पछिल्ला केहि दिनमा लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालयको कुराले बाँके देखि बुटवलसम्म तरङ्गित भएको छ । प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार रहेका बेला लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय बनाउने चर्चाले ठाउँ पाएको हो । देशमा संघीयता आएसँगै सातवटै प्रदेशहरुमा प्रदेशकै मातहतमा रहनेगरि प्रदेशस्तरीय विश्वविद्यालयहरु स्थापना गर्ने योजना अनुरुप लुम्बिनी प्रदेशले पनि यसमाथि विचार गर्यो । केहि कामहरु पनि गरिए । प्रदेश देखि संघीय बजेटमा पनि त्यसलाई पारियो । कसैले यसलाई पार्टी राजनीतिको लेपन लगाए त कतिले ठिकै छ बाँकेमा विश्वविद्यालय बन्ने भएछ भने । तर नेपालका विभिन्न योजनामा सरकार परिवर्तनसँगै हुने राजनीतिक कोपभाजनको शिकार उम्रिनै नपाएको लुम्बिनी प्रदेश विश्वविद्यालय परेको छ ।


विश्वविद्यालय अनुदान आयोगका अनुसार नेपालमा हालसम्म एघारवटा विश्वविद्यालयहरु रहेका छन् । यी मध्ये सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय,बिक्रम संवत २०१६ सालमा स्थापना भएको हो । त्रिभुवन विश्वविद्यालयले नेपालको उच्चशिक्षाको अभिभारा पुरा गर्दै पनि आएको छ । आज जेजति पनि पुरानो जनशक्ति रहेको छ त्यो सबैजसो यसै विश्वविद्यालयका उत्पादनहरु हुन् । नेपालले गौरव गर्न लायक रहेको त्रिभुवन विश्वविद्यालयले २०४६ सालको राजनीतिक परिवर्तनपछि आफ्नो साख बचाउनसम्म पनि सकेन । विश्वविद्यालयलाई गैरजिम्मेवार राजनीतिको तालिमकेन्द्र, भर्तीकेन्द्र देखि आफन्तहरुलाई भागपुर्याउने थलोको रुपमा विकास गरिँदा नेपालको उच्चशिक्षाको पवित्रस्थल दूर्गन्धित बन्न पुगेको छ । त्यसताका र त्यसयता बनेका र बन्दै गरेका सबै विश्वविद्यालयहरु पनि यस्तै दुर्गन्धबाट अछुतो रहन सकेका छैनन् । लुम्बिनी प्रदेश विश्वविद्यालयमा चिचिलैमा राजनीतिक दुर्गन्ध शुरु भएको छ ।


विश्वविद्यालयहरु देशका लागि आवश्यक हरेक जरुरी नीतिहरुको अध्ययन अनुसन्धान गर्ने केन्द्रहरु हुन् । राज्यले यिनै अनुसन्धानका आधारमा राज्यसञ्चालनको मार्ग तय गर्नु पर्दछ । समाजविकास, भाषा, धर्मसँस्कृति, सभ्यता, विज्ञान प्रविधि, राजनीति, शिक्षा, स्वास्थ्य, अर्थ न्याय, कृषि, परराष्ट्र आदि नीतिहरुको अध्ययन मात्रै होइन अनुसन्धान गरेर देशको आवश्यकताको पहिचान गर्ने र देश सापेक्षता निर्माण गर्ने काम विश्वविद्यालयहरुको हो । तर दूर्भाग्य नै भन्नुपर्छ हाम्रा विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु पनि भाग पुर्याउने, भत्तापचाउने र विदेशीहरुको ताबेदारीका केन्द्रमा परिणत भएका छन् ।


आधुनिक विज्ञान र प्रविधिको विकास, समाज परिवर्तनको तीब्रता, जनसंख्याको बृद्धि र देशमा शासन व्यवस्थाको परिवर्तनसँगै विश्वविद्यालयहरुको खाँचो बढ्नु स्वाभाविक नै हो । हिजो देशको भाषासँस्कृतिलाई अध्ययन अनुसन्धान गर्न सँस्कृत विश्वविद्यालय र बौद्ध विश्वविद्यालयहरु बने । उच्च शिक्षाको विकेन्द्रीकरण गर्न विकासक्षेत्र स्तरीय विश्वविद्यालयहरु स्थापना भए । हरेक विकास क्षेत्रमा विश्वविद्यालयहरु बने । शासन व्यवस्था परिवर्तन भएर देश प्रदेश संरचनामा गएपछि ती प्रदेशहरुको जनशक्ति व्यवस्थापन, प्रदेशको विकासको बारेमा अध्ययन अनुसन्धान गर्न प्रदेश केन्द्रित विश्वविद्यालयहरुको आवश्यक थियो । यसै योजना अनुरुप विश्वविद्यालयहरुको स्थापना गर्नु कुनै पनि किसिमको विवादित विषय हुनुहुँदैथ्यो ।


