाहरूको जीर्णोद्वारले पहाडी सहरको मध्यकालीन वास्तुकलाको मूल्यलाई पुनः मान्यता प्राप्त गर्न मद्दत गर्ने बताए ।
कीर्तिपुरका मेयर रमेश महर्जनका अनुसार मध्यकालीन बस्तीको मौलिक चरीत्रलाई कायम राख्न नगरपालिकाले निरन्तर पहल गरिरहेको बताए । उनले सम्पदा संरक्षणमा युवा पुस्तालाई सहभागी हुन आह्वान गरेका छन् । कीर्तिपुर काठमाडौं उपत्यकाको नेवा सभ्यताको मध्यकालीन कला र वास्तुकलाको उत्कृष्ट उदाहरण हो । सडकमा रहेका सयौं धार्मिक महत्वका स्थलहरु बाहेक चिलंचो विहार, जगतपाल विहार, बुद्ध धर्म संघ शिखर, बाघभैरब मन्दिर, लायकु (दरबार परिसर), उमामहेश्वर मन्दिर, इन्द्रायणी पिठ, चितु बहाल, लोकेश्वर शिखर, बुद्ध मन्दिर, छवे बाहललगायत वर्गीकृत स्मारकहरू छन्। साथै क्वे बहाल पनि कीर्तिपुरका मूर्त सम्पदा हुन् ।
बाघभैरबको प्रतिष्ठित मन्दिर, स्थानीय रूपमा धुम्बाआजु भनेर चिनिन्छ, क्रोधित बाघ जस्तो आकारको भैरव देवतालाई समर्पित सबैभन्दा लोकप्रिय मन्दिरहरू मध्ये एक हो । धुम्बाआजुलाई कीर्तिपुरको संरक्षक मानिन्छ । त्यसैले स्थानीयले धुम्बाआजुलाई आजुद्य अर्थात् आदरणीय हजुरबुवा भन्ने गर्छन् । यो मन्दिर परिसर स्थानीयहरूले अन्नप्राशन र विवाह जस्ता औपचारिक अनुष्ठानहरूको केन्द्र हो ।
धुम्बाआजु (बाघभैरब) को तीनतले मन्दिर लिच्छवि राजा शिवदेव तृतीयले १०९९–११२६ को अवधिमा निर्माण गरेको भनिन्छ । चारैतिर विश्रामगृहसहितको आयताकार चोकमा साना मन्दिरहरु र प्रस्तर मूर्तिहरू छन् । हिन्दू देवी–देवताहरूको चित्र कुंडिएको काठको टुंडालले यो मन्दिरलाई आकर्षक रूपमा सजाएको छ । मन्दिरको छनामा अठारवटा चुचुराहरू छन्, एउटा पहिलो तलाको छानामा, ६वटा बीचतलामा र एघारवटा माथिल्लो भागमा ।
चिलंचो विहार, एक बौद्ध तीर्थ, कीर्तिपुरको पूर्वी भागमा अवस्थित छ । चैत्यमा फेला परेको नेपाल संवत् ६३५ (१५१६ ईस्वी) को शिलालेखमा भएको विवरणमा चिलंचो विहार यस क्षेत्रको प्रमुख ऐतिहासिक स्तूपहरूमध्ये एकको रूपमा उल्लेख गरिएको छ । नेपाल भाषामा चिलं शब्दको अर्थ अमर र चो शब्दको अर्थ पहाड हो । त्यसैले यसको शाब्दिक अर्थ पहाडको टुप्पोमा अवस्थित अमर देवता हो ।
उमा महेश्वर मन्दिर (स्थानीय रूपमा क्वाचो देगा) कीर्तिपुरको महत्वपूर्ण सम्पदा स्थलहरू मध्ये एक हो । प्यागोडा शैलीको यो तीनतले मन्दिर कीर्तिपुरको सबैभन्दा राम्रो बिन्दु (१४१४ मिटर) मा अवस्थित छ । उपत्यकाको अग्लो स्थानमा रहेको यस मन्दिरबाट काठमाडौं उपत्यका र लाङटाङ, दोर्जे लाक्पा, चोभु भामुरे, गौरीशंकर जस्ता हिमालको मनोरम दृश्यको आनन्द लिन सकिन्छ ।
यो मन्दिर सन् १६५५ मा राजा सिद्धिनरसिंह मल्लका छोरा रौत्र विश्वनाथबाबुद्वारा निर्माण गरिएको थियो। सन् १८३२ को भूकम्पमा मन्दिर ध्वस्त भएको थियो । एक शताब्दीभन्दा बढी समयसम्म जीर्ण अवस्थामा रहेपछि, यसलाई १९३३ मा पुनर्निर्माण गरिएको हो । काठको ढोका, स्तम्भ र दलीनहरूमा अष्टमातृका र अष्टभैरव जस्ता विभिन्न देवी–देवताहरूको कलात्मक मूर्तिहरू कुँदिएका छन् । त्यसैगरी, काठको टूँडालहरुमा कामोत्तेजक चित्रहरू कुँदिएकापनि छन् ।
मध्ययुगीन बस्तीहरूको ढुङ्गा र इँटाका पक्की साँघुरो गल्लीहरूमा बसोबास गर्ने अधिकांश स्थानीयहरुको घरहरू पुनर्निर्माण गरिएका छन् । तिनीहरूले नेवाः सभ्यताको कला र वास्तुकला मूल्यहरू प्रतिबिम्बित गर्दछ। सम्पदाको संरक्षणमा पहल गर्नुका साथै अमूर्त सांस्कृतिक सम्पदाका परम्परागत मूल्यमान्यतालाई जोगाउन पनि कीर्तिपुरवासीहरू तत्पर छन् । कीर्तिपुरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नगरपालिकाको पहलमा युवा पुस्ताको सहभागितासँगै वकालत र लबिङ अभियान चलाउन आवश्यक रहेको स्थानीय पूर्वशिक्षक नारायण महर्जनको भनाइ रहेको छ ।