शिक्षा सरकारको प्राथमिकतामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले सरकारले शिक्षाका क्षेत्रमा सुधारका महत्वपूर्ण कामहरु अगाडि सारेको बताएका छन् । नेशनल प्याब्सनको सातौं महाधिवेशन उद्घाटनका लागि नेपालगन्ज आइपुगेका मन्त्री पौडेलले शनिबार पत्रकारहरु सँग कुरा गर्दै शैक्षिक क्षेत्रको सुधारका लागि ५५ बुंदे काम कार्यान्वयनमा आएको बताए ।
प्रेस सेन्टर बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणदेखि राहत शिक्षक समस्या समाधानसम्मका कामहरु आफुले अगाडि बढाएको बताए ।

मन्त्री पौडेलले राहत शिक्षकलाई स्थायी गर्नका लागि लोकसेवा आयोग लड्नुपर्ने बताए । ‘नेपालमा शिक्षकहरुको २० वर्षपछि पेन्सन पाउने प्रक्रिया छ त्यसलाई पनि यसमा जोडेका छौं’ उनले भने, तर राहत शिक्षकले पनि कम्तिमा १९ वर्ष काम ग¥र्यो तर यस्ता शिक्षकलाई कानून अनुसार गोल्डेन अफर सहित विदा गर्नेछौं ।’ तर राहत शिक्षकको कम्तिमा १५ वर्ष भयो भने त्यस्ता शिक्षक आन्तरिकबाट नै लोकसेवाको परीक्षा लिएर नै स्थायी दरबन्दीमा हुने मन्त्री पौडेलले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १० अर्ब बजेट कार्यान्वयनमा गैसकेको जानकारी दिंदै शिक्षा मन्त्री पौडेलले तीन बर्ष भित्र मुलुकका चार हजार बढी विद्यालयमा प्राविधिक शिक्षाका लागि आवश्यक पूर्वाधार तयार भैसक्ने बताए । सरकारले विशेष शिक्षा अन्तर्गत मदरसा, गुरुकुल र गुम्बा शिक्षाका लागि नियमन, व्यवस्थित र प्रोत्साहन गर्ने नीति अघि सारेको पनि बताए ।

सरकारले शिक्षालाई प्राथमिकतामा राखेन नि ? पत्रकारको जिज्ञासामा मन्त्री पौडेलले भने, ‘हाम्रो प्राथमिकतामा छ, बजेट सिलिङ्ग बढाउनका लागि प्रधानमन्त्रीसँग कुरा गरेको छु ।’ उनले संघीय शिक्षा ऐन ल्याउन आवश्यक कसरत गरिरहेको जानकारी दिंदै सम्बन्धित मन्त्रालयसँग सहमति लिएर अगाडि बढ्ने काम भैरहेको बताए ।

राजनीतिक सवालमा पत्रकारका प्रश्नहरुको जवाफ दिंदै माओवादी नेता समेत रहेका मन्त्री पौडेलले एमसीसीका कारण अब थप जटिलता नआउने विश्वास व्यक्त गरे । गठबन्धनको उद्देश्य पूरा नभैसकेकाले त्यसमा कुनै समस्या नआएको दाबी गरेका मन्त्री पौडेलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुने कुरामा शंका नगर्न पनि आग्रह गरे । ‘निर्वाचनका लागि सकेसम्म मिलेर जाने हो, नमिले प्रतिस्पर्धामा जान सबै दल तयार छन्’, निर्वाचनसम्म सहकार्यको ग्यारेन्टी नभएको प्रश्नमा मन्त्री पौडेलको भनाइ थियो । उनले एमसीसीका कारण माओवादी भित्र आएको कम्पनलाई ‘सेफ ल्याण्डिङ’ गरिसकेको पनि बताए ।

प्रतिक्रिया

प्रतिक्रिया