२०६८ सालमा बाँकेमा विश्वविद्यालय ल्याउन चरणबद्ध रुपमा आन्दोलन भए । आश्वासन पनि आयो । आन्दोलन सकियो, आश्वासन पनि । तर, आन्दोलनको सम्बोधन गरेको तत्कालीन सरकारले नेपालगन्जमा स्थापना गर्ने भनेको विश्वविद्यालय अर्को जिल्लामा सार्यो ।
प्रदेशको राजधानीका लागि पहलमा बाँके निकै पुछारमा रह्यो । २४ जिल्लाको केन्द्र बाँकेले प्रदेश राजधानी पाएन । औद्योगिक नगर बनाउने, विश्वविद्यालय बनाउने, स्वास्थ्यको हब बनाउने, पहाडी जिल्लादेखि जमुनाह नाकासम्म जोड्ने स्तरीय सडक बनाउनेदेखि आश्वासन दिएर बाँकेलाई राजधानीको मागबाट पछि हट्न बाध्य बनाइयो । केन्द्रीय आदेशको भरमा चल्ने यहाँका नेताले जिल्लालाई प्रदेशको राजधानी बनाउने तर्फ दबाब दिन कुनै उल्लेख्य आन्दोलन तर्फ उन्मुख भएनन् । बरु केन्द्र देखि प्रदेशका नेताहरुले औद्योगिक राजधानी बनाउने, स्वास्थ्यको हब बनाउने आश्वासनमै भुले । नौबस्तामा बन्न लागेको औद्योगिक क्षेत्रको क्षेत्रफल घट्दै छ नै कहिले बन्ने हो टुङ्गो छैन । पहाडी जिल्लाबाट चीन र भातर सीमासम्म बाँकेको बाटो भएर बन्ने भनिएको सडक चर्चामै सीमित छ ।
अहिले फेरि बाँकेको खजुरा गाउँपालिकामा प्रदेश स्तरीय विश्वविद्यालय निर्माण गर्ने लुम्बिनी प्रदेश सरकारले आश्वासन दिइसकेपछि कार्यान्वयनका बेला अन्यन्त्र लग्ने प्रयास भैरहेको छ । त्यसको विरोध पनि सुरु भएको छ । तत्कालीन नेकपा एमालेको लुम्बिनी प्रदेश सरकारले खजुरामा प्रदेश विश्व विद्यालयको प्रक्रिया अगाडि बढाएको थियो । सरकार परिवर्तन भएपछि प्रदेश सरकारले बाँकेमा स्थापना गर्ने भनिएको विश्वविद्यालय अन्यन्त्र लग्न थालिएको हो ।
यसअघि तत्कालीन लुम्बिनी प्रदेश सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषद्ले निर्णय समेत गरिसकेको विश्वविद्यालयका अन्यन्त्र सार्ने तयारी भैसकेको आयोगकै पदाधिकारी बताउँछन् ।
योजना आयोगका अनुसार, खजुरामा विश्वबिद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने तयारी भएको हो । खजुरामा प्रदेश विश्वविद्यालयका लागि अघिल्लो बर्ष ३ करोड विनियोजन भए पनि प्रदेश सरकारले खर्च गरेन, ७ करोड पनि ऐनको अभावमा खर्च भएन । चालु आ.व.मा १० करोड बजेट छुट्याएर ऐन बनिसकेको अवस्थामा अन्यन्त्र सार्न षडयन्त्र भएको खजुराबासी बताउँछन् ।
सार्ने प्रयास अस्वीकार्य ः पालिका अध्यक्ष कक्षपति
सर्वदलीय बैठक र आन्दोलनका लागि पत्रकार सम्मेलनको तयारी
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गाउँपालिकाले यसअघि निर्णय भएको प्रदेश विश्वविद्यालय अन्यन्त्र सार्ने खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
‘खजुरा गाउँपालिको सभाबाट विश्वविद्यालयका लागि जग्गा एकिन गरी प्रदेश सरकारलाई पठाइसकिएको छ’, पालिका अध्यक्ष कक्षपतिले भने, ‘योजना कार्यान्वयनका बेला सार्न खोजिए हामी कडा प्रतिवाद गर्नेछौं ।’
अध्यक्ष कक्षपतिले प्रदेश विश्वविद्यालयका सम्बन्धमा आज बिहीबार सर्वदलीय बैठक राखिएको जानकारी दिएका छन् । ‘सर्वदलीय बैठकपछि पत्रकार सम्मेलन गरेर आगामी बाटोबारे जानकारी दिइनेछ’, उनले भने ।
अध्यक्ष कक्षपतिले राजनीतिक पूर्वाग्रह राखेर प्रदेश विश्वविद्यालय सार्न खोजिए त्यसलाई बाँके नस्वीकार्ने बताएका छन् ।
‘विकासका सवालमा दल एक हुनुपर्छ’
एक दशकअघि नेपालगन्जमा संघ अन्तर्गत विश्वविद्यालय स्थापना हुनुपर्ने भनेर भएको आन्दोलनका सहसंयोजक हुन् पशुपति दयाल मिश्र । अहिले खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्ने भनेर लुम्बिनी प्रदेश सरकार पछि हटेको भन्ने कुरालाई उनीले कडा आलोचना गरेका छन् । ‘बाँके जहिले पनि राजनीतिक पूवाग्रहको निशानामा पर्ने भयो’, उनी भन्छन्, ‘बाँकेको विकासमा सवालमा यहाँका राजनीतिक दल एक ढिक्का हुन आवश्यक छ ।’
नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका बाँके जिल्ला सह इन्चार्ज मिश्रले एक दशकअघि काँग्रेसले चासो नदिंदा नेपालगन्जमा विश्वविद्यालय स्थापना हुन नसकेको बताउँछन् । ‘तत्कालीन मध्य र सुदूरपश्चिमको केन्द्र रहेको बाँकेमा हजारौं विद्यार्थी अध्ययनका लागि आउने गर्दथ्ये, भौतिक पूर्वाधारका लागि प्रशस्त जग्गा उपलब्ध हुन्थ्यो, तर पनि विश्वविद्यालय यहाँ स्थापना भएन’, उनले भने । नेपालगन्जमा स्थापना गर्ने भनिएको विश्वविद्यालय सुर्खेत सारिएको थियो, तत्कालीन समयमा ।
तत्कालीन विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिका सहसंयोजक मिश्र नेपालगन्ज भन्सारदेखि जिल्ला प्रशासनसम्म लामो समय धर्ना दिएको बताउँछन् । केन्द्रमा जिल्लाबाट बाँकेका नेता सुशिल कोइराला हुनुहुन्थ्यो । ‘स्व. कोइरालाले तत्कालीन समयमा हामीलाई बाँकेमा विश्वविद्यालय स्थापना हुन्छ, तपाईहरु चिन्ता नगर्नुस् भन्नुभयो, उहाँ प्रधानमन्त्री समेत हुनुभयो, हामीलाई उहाँलाई विश्वास गर्यौं, तर विश्वविद्यालयका विषयमा उहाँले वास्ता नै गर्नुभएन विश्वविद्यालयका मुद्दा नै तुहियो’, उनले भने । नेता मिश्र बाँकेले प्रधानमन्त्री पाउँदा समेत एउटा विश्वविद्यालय पाउन नसक्नु दुःखद् भएको भन्दै आगामी दिनमा पनि बाँकेले लडेर नै विश्वविद्यालय प्राप्त गर्नुपर्ने धारणा राख्छन् ।
‘सत्ता परिवर्तन भयो कि बाँकेका योजना अन्यत्र सार्ने काम हुने गरेको छ’, नेता मिश्रले भने, ‘हिजो काँग्रेसलाई विश्वास गर्दा बाँकेमा विश्वविद्यालय स्थापना भएन, अहिले लुम्बिनी प्रदेश गठनबन्धमा काँग्रेस सहितको सरकार हुँदा विश्वविद्यालय खोस्ने प्रपञ्च हुँदैछ ।’