हाम्रा शहरलाई कस्तो बनाउने हाम्रै हातमा छ । युरोपका उदाहरण दिने गर्छांै, अहिले हामीले जे गरेका छौ त्यहि गल्ती पहिला ती देशले पनि गरे । अहिले ती शहरहरु धमाधम भत्काएर साइकल मैत्री बनाउँदैछन् । हामीकहाँ बन्दै गरेको अथवा बनाउन सकिने अवस्थामा पनि नजर अन्दाज गर्दैछौं । जसले हाम्रा शहर रुपका हैनन् कुरुपका परिचय पाइरहेका छन् । यो अवस्थाको अन्तका लागि शुरुवात गर्न ढिला नगरौं, साइकलमैत्री शहर निर्माण गरौं ।
नेपालमा साइकल कहिले भित्रियो, कस्ले ल्यायो ? किन ल्याए ? कस्ले चढे अब इतिहास बनिसकेको छ । त्यसैले यहाँ इतिहासको भन्दा पनि द्रुतगतिमा विकास भैरहेका शहर र त्यो शहरीकरणले बिभिन्न तहका यात्रुहरुलाई कसरी समेट्न पर्छ भन्नेमा केन्द्रित रहेर केही कुरा प्रस्तुत गर्न खोजिएको छ ।
सड्क र शहरको तिब्र बिकाससंगसंगै के बिकासका पूर्वाधार र संरचनामा सबैपक्षलाई बिशेष गरी उपभोग गर्ने पक्षलाई समेटिएको छ त ? न्युनतम पुर्वाधार बनिरहँदा अब सबैको ध्यान सबै मानिस समेटिने शहरमा जानु स्वभाविक नै हो । तपाई हामी बसेका शहर र हामी हिंड्ने सडकहरु बिस्तार, स्तरोन्नती र फराकिलो पार्ने अभियानमा बिभिन्न तहका सरकारहरुको अर्बौ रुपैयाँ लगानी भैरहेको छ, ति विकास खर्चहरु हामीले तिरेको करले बनिरहेका छन् । त्यससँगै दाताहरुको पनि सडकमा अर्बै लगानी भएको छ ।
यसरी अर्बौ रकम खर्चिएको सडकहरु के हाम्रो लागि उपयोगी छ ? सडक कस्का लागि बनेको छ ? शहरहरु शहर कस्तो छ ? फराकिलो पारिएका मुख्य शहरका सडकहरु त्यो काठमाडौको रिङ्गरोड होस, या नेपालगन्ज, या धनगढी या बुटवल या बिराटनगर ! यी सबै सडकहरु हामी पैदल यात्रु, साइकल यात्रु, शारीरिक रुपमा अशक्त, वालबालिका र उमेर ढल्केका लागि प्रयोग गर्न मिल्नेछन त ? शहर भनेको ठुला भवन फराकिलो सडक र ठुला सवारी मात्रै हो त ? तपाईलाई लाग्दैन ? शहर गन्जागोल र भद्रगोल मात्रै छैनन् कुरुप पनि हुँदै गएका छन् ।
हामीले गएको ३० वर्ष राजनीतिक अन्योलतामा बिताएऔं । र पनि, हामीले राजनीतिक अस्थिरतालाई दोष दिएर उम्कने अवस्था छैन, हामी आफै कल्पना गरौ न एकैछिन हाम्रो शहर ब्यबस्थित यातायातका साधनहरु आफ्नो स्थानमा गुडुन्, पैदलयात्रीहरु एकातिर निर्धक्क हिडुन्, साना सवारीका साधन एकातिर होस्, हरिया सडकका बिचमा साइकल चलाउने प्रसस्त मानिसहरु, यो कल्पनालाई हामीले हाम्रो शहर बनाउन सक्दैनौ र ? अवश्य पनि सक्छौ मात्रै तपाई हामी सबैमा दृढ इच्छा शक्ति भने आवश्यक छ । यसकालागी पैसा र सरकार भएर मात्रै पनि पुग्दैन तपाई हामी आम नागरिकको पनि महत्वपूर्ण भूमिका हुनेछ, त्यसै भूमिकालाई सरकारले समन्वय गरेर पुरा गर्नुपर्नेछ ।
साइकल मैत्री शहर किन ?
साइकल मैत्री शहर भन्ने बित्तिकै साइकलेहरुको माग भन्ने बुझाई आम मानिसमा रहेको छ । आम मानिसमा मात्रै हैन बिकासमा सहभागी अधिकाशको बुझाई पनि रहेको छ, गाडी हिड्न बाटो छैन साइकललाई ? प्रश्न गर्नु गर्नुहुन्छ, हामीले सबैभन्दा ठुलो यो भ्रमलाई चिर्नापर्ने आवश्यकता रहेको छ, साइकल मैत्री शहर किन त ?
