नेपालगन्जमा धुमधाम पर्यटन मेलाः वेष्टर्न ट्राभल मार्ट

पहिलो पटक आयोजना भएको पर्यटन मेला ‘वेष्टर्न ट्राभल मार्ट’ पश्चिम नेपालमा पर्यटकीय विकासको ढोका खोल्ने विश्वास

नेपालगन्जमा पहिलो पटक पर्यटन मेला ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना भएको छ । निजी क्षेत्रले सरकारी सम्बन्धित निकायसँगको साझेदारीमा पहिलो पटक यसरी पर्यटन मेलाको आयोजना गरेका हुन् । बिहीबार भव्य कार्यक्रम बीच राउटे सामुदायका अगुवा (मुखिया) नारायण बहादुर शाहीले ट्राभल मार्टको उद्घाटन गरे ।

पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान, होटल व्यवसायी संघ लगायतको सहकार्यमा नाट्टा नेपालगन्ज च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिका सँग मिलेर पर्यटन मेलाको आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल तथा भारतीय पर्यटन व्यवसायीहरुले कोभिड पछि थलिएको पर्यटन व्यवसायलाई अगाडि बढाउन वेष्टर्न ट्राभल मार्टले सहयोग पुर्याउने विश्वास गरे ।

‘तपाईहरु विश्वस्त हुनुस् कोभिडले थला पारेको पर्यटन व्यवसाय यो आयोजनापछि बिस्तारै अगाडि बढ्ने वातावरण बनेको छ’, झण्डै ७० जना भारतीय टुर अपरेटरको अगुवाई गरेर वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय पर्यटन व्यवसायीका प्रतिनिधि अनुस सिंघलले भने, ‘पहिलो पटक पश्चिम नेपालले पर्यटकीय विकासको सम्भावनाका लागि पहल लिएको छ ।’ उनले भारतीय पर्यटकहरु सहज ढंगले नेपाल आउने वातावरण बन्नासाथ नेपालको पर्यटन व्यवसायमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्दै भने, ‘नेपाल–भारतको सम्बन्धले नै त्यो कुराको आवश्यकता महसुस गराइदिएको छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपाल धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्तै सुन्दर मुलुक भएकाले भारतीयहरु आकर्षित हुने विश्वास गरे । ‘त्यसमा पनि नेपालगन्ज पश्चिम नेपालको प्रवेशद्वार हो’, नेपालगन्जमा तमाम पर्यटकीय पूर्वाधार निर्माण भएको र यहाँबाट दुई÷तीन घण्टामा तमाम विविधतापूर्ण आकर्षणका गन्तव्यमा पुग्न सकिने औंल्याउँदै भने, ‘पर्यटकहरु साँच्चिकै रोमाञ्चित हुने वातावरण हामी कहाँ छ ।’

संस्कार र संस्कृतिले विभेदतापूर्ण नेपालमा आउने पर्यटकहरुका लागि लक्षित नेपालगन्जलाई क्यासिनो सिटीका रुपमा विकास गरिएको नगर प्रमुख डा. राणाको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाई र वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटकीय सम्भावनाको खोजीका लागि निजी क्षेत्र र सरकार साझेदार भएर यसखालको आयोजना गरिएको बताए । आयोजनाको पहिलो दिन भारतबाट आएका ७० बढी टुर अपरेटर, पत्रकार, नेपालका विभिन्न प्रदेशको प्रतिनिधित्व गरेका आमन्त्रित पर्यटन व्यवसायीहरु बीच औपचारिक कार्यक्रम पछि व्यवसायिक सम्झौता तथा विभिन्न प्रवद्र्धनात्मक प्रस्तुतिहरु गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए ।

त्यसअघि प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर परिसरबाट पर्यटन व्यवसायीहरु बाजागाजा सहित नेपालगन्जका विभिन्न बजार क्षेत्र हुँदै प्रभातफेरी गरेका थिए । उनीहरुलाई विभिन्न विद्यालयका विद्यार्थी, सांस्कृतिक टोलीहरुले आफ्ना प्रस्तुति मार्फत साथ दिएका थिए ।

ट्राभल मार्टको दोस्रो दिन आज शुक्रबार बिटुबी र बिटुसीका छलफल सत्रहरु सञ्चालन गरिने मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका सचिव कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार, मार्टमा सहभागी प्रतिनिधिहरु आजै बर्दियाको कोठियाघाट क्षेत्रको अवलोकन भ्रमणपछि बर्दिया राष्ट्रिय निकुञ्जका लागि ठाकुरद्वारा जानेछन् ।

ट्राभल मार्टका क्रममा भोलि शनिबार ठाकुरद्वारा देखि निकुञ्जमा जंगल सफारी लगायतका पर्यटकीय अवलोकनपछि औपचारिक कार्यक्रम गरी कार्यक्रमको औपचारिक समापन गरिने वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले जानकारी दिए ।

आजबाट वेष्टर्न मार्ट, पश्चिमको पर्यटन प्रवद्र्धनमा नाट्टाको पहल

प्रतिक्रिया

प्रतिक्रिया