नेशनल प्याब्सनः प्यानल बनाउँदै सुवास न्यौपाने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को जारी सातौँ राष्ट्रिय महाधिवेशनमा निवर्तमान महासचिव सुवास न्यौपानेले प्यानल घोषणा गरेका छन् ।


सोमवार नेपालगन्जमा आफ्ना समर्थकसहित पत्रकारहरुबीच प्रस्तुत भएका न्यौपानेले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि आफ्नो नेतृत्व आवश्यक भएको बताए । ‘यो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित मेरो उम्मेदवारी आएको हो,’ सकभर सर्वसम्मत नेतृत्व चयन आफ्नो प्रयास भएको दावीसहित न्यौपानेले पत्रकारसँग भने ।

यो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित मेरो उम्मेदवारी आएको हो


न्यौपानेको टिम संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि सक्षम हुने दावी गर्दै नेशनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले प्रस्तावित नाम घोषणा गरेका थिए । विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको भन्दै न्यौपानेले आफ्नो नेतृत्वले त्यसलाई स्थापित गर्ने बताए ।

देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपर्ने न्यौपानेको भनाइ थियो ।


न्यौपानेको टिमबाट नेशनल प्याब्सन लुम्बिनीका अध्यक्ष सुबोध कुमार डाँगी उपाध्यक्ष, पारसमणि दाहाल महासचिव, प्रकाशचन्द्र खडका उपमहासचिव र प्रताब बहादुर थापा कोषाध्यक्ष लगायतका उम्मेदवार घोषणा गरिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया