संस्थापनको फुटले कोइराला पक्षको बर्चश्व [सूचि सहित]

‘संस्थापन पक्षले नै कोइरालाको बिरासत जोगायो’, नेपाली काँग्रेस बाँकेको सभापतिमा संस्थापन इतरका नारायण गौडेल निर्वाचित भएपछि काँग्रेसका एक पुराना नेताले भने, ‘यसअघि कोइराला पक्षका नेता, कार्यकर्ता संस्थापनमा गएपनि मतदान संस्थापन इतरलाई नै गरेका छन् ।’ निर्वाचित हुन गौडेलले आफ्नो उम्मेदवारीको तर्क सहित प्रत्येक मतदाता भेटे, घरदैलो गरे । त्यसैको प्रभाव नै हो भन्न सकिन्छ, उनले निर्वाचित हुन, संस्थापन र संस्थापन इतर दुवैको भोट पाए । काँग्रेस नेताहरु गौडेल दुवै पक्षको नेताका रुपमा चुनिएको प्रतिक्रिया दिन्छन् ।
नेपाली काँग्रेस बाँकेको सभापति पदका लागि बिहीबार संस्थापन पक्षबाट सुरेन्द्र हमाल, बादशाह कुर्मी र संस्थापन इतरका गौडेल बीच प्रतिस्पर्धा हुँदा गौडेल झिनो मतान्तरले अगाडि रहे । ५० प्रतिशत कटाउनै पर्ने काँग्रेसको विधान बमोजिम कसैले त्यो संख्या कटाउन सकेनन् । बिहीबार संस्थापन पक्षका हमालले ३१४, कुर्मीले ५ सय ३८ र संस्थापन इतरका गौडेलले ५६९ मत प्राप्त गरे । सभापतिका लागि मतदानको दोस्रो चरण शुक्रबार भयो ।

गौडेलले बिहीबार भएको मतदानमै करिब सयको हाराहारीमा मत संस्थापनबाट पाएको काँग्रेस नेताहरु बताउँछन् । त्यो मत शुक्रबार भएको मतदानमा बढ्यो, गौडेल विजयी भए । उनले ७ सय ६० मत पाए भने कुर्मीले ६ सय ६३ मत प्राप्त गरे । पहिलो चरणमा संस्थापन पक्षका दुई उम्मेदवारले ८ सय ५२ मत प्राप्त गरेका थिए । संस्थापनका उम्मेदवारले यसअघि दोस्रो चरणमा संस्थापनलाई सघाउने घोषणा गरेका थिए । तर, निर्वाचन परिणामले त्यो देखाएन । पहिलो चरणमा संस्थापनका दुई उम्मेदवारलाई मत हाल्नेले दोस्रो चरणमा संस्थापन इतरलाई मत हालेको निर्वाचन परिणामले देखाएको छ । संस्थापन पक्षका हमालले यसअघि खुलेर संस्थापन पक्षका उम्मेदवार कुर्मीलाई पूर्व अभिव्यक्ति बमोजिम समर्थन गरेका थिएनन् ।

बाँके यसअघि कोइराला पक्षकै बर्चश्व रहने गरेको छ । काँग्रेस केन्द्रीय पूर्व सभापति सुशिल कोइरालाका निधन पछि बाँकेमा कोइराला खेमा कमजोर बन्दै गयो । देउवा पक्ष बलियो बन्दै गएको बाँकेमा उनी सभापति निर्वाचित भएपछि पाला बदलेका नेता, कार्यकताका कारण कोइराला पक्ष कमजोर बन्यो । कोइराला पक्षबाट संस्थापन देउवा तर्फ लागेका नेता, कार्यकर्ता मतदाताले अन्ततः बाँकेमा कोइराला पक्षधर नेतालाई नै रोजेका छन् । यसअघि बाँकेमा कोइराला पक्षबाट सभापतिमा किरण कोइराला निर्वाचित भएकी थिइन् । ‘जिल्लामा कोइराला पक्षधरको पार्टी केन्द्रका बलियो पहल नदेखेपछि धेरै संस्थापन (देउवा) पक्षमा लागेका छन्’, काँग्रेस नेता भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया