नारायण प्रसाद गौडेल
सभापति पदका उम्मेदवार
नेपाली काँग्रेस बाँके

१. सभापति पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंको उम्मेदवारी किन ?

नेपाली कांग्रेस बाँकेलाई विधि, पद्धति र नियम संगत तरिकाले परिचालन गर्न, आउँदै गरेका तीनै तहका निर्वाचनहरुमा बाँके जिल्लामा नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले जिताउन, कांग्रेसको चारतारे झण्डा जिल्लाभर फरफराउन मेरो उम्मेदवारी हो । त्यसैगरी कांग्रेस पार्टी भन्दा बाहिर रहेका द्वन्दपीडितदेखि लिएर निष्ठा, त्याग र समर्पणभाव बोकेका विभिन्न व्यक्तिहरु अहिले विभिन्न कारणले पार्टीभित्र जोडिन सक्नुभएको छैन, ती मनहरुलाई पनि पार्टी जीवनमा जोड्ने अनि मजदुर, किसान, युवा, तरुणहरुलाई पार्टीको मूलधारमा ल्याएर नेपाली कांग्रेस बाँकेको संगठन बलियो बनाउनका लागि मेरो उम्मेदवारी हो ।

२. तपाईंले सभापतिमा जित्ने आधारहरु के-के छन् ?

मैले जित्ने आधारहरु प्रशस्त छन् । पहिलो कुरा मैले जित्ने आधार पार्टीका क्षेत्रीय प्रतिनिधि साथीहरु हुनुहुन्छ । पार्टीका क्रियाशील नेतागण, आम कार्यकर्ता मेरो आधार हुनुुहुन्छ । सबैले मलाई सहयोग गर्छौं भन्नुभएको छ, त्यो नै बलियो आधार हो । बाँकेका आम कांग्रेसजनको अपार माया र सद्भाव मलाई छ ।

३. तपाईंका चुनावी प्रतिबद्धताहरु के-के छन् ?

मेरो नेतृत्वमा रहेको टिमले केही प्रतिवद्धताहरु सार्वजनिक गरेको छ । जुन प्रतिबद्धताहरु हामी पूरा गर्न दत्तचित्त भएर लाग्नेछौं । नेपाली कांग्रेस बाँकेको संगठन सुदढ, सबल र चलायमान बनाउने, मुलुकको लोकतान्त्रिक आन्दोलनमा बाँके जिल्लाबाट उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका तर पार्टीको मूलधारबाट बाहिर रहनुभएका व्यक्तिहरुको पहिचान गरी योग्यता र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरी पार्टीको मूलधारमा समाहित गर्ने, पार्टीभित्रका विकृति, विसंगती, अराजक गतिविधि अन्त्य गरी मर्यादित, अनुशासित र संगठनात्मक रुपान्तरण गर्ने, संविधानपिता स्वर्गीय सुशील कोइरालाको शालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने, पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संघसंगठनहरुलाई चलायमान बनाउने, उपविजेता साथीहरुलाई समेत साथमा लिएर सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने, पार्टी कार्यालयबाट सञ्चालित विभिन्न गतिविधिहरुलाई प्रविधिमैत्री बनाउने लगायत थुप्रै मेरा योजनाहरु छन् । ती योजनाहरुलाई म दृढताका साथ कार्यान्वयन गर्न लाग्छु ।

४. सभापतिमा तपाईंसहित तीन जना उम्मेदवार हुनुहुन्छ, अन्य प्रतिष्पर्धी भन्दा तपाईं कसरी फरक हुनुहुन्छ ?

उहाँहरु भन्दा म अत्यन्त फरक छु । किनभने म संगठनको जगमा उभिएको मान्छे हुँ । संगठन गरेरै यहाँसम्म पुगेको छु । म कुनै सांसद, मन्त्री छैन । म संगठन गरेरै नेता कार्यकर्ताको बीचबाट यहाँ आएको भएर म अरु भन्दा पृथक छु ।

५. अन्त्यमा, आफ्ना मतदाताहरुलाई के भन्नुहुन्छ ?

म तेह्रौं महाधिवेशनमा पनि बाँकेको सभापतिमा उठेको हुँ । त्यस बेला साथीहरुले विजयी गराउन सक्नुभएन । अहिले यो चौधौं महाधिवेशनमा धेरै साथीहरुले मलाई के भन्नुभएको छ भने यसपटक नारायण गौडेललाई जिताउने अभियानमा हामी लागेका छौं, लाग्छौं । बाँकेको संगठन चलायमान बनाउने एक मात्र उम्मेदवार नारायण गौडेल हो भनेर सबै साथीहरुले भनिराख्नुभएको छ । यसपटक नारायण गौडेललाई जिताउनुपर्छ भन्ने अभियान क्षेत्रीय प्रतिनिधि साथीहरुले गाउँगाउँमा चलाइरहनुभएको छ । म उहाँहरुलाई धन्यवाद दिन्छु । र, फागुन १९ गते मेरो सम्पूर्ण टिमलाई अमूल्य मतदान गरी विजयी गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि साथीहरुलाई हादिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

प्रतिक्रिया