नेपाली काँग्रेस बाँकेका नेता बादशाह कुर्मी ३ दशक भन्दा बढी काँग्रेस राजनीतिमा सक्रिय रहेको बताउँछन् । उनले गत मंसिर १० गते संस्थापन पक्षबाट बाँके काँग्रेसको सभापतिको उम्मेदवारी घोषणा गरे । संस्थापन पक्षबाट अर्का एक उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसै सन्दर्भमा दैनिक नेपालगन्जले बाँके काँग्रेसका सभापति पदका उम्मेदवार कुर्मीसँग गरेको संक्षिप्त कुराकानी ।

तपाईले संस्थापनबाट आफ्नो उम्मेदवारी भनेर घोषणा गर्नुभएको थियो । तर, सुरेन्द्र हमाल पनि आउनु भयो । चुनावी तयारी, रणनीति, तपाईको पक्ष कसरी चिन्ने मतदाताले ?

संस्थापन पक्ष भनेर कसरी चिन्ने हो भने मेरो साथमा पुरै टिम हिडेको छ । हाम्रो सबै टिम, सभापति मलाई राखेर सम्पूर्ण प्यानल उम्मेदवार घरदैलोमा छौं । मलाई संस्थापन पक्ष भनेर केन्द्रीय सदस्य, नेताहरुले उम्मेदवारी दिन लगाउनु भएको हो । त्यसले गर्दा म संस्थापक्ष हुँ । सुरेन्द्रजीले उम्मेदवारीको नामै लिनु भएको थिएन, अहिले आएर एकाएक घोषणा गर्नुभयो । उम्मेदवारी आफ्नो इच्छाको कुरा हो । पार्टीको आन्तरिक लडाई पनि हो । सुरेन्द्रजीले इच्छा गर्नुभयो होला, उम्मेदवारी दिनुभयो होला । मैले आफ्नो मनले उम्मेदवारी दिएको होइन, हाम्रै नेताहरुले भनेर उम्मेदवारी दिएको हुँ ।

पार्टी नेतृत्वबाट अन्तिम समयसम्म एक जना उम्मेदवार बनाउने सम्भावना छ ?

त्यो त खोई ? नेताहरुले गर्नुहोला केही न केही त । संस्थापनको आधिकारिक उम्मेदवार म नै हो । महाधिवेशन अघिदेखि नै म सभापतिको उम्मेदवारी हो । सुरेन्द्रजीले पछि आएर उम्मेदवारी दिनुभयो । मैले उहाँसँग सोध्दा पनि पहिला लड्दिन भन्नुभयो । त्यसपछि म लड्छु भन्दा लड्नुस म सहयोग गर्छु भन्नुभयो । खै के कारणले गर्दा उहाँले उम्मेदवारी दिनुभयो ।

डमी उम्मेदवार पनि भन्दा रहेछन्, किन होला त्यसो ?

मैले त के भनांै । कसरी डमी उम्मेदवार ? मैले सुरुदेखि अहिलेसम्म अरु पार्टीको राजनीति गरेको छैन । म छैठौं पटक महाधिवेशन प्रतिनिधि पनि भैसके । निर्वाचन लडे । संविधानसभा सदस्य भए । निर्वाचनमा पनि बाम गठबन्धनसँग चुनाव लड्दा पनि झिनो मतले पराजित भए । स्थिति हाम्रो अनुकुल नहुँदा पनि जुन म मत मैले ल्याए, त्यति अरुले ल्याउन सक्दैनथ्ये, अनि कहाँबाट डमी उम्मेदवार भए ।

हमाल र राठौंर परिवार बीचमा तपाईलाई पिसियो भनिन्छ, सहमत हुनुहुन्छ ?

त्यो त मलाई थाहा छैन हजुर । म केही छ या छैन थाहा छैन ।

कार्यकर्ता बीच महोल कस्तो छ ?

कार्यकर्ता बीच एकदम राम्रो छ । म साथीहरुको बीचमा छु, पुरै टिम लिएर । मैले पहिलो राउण्डबाटै सभापति पद जित्छु । साढे ७ सय बढी मत सहजै ल्याउने छु, पहिलो चरणमा नै । कार्यकर्ताबाट त्यो उत्साह पाएको छु ।

तपाई सभापति किन हुनुपर्यो ?

नेपाली काँग्रेसलाई अघि बढाउन मैले सभापति पदमा उम्मेदवारी दिएको हुँ । आउँदो स्थानीय निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई विजयी गराउन मैले नेतृत्व लिने खोजेको हुँ । म सभापति हुँदा पार्टी धेरै राम्रो भएर पार्टी अगाडि बढ्छ । मैले संगठनलाई बाँकेका आठ वटै स्थानीय तहमा वर्चश्व बनाउँछु, क्रियाशिल बनाउँछु भनेर सभापति पदमा उम्मेदवारी दिएको हुँ ।

कार्यकर्ताको रुचि के पाउनु भएको छ ?