१) वातावरण
साइकलको सबैभन्दा फाइदा भनेको वातावरण मैत्री नै हो, साइकल उत्पादन भैसकेपछि यसले कार्वन उत्सर्जन कम गर्छ, अर्को कुरा साइकललाई पेट्रोलियम पदार्थ चाहिएन । अन्य जतिपनि सवारी साधन छन् पेट्रोलियम पदार्थ नभइ भएन ।
२) ट्राफिक ब्यवस्थापन
साइकल मैत्री शहरहरु सफा, धुलो धुवा रहित मात्रै हैन अहिलेको यो गन्जागोल ट्राफिक ब्यबस्थापन गर्न सजिलो र कम खर्चिलो हुनेछ ।
३) सजिलो र कम खर्चिलो
साइकल चलाउन र थोरै रकममा पनि पाइन्छ, त्यति मात्रै होइन, मर्मत खर्च पनि कम लाग्छ
४) सहज पहँुच
साइकल सबैको पहुँचमा रहेको छ, साइकल प्राय सबैले किन्न र उपयोग गर्न सक्छ
५) स्वास्थ्य
साइकल चलाउँदा तपाइँको मात्रै हैन तपाईको समाजलाई पनि स्वस्थ राख्न मद्दत गर्न सक्नुहुन्छ, कसरी ? तपाईले दैनिक साइकल चलाउँदा पेट्रोलियम पदार्र्थ र ग्याँस उत्सर्जन कम गर्नु हुनेछ
६) पूर्वाधारमा लगानी कम
बिकासका क्रियाकलाप गर्दा सडकहरु बनाउँदा अरबौं रुपैया खर्च गरिरहेको हुन्छ । तर साइकलको लागि अर्बाैं रकम खर्च नगर्दा पनि हुन्छ ।
के हुनुपर्छ साइकल मैत्री शहर हुन ?
सबैभन्दा पहिला साइकल लेन हुनु पर्यो । पछिल्लो समय हाम्रा सडकहरु फराकिलो पार्ने, स्तरोन्नती गर्ने काम तीव्र गतिमा भैरहेको छ । साइकल महोत्सव भैरहेको नेपालगन्ज शहरका मुख्य मात्रै हैन शाखा सडकहरु पनि बिस्तार भैरहेका छन् । त्यसैले यसरी बिस्तार भएका सडकहरुको डिजाइन गर्दा नै साइकल लेन पहिलो प्राथमिकतामा हुनुपर्यो, लेन बनेका सडकहरु पनि प्रयोगमा आएका छैनन् त्यसलाई प्रयोगमा ल्याउन अभियान शुरु हुनुपर्यो ।
साइकल पार्किंङ स्थल
साइकल लेन पछि अर्को महत्वपूर्ण साइकल अड्याउने स्थल नहुने त्यसको सुरक्षा नहुने भएकोले स्थानीय सरकारले सदाका बिस्तार र आफ्ना पूर्वाधारहरु बनाउदा साइकल पार्कको डिजाइन र निर्माण गर्नु आवश्यक छ । साइकल पार्क गर्ने स्थान नहुँदा पनि समस्या भएको छ ।
स्थानीय समुदायको सहभागिता
अब हाम्रा पूर्वाधार जतिसुकै राम्रो असल काम भएपनि त्यो सडक र पूर्वाधारलाई प्रयोग गर्ने समुदायले त्यसको महत्व नबुझ्दा साइकल शहर बन्न नसकेको हो । त्यसैले योजना बन्नुदेखि नै हामीले स्थानीयको सहभागिता अनिवार्य गराउनुपर्नेछ, जसले त्यसको प्रयोग र संरक्षण पनि गर्नेछन् ।
स्थानीय सरकारको सहभागिता
स्थानीय सरकारले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । योजना छनौट देखि नै स्थानीय सरकारले साइकल मैत्री, पैदलयात्री मैत्री लगायत विभिन्न समूहलाई ध्यानमा राखेर बिकासका योजना बनाउन सक्नुपर्नेछ । भएकै पूर्वाधारलाई पनि कसरी सहज बनाउने भन्नेमा अहिले नै ध्यान जानु जरुरी छ । नेपाल मै पनि यसको प्राक्टिस भएको छ, ललितपुर उपमहानगरपालिकाले लेन बनाएको छ त्यस्तै सुर्खेतको बिरेन्द्रनगरमा पनि यसको लागि काम हुँदैछ । सुर्खेत र ललितपुरले गर्न सक्ने काम नेपालगन्ज–कोहलपुर– खजुराले गर्न सक्दैन भन्ने कुरै भएन । इच्छाशक्तिको खाँचो हो ।
अन्तमा,.
हामीले हाम्रा शहरलाई कस्तो बनाउने हाम्रै हातमा छ । डेनामार्क, नेदरल्याण्ड लगायत युरोपका उदाहरण दिने गर्छांै, अहिले हामीले जे गरेका छौ त्यहि गल्ती पहिला ती देशले पनि गरे । अहिले ती शहरहरु धमाधम भत्काएर साइकल मैत्री बनाउँदैछन् । हामीकहाँ बन्दै गरेको अथवा बनाउन सकिने अवस्थामा पनि नजर अन्दाज गर्दैछौं । जसले हाम्रा शहर रुपका हैनन् कुरुपका परिचय पाइरहेका छन् । यो अवस्थाको अन्तका लागि शुरुवात गर्न ढिला नगरौं । साइकल लेनमा दबाब दिन थालौं, साइकलमैत्री शहर निर्माण गरौं ।