लुम्बिनी प्रदेश सरकारले पनि आफ्नो पहिलो कार्यकालमा नै बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ८ मा प्रदेशस्तरीय विश्वविद्यालय निर्माण गर्ने घोषणा मात्रै गरेन गाउँपालिका मार्फत जग्गा पहिचान गरि त्यसलाई गाउँसभाबाट सिफारिस समेत गरी प्रदेश सरकार मन्त्रीपरिषदबाट समेत निर्णय समेत गरायो । यो सम्पूर्ण कार्यमा जुन तदारुकता देखाइयो त्यसले बाँकेका लागि पक्कै पनि एउटा ठूलो आशा थपेको थियो ।
राजनीति उठापटकका बीच लुम्बिनी प्रदेशको सरकार परिवर्तन भएसँगै प्रदेश विश्वविद्यालय लाई बाँकेबाट अन्यत्र सार्ने भन्ने हल्लाले अहिले निकै तरङ्ग पैदा हुनु स्वभाविक नै हो । तर यो कुरालाई मात्रै सामान्य तरङ्गको रुपमा भने बाँकेबासिले लिन मिल्दैन । हिजो बाँकेले हरेक कुरालाई सामान्य रुपमा लिँदा र केहि व्यक्ति र संघसंगठनहरुले ‘मलाई के ? मलाई के ?’ भन्दा यसक्षेत्रैले धेरै कुराहरु गुमाएको तीतो यर्थाथलाई सम्झनै पर्छ ।


बाँके हिजोका दिनमा मध्यपश्चिम र सुदूरपश्चिम कै शिक्षा, स्वास्थ्य र ब्यापारको केन्द्र मात्रै थिएन यस क्षेत्र कै प्रवेशद्वारको रुपमा स्थापित थियो । भेरी, कर्णाली, राप्ती, सेती महाकाली अञ्चलहरुका मानिसहरुको आफ्नोपनसँग जोडिएको बाँके जिल्ला आजपनि सिँङ्गो कर्णाली प्रदेशको प्रवेशद्धार हो । जङ्ग बहादुरले मनपराएको नेपालगञ्ज र पञ्चायतकालमा समेत देशको प्रमुख स्थानहरु मध्येको एक यो स्थानले प्रजातन्त्र र लोकतन्त्र आएपछि पटकपटक धोका पाउँदै आएको छ । २०५९ सालपछि राजाको प्रत्यक्ष शासनका बेला यहाँबाट बिभिन्न क्षेत्रिय कार्यालयहरु सुर्खेत लैजान उक्साउनेहरु र त्यो यहाँबाट सारेपछि मेरो अस्तित्व बढ्छ भन्ने बाँके कै केहि व्यक्ति र संगठनहरुका कारण बाँकेले पटकपटक धोका पाएको कुरामा कुनै शंका छैन ।


क्षेत्रिय विश्वविद्यालय बनाउने बेला नेपालगञ्जका अगुवाहरुले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसलाई नै केन्द्र बनाएर बाँके मै मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर संघर्ष गरे । यो पंङ्तिकारले पनि त्यो संघर्षमा ऐक्यबद्धता जनाएको थियो । तर त्यो बेला २०६४ सालको मधेशी पहाडीको कित्ताकाट र घृणबादको बिउरोप्नेहरुले नै नेपालगञ्ज प्रति अलि बढि नै उदासीनता देखाए । नेपालगञ्जलाई देखाइदिने भन्नेहरु र आफ्नो शक्ति देखाउन खोज्नेहरुले नेपालगन्ज हुनुभन्दा बरु सुर्खेत नै होस् भन्ने मनासाय पालेर आन्तरिक लबिङ पनि गरे । जसको परिणाम हरेक पार्टीका घोंचाले हानेर पनि नभ्याउने नेताहरु बाँके मै हुँदाहुँदै पनि मध्यपश्चिम विश्वविद्यालय सुर्खेत पुग्यो । यसलाई आफ्नो जीत भन्नेहरु आजपनि बाँके मैं छन् । यहिँ गरिखाएका छन् ।


बाँकेले लोकतन्त्रको छत्रछाँयाभित्र प्रधानमन्त्री पनि पाएकै हो । क्रान्तिको नाममा भ्रान्ति रोप्नेहरुलाई पनि सबैभन्दा बढी चन्दा बाँकेले नै दिएर उनीहरुलाई सत्ताको ताज आजपनि भिराइदिएकै छ । संविधानसभाको उपसभामुख पनि बाँकेले दिएको हो । संघीय संसदका सचिवहरु देखि ब्यूरोक्रेसीभित्रका महत्वपूर्ण पदमा बाँकेले आफ्ना सन्तानलाई नपुर्याएको पनि होइन । तर दुर्भाग्य त भन्नैपर्छ जतिसुकै भीड केन्द्रीय सत्तामा बाँकेको भएता पनि कोहिकसैले बाँकेको वास्तविक महत्वप्रति जिम्मेवार हुन खोजेनन् । क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल देखि, प्रदेश राजधानी, प्रादेशिक विश्वविद्यालय सम्म सबैकुरालाई बाँकेले नै गुमाउनु पर्ने कारण के छ ? यसको पर्दा पछाडिका खेलाडीहरु को छन् ? अब बाँकेले यो कुरा खोज्ने कि नखोज्ने ?

अहिले बाँकेको खजुरामा विश्वविद्यालय किन हुनुपर्यो ? भन्नेहरु पनि छन् । प्रदेशको कुनामा होइन केन्द्रमा चाहिन्छ भन्ने बेतुकी सवाल गर्नेहरु पनि छन् । कति यो त हाम्रो सरकारले गरेको होइन भन्दै आफ्नो पार्टीकोे सरकारले नै स्थापनाको स्वामित्व लिएर भोटको एजेण्डा बनाउने र सत्ताको भर्याङ्ग बनाउने दाउमा लागेकाहरु पनि छन् । नेता र सत्ता फेरिँदा ट्रयाक खुलेको बाटो समेत आफ्नो आँगनको ढिकबाट लैजाने नेता र त्यस्तैलाई वाह ! वाह ! भन्ने कार्यकर्ताहरुको बोलबाला रहँदासम्म बाँकेले मात्रै होइन देशले नै सधैं धोका पाउँदै आएको र अझै पाउने छ ।


पूर्वको शिवखोला, कटकुँइँया देखि पश्चिमा मानखोलासम्म दक्षिणमा जमुनाह देखि उत्तरमा देउरालीसम्म जहाँ जुनसुकै प्रतिष्ठान स्थापना भएपनि यो बाँके कै उन्नति हो प्रगति हो भनेर सबैले स्वामित्व लिन र साथ र सहयोग गर्न सक्नुपर्छ । हिजोकसैले नेपालगञ्ज त कसैले कोहलपुर मात्रै बाँके हो भन्ने मानसिकता राखेकै कारण बाँकेले पटकपटक धोका पाएको कुरा कोहिकसैबाट लुकेको छैन । यति सानो ठाउँमा पनि यो किसिमको विभाजित मानसिकताका कारण नै अरुले हाम्रा योजनाहरु लगेका तीता अनुभवबाट पाठ सिक्नैपर्छ । केन्द्रिकृत मानसिकता देशको राजधानी काठमाण्डौं र काठमाण्डौंबासीले लिए भनेर गफ चुट्नेहरु नै बाँकेका अमुक स्थान मात्रै बाँके भन्न खोज्दैछन् । यो सोंच पालिकाभित्र पनि छ । वडाभित्र पनि छ । यसले समग्रतामा विकास हुनैसक्दैन । यो संकीर्ण सोंचको घेराबाट बाहिर आउँनै पर्छ । कसैले मेरो पार्टी र तेरो पार्टी भनेर पक्ष र विपक्षको खेलमा नलागी समग्र बाँके, साथमा बर्दियालाई समेटेर एकपटक पार्टीबिहीन बनेर बाँके बर्दियाबासी मात्रै बनेर लाग्ने हो भने लुम्बिनी प्रदेश विश्वविद्यालय यहाँ स्थापित हुनेछ अन्यथा हिजोका दिनमा भएका धोकाको अर्को कथा जोडिनेमा कुनै शंका नगरेहुन्छ । विश्वविद्यालय स्थापित गराउनका लागि पार्टीको झण्डा, राजनीतिको फाइदा बेफाइदाको जोडघटाउ बन्द गरेर सबैले बाँके बर्दियाबासी भएर अगाडी बढौं । अमुक पार्टीको झण्डामुनि विश्वविद्यालयलाई लैजान खोजियो भने हामीले अर्को धोका पाउने कुरामा शंका नगरे हुन्छ । हामी आफै तय गरौं हामीलाई चाहिएको विश्वविद्यालय हो कि ? राजनीति मात्रै गर्न खोजेको हो ?

प्रतिक्रिया

प्रतिक्रिया