पार्टी कार्यकर्ता लगायत सबैको चाहना के छ भने हामी पार्टी संगठित भएर जाउँ भन्ने छ । संगठित हुने कार्यकर्ताको चाहना मैले पूरा गर्न सक्छु । मैले आफ्नो क्षेत्रमा सम्पूर्णलाई मिलाएर लगेको छु, कार्यकर्तालाई पनि म प्रति विश्वास छ ।

अन्त्यमा

सम्पूर्ण हाम्रा मतदाता प्रतिनिधि साथीहरुलाई मलाई र मेरो टिमलाई मतदान गरी विजयी गराउन हुन अनुरोध गर्दछु ।

को हुन् बादशाह

२०१४ साल असोज १५ गते साविक परसपुर गा• वि• सामा जन्मिएका कुर्मीले गडरियनपुर्वा हाल आदर्शनगरस्थित सरकारी विद्यालयबाट आफ्नो अध्य्यनको शुरूवात गर्नु भएको थियो । वहाँ कक्षा ५ सम्म सो विद्यालयमा अध्ययन गर्नु भएको थियो । त्यस पश्चात् नेपालगन्ज स्थिति मंगल प्रसाद मा• विद्यालयबाट कक्षा ९ सम्मको पठाई गर्नु भयो । कुर्मीले त्यस पछिको १०+२ सम्मको अध्धयन भारतबाट पूरा गर्नु भयो थियो ।

२०३६ सालको जनमत संग्रहमा जब वहाँ सहभागी हुनुभयो , त्यपछि वहाँलाई राजनीतिको नसा लाग्यो । गाउँघरका सबैको सल्लाह सुझाव अनुसार वहाँले आफुलाई राजनीतिक क्षेत्रमा उभ्याउने प्रयास गर्नु भयो, फलस्वरूप २०४३ सालमा पन्चायत विरुद्ध नेपाली कांग्रेसका तर्फबाट चुनाव लड्नु भयो । तर झिनो मतान्तरले पराजित हुनु भयो । त्यस पछि वहाँले आफूलाई राजनीतिमा झनैं सक्रिय बनाउनु भयो ।
२०४६ सालको जन आन्दोलनमा वहाँको सक्रिय सहभागीले गर्दा नै हात भाँचिएको, तैपनि वहाँ हार मान्नु भएन । झनै उत्साहित भएर आन्दोलनको नेतृत्व गर्नु भयो । जन आन्दोलन कै क्रममा वहाँ लाई पटक पटक गरि हप्तौं जेलमा पनि बस्नु पर्यो ।

वहाँ २०४९ र २०५४ सालमा दुई पटक नेपाली कांग्रेसका तर्फबाट परसपुर गा• वि• सा• अध्यक्षमा निर्वाचित हुनु भयो । गा वि सा अध्यक्ष हुँदा वहाँले आफ्नो ठाउँमा गरेको विकास निर्माणका कामको स्थानीय स्तरमा अहिले पनि प्रशंसा हुने गरेको छ ।

स्थानीय निकायमा दुई-दुई पटक निर्वाचित भए, पश्चात् पार्टीको जिल्ला तथा केन्द्र स्तरमा अगाडि बढ्दै जानु भयो । जिल्ला सदस्यबाट कार्य समितिमा छिरेका कुर्मी २०६२-६३सालमा नेपाली कांग्रेस बाँकेको कार्यबाहक सभापति भई सात राजनीति दलको नेतृत्व समेत गर्नु भयो ।
नेता कुर्मी नेपाली कांग्रेस पार्टीको ९ औं महाअधिवेशन देखि हाल सम्म सक्रिय रूपमा लागि हाल सम्म ६ पटक महाधिवेशन तथा महासमिति सदस्य भई सक्नु भएको छ । २०४८ र २०५६ साल गरि दुई पटक वहाँ नेपाली कांग्रेस पार्टी विजय भएको क्षेत्र नम्बर ३ मा प्रतिनिधी सभाको सदस्य हुनु भएको थियो ।

दुई पटक समानुपातिक सभासद भई लेखा समिति लगायत विभिन्न समितिको सदस्यका रूपमा रही महत्त्वपूर्ण भुमरीका निर्वाह गर्नुभएको थियो ।

पछिल्लो संसदीय चुनावमा बाँके क्षेत्र नम्बर ३, नेपाल कांग्रेसको तर्फबाट विपरीत परिस्थितिमा पनि झिनो मतान्तरले लोकप्रिय नेता कुर्मी पराजित हुनु भएको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत ल्याई वहाँ अहिले महाधिवेशन प्रतिनिधी बन्नु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया