‘रुम बुक’ गरेर जुवा, तीन बर्षमा २९ मुद्दा

स्तरीय होटलमा रुम बुक गरेर जुवा खेलिने गरेको खुलेको छ । नेपालगन्जमा पटकपटक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर जुवाडे नियन्त्रणमा लिनेको गरेको छ ।

घर, टोलमा जुवा खेल्दा सुराकी हुनसक्ने भएकाले धनाढ्यहरु होटलको रुम बुक गर्ने र आरामदायी तरिकाले जुवा खेल्ने प्रवृत्ति बढेको छ । जुवामा खासै ठूला सजाय नहुने भएकाले जुवा नियन्त्रण चुनौतिपूर्ण रहेको पाइन्छ ।


बाँकेका प्रहरी अधिकारीहरुले क्यासिनोमा नेपाली प्रवेश निषेध भएकाले जुवाडेहरुले होटललाई सुरक्षित स्थानका रुपमा लिएको हुनसक्ने बताउँछन् । होटलमा जुवा खेलेको भेटिए त्यसमा होटल सञ्चालकलाई खासै कारवाही हुँदैन । भाडामा दिएको रुममा के गरे भन्ने आफुहरुलाई थाहा नहुने तर्क होटल व्यवसायी गर्छन् ।

‘होटल जुवाडेका लागि आरामदायी छ, अर्डर अनुसार खाना, माद्यक पदार्थ आउने भयो’, प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीको आँखा छल्न पनि होटल सजिलो हुने भएकाले होटल जुवाका लागि प्रयोगमा आउन थालेको हो ।’

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जुवातास विरुद्ध प्रहरीले निगरानी गरिरहेको बताउँछन् ।
होटलमा जुवा खेल्ने प्रवृत्ति नेपालगन्ज मात्रै नभएर देशभरी रहेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीका अनुसार, बेलाबेला स्तरीय होटलमा जुवा खेल्नेलाई प्रहरीले पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने गरेको छ ।

होेटलबाट १२ जुवाडे पक्राउ

बाँके प्रहरीले नेपालगन्जको एउटा होटलबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले ५ जना कैलालीका र ७ जना बाँकेकालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्ति उपर आवश्यक अनुसन्धान अगाडि बढाएको बाँके प्रहरीले जानकारी दिएको छ । ‘जुवाडेबाट ६ लाख ९४ हजार नगद पनि जुवाखालबाट नियन्त्रणमा लिएका छौं’, उनले भने । प्रहरीले एक जुवाडे पैसा सहित होटलको झ्यालबाट हाम समेत फालेको जानकारी दिएको छ । ‘धन्न हाम फालेका जुवाडेलाई चोट लागेन’, प्रहरी अधिकारीले भने ।

जुवा विरुद्ध प्रहरी सक्रियता
तीन बर्षमा २९ मुद्दा

चालु आ.व.को ६ महिनामा ६१ जना ९ लाख ५१ हजार ६ सय १० सहित पक्राउ

बाँके प्रहरी मार्फत गत तीन आ.व.मा जुवाका २९ वटा मुद्दा दर्ता भएका छन् । बाँके प्रहरी मुद्दा फाँटको तथ्यांक अनुसार, आ.व. २०७५÷०७६ मा ९, आ.व. २०७६÷०७७ मा १५ र आ.व. २०७७÷०७८ मा ५ वटा मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक बर्षको ६ महिनामा बाँके प्रहरीले ६१ जना जुवाडेलाई ९ लाख ५१ हजार ६ सय १० रुपैयाँ सहित पक्राउ गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया