शिक्षा समाज परिवर्तनको मेरूरण्ड हो । जंगली युगदेखि एक्काईसौं शताब्दीको पूर्वाधसम्म आइपुग्दा ओडारको बास खोज्दै हिड्ने मानिसले मंगल ग्रहमा मानव वस्ति बिस्तार गर्ने सम्मको यात्रा तय गर्ने प्रमुख आधार नै शिक्षा हो । यही मूल मर्ममा एकाकार भई सरकारले सातै प्रदेशमा एक एक वटा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने योजना मुताविक बाँकेको खजुरामा लुम्बिनी विश्व विद्यालय स्थापनार्थ विविध गतिविधिहरू भई सकेका छन् ।

विश्वविद्यालय अवधारणागत रूपमा दूर प्रभावगामी संस्था हो भन्दै रसायनशास्त्रका प्रा. डा. मोतिलाल शर्माले भन्छन्, ‘यसको सञ्चालन चुनौतिपूर्ण रहेको हुन्छ ।’ दृढ संकल्पका साथ सुरू गरेमा सम्पूर्ण चुनौतिहरू लाई सजिलै निराकरण गर्न सकिने विश्वास भौतिकशास्त्रका सह प्राध्यापक तथा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव जनक रत्न मल्लको रहेको छ ।

विश्वविद्यालय ठूलो र खर्चिलो हुने हुँदा आर्थिक समस्या हुन सक्ने तिर औंल्याउँछन् राजनीति शास्त्रका विद्यावारिधिका शोधार्थी पूर्ण बहादुर शाही यो कुरालाई सहि थप्छन्, चार्टर्ड एकाउन्टेन्ट बिनोद भट्टराई । तर, प्रदेश सरकारले स्वप्निल योजनाको रूपमा प्रदेश विश्वविद्यालयलाई लिएको छ । जसलाई साकार पार्न यही जेठ २५ गते प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा १६५ वुँदा मध्ये ३६ औँ वुँदामा वि. वि. लाई यसरी समेटेको छ ।’ जसमा उल्लेख छ, प्रदेशको विकासको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न स्वास्थ्य, वन, कृषि, सुचना प्रविधि र ईन्जिनियरिंगलाई प्राथमिकतामा राखी प्रदेशको पूर्ण स्वमित्वमा बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गरि प्राविधिक विषयमा पठनपाठन संचालन गरिने छ । प्रदेशको आवश्यकताका आधारमा प्राविधिक विषयमा स्नातकोत्तर कक्षा संचालनको तयारी गरिने छ ।

प्राविधिक विश्वविद्यालय संचालन गर्दा मानव स्रोतको व्यवस्थापन गर्नु ठूलो चुनौति रहेको मान्छन्, भौतिकशास्त्रका सह प्राध्यापक तथा प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष डा. बेदराज के. सी. । नेपाललाई आवश्यक विषय र ज्ञान प्रदान गर्न आवश्यक पर्ने मानवस्रोतलाई आवश्यक थप सुविधा प्रदान गरि जोहो गर्न सकिने सुझाब प्रा. डा. जनार्दन आचार्यको रहेको छ । प्राविधिक संसाधनको सहि तरिकाले व्यवस्थापन गर्न सुरूबाटै चुस्त र विधिपूर्ण तरिकाले नियुक्ति गरिनु पर्ने धारणा त्रि. वि. का प्रा. डा. निरन्जन पराजुलीको छ । उनी भन्छन्, विदेशका राम्रा वि. वि. हरूमा अवलम्वन गरिने त्त्क् प्रणालीलाई अझ सुधारेर प्रयोग गर्न सकिन्छ ।

आर्थिक पाटोलाई सहज रूपमा लैजान संकाय (स्कुल)हरू र विभागहरू क्रमशः सुरू गर्दै लैजानु उपयुक्त हुने सुझाव वनस्पति शास्त्री जय हमालको रहेको छ यस कुरालाई भौतिक शास्त्री गोबिन्द प्रसाद अधिकारी थप्छन्, ‘अत्यावश्यक रहेको स्कुललाई तत्काल शुरू गरि अन्यलाई थप्दै लैजानु पर्दछ र सबै प्राविधिक शिक्षाको जननी, साधारण विज्ञान सँगै अरू विषय संचालन शुरूवात उपयुक्त हुन्छ ।’
यसैगरि बाँसगढी सामुदायिक क्याम्पसका प्रमुख ईश्वरी प्रसाद रिजाल भन्छन्, ‘विश्वविद्यालय समाजसँग एकाकार हुँदै जानु पर्दछ । यदि समाजले यसलाई विश्वास गर्न सकेन भने धराशायी हुँदै जान्छ जुन कुरा पुराना वि.वि.हरूमा पाइएको छ ।’ स्थानीय वुद्धिजीवि र अगुवा व्यक्तित्वहरूलाई नजर अन्दाज गरेर अघि बढने प्रयास गरे असफल हुन्छ । त्यसैले वि.वि.लाई समाजसँग जोड्न अनुसन्धानात्मक कार्यहरूका बारेमा नियमित गोष्ठी तथा सेमिनार आयोजना गर्दै जानु पर्ने धारणा डा. खगेन्द्र जंग शाहको छ । यस्ता कार्यले वि. वि. लाई समाज सँग एकाकार गर्दछ भन्दै उनी थप्छन्, ‘वि.वि.लाई जति समाजिक रूपमा जोड्न सक्यो उति छिट्टै स्थापित हुन्छ ।’
सरकारले विश्वविद्यालय खोल्छ तर मर्नु न बाँच्नु बनाएर छाड्छ भन्दै तितो अनुभव व्यक्त गर्छिन्, त्रि. वि. कि पूर्व रेक्टर प्रा. डा. सुधा त्रिपाठी हाल नेपाल खुला वि. वि. कि सिनेट सदस्य तथा कार्यकारी सदस्य समेत रहेकी उनी भन्छिन्, ‘मान्छे एकछाक खोले खाएर पनि बाँच्न सक्छ तर वि. वि. त्यसरी बाँच्न र हुर्कन सक्दैन् ।’

अहिलेको समय अनुसारको युग सापेक्ष शिक्षा प्रदान गरि बजारमा हर तरहले प्रतिस्प्रधा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नु प्राविधिक वि. वि. को चुनौती हो भन्दै इ. खिमलाल बराल थप्छन्, ‘यसका लागि प्रयोगात्मक र व्यवहारिक ज्ञानलाई समेत प्राविधिक शिक्षामा जोड्न आवश्यक छ ।’

विश्वविद्यालय एउटा जटिल र महंगो संरचना भएकोले यसको संचालनमा विविध चुनौतिहरू आइपर्दछन् । विभिन्न विद्वानहरू, संचालनमा रहेका देश भित्रका विभिन्न वि. वि. हरूको अध्ययन र प्राज्ञिक व्यक्तित्वहरूका अनुभव तथा वहाँहरू सँगको छलफल र आफ्नै स्वअध्ययन बाट पाइएका चुनौतिहरूलाई वृहत रूपमा दुई भागमा वर्गिकरण गर्न सकिन्छ ।
१) आन्तरिक वा प्राज्ञिक चुनौति र
२) वाह्य चुनौति ।
१) प्राज्ञिक चुनौतिहरूः
विश्वविद्यालय आफैँमा प्राज्ञिक थलो हो । यसलाई संचालन गर्दा विभिन्न समस्याहरू आईपर्न सक्छन् । हाल प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने भनेको वि. वि. का निम्न प्राज्ञिक या आन्तरिक चुनौति हुन सक्छन् ।

(क) विश्वविद्यालयको ऐन पारित ः
नेपालको इतिहासमा काम भन्दा बढी प्रचार प्रसार गर्ने गरिन्छ । तत्कालिन मध्यपश्चिमाञ्चल विकाश क्षेत्रमा विश्वविद्यालय गठन गर्ने निति अनुरूप तिन पटकसम्म अध्ययन समिति बनेको पाइन्छ । त्यतिबेला नेपालगन्जमा वि. वि. को स्थापना हुनु पर्छ भनि आन्दोलन पनि भएको थियो । त्यही आन्दोलनको सहमति अनुरूप नेपालगन्ज वि. वि. को ऐनको मसौदा तयार भई संघिय संसदमा पेश भएको वर्षौँ भयो । त्यो यद्यपि जस्ताको त्यस्तै छ पारित हुन सकेको छैन् ।

धेरैलाई अहिले पनि त्यस्तै हुने त हैन भन्ने शंका छ । कतै प्रदेश सरकारले पनि ऐन पारित गर्न ढिलाई गरि राजनितिक नारा मात्र बनाउने त होईन ? गत हिउँदे अधिवेशनमा यो ऐन पारित गरिने कुरा थियो तर विडम्बना त्यहीबेला राजनितिक खिचातानिका कारण प्रदेश संसद नै राम्ररी चलेन र यो ऐन पेश पनि भएन् । देशको राजनितिक अवस्थका कारण वि. वि. ऐन पास हुनु नै ठूलो चुनौति देख्नुहुन्छ प्रा. डा. मोतिलाल शर्मा ।

(ख) मानव संसाधनको व्यवस्थापनः
प्रदेश विश्वविद्यालय प्राविधिक धारलाई प्राथमिकतामा राखेर गठन हुने हुँदा प्राविधिक मानव स्रोतलाई सहि रूपमा व्यवस्थापन गर्ने परिपाटी बसाल्न नसकेर अरू धेरै वि. वि. हरूको शैक्षिक स्तर खस्केकोले यहाँ पनि सो समस्या देखिन सक्ने धारणा डा. बेदराज के. सी. को रहेको छ । सही तवरले मानव संसाधनको व्यवस्थापन गर्न नसके दक्ष र अनुभवि प्राध्यापकहरू राम्रो अवसरको खोजिमा अन्यत्र जानसक्ने संभावना देख्छन सि. ए. बिनोद भट्टराई जसको सिधा असर शैक्षिक गुणस्तरमा पर्दछ । सरकारको प्राथमिकतामा शिक्षा नपरेको कारण यथोचित तवरले वि. वि. ले गुणस्तरिय रूपमा प्रगति गर्न गाह्रो हुने चुनौति रहेको प्रा. डा. सुधा त्रिपाठीले देख्नु हुन्छ ।

( ग) २१औँ शताब्दि अनुकुल समय सापेक्ष पाठ्यक्रमः
प्रदेशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण समेत वि. वि. ले शोध अनुसन्धान गरि सोही अनुरूप भोलिको लागि सीपले निपूर्ण जनशक्ति उत्पादन गर्नको लागि उपयुक्त पाठ्यवस्तुको सिर्जना र पाठ्यक्रमको तर्जुमा गर्नु पर्ने चुनौति देख्छन गोबिन्द प्रसाद अधिकारी । देशका धेरै जसो वि. वि. हरूले पुरानै ढर्राको शिक्षा प्रदान गरेकोले बेरोजगार उत्पादनका कारखाना बनेको भनाई पूर्ण बहादुर शाहीको रहेको छ । सो कुरालाई अरू कुनै विद्वानले नकार्न सक्दैनन् ।

(घ) संकाय छनौट र स्तरिकरणः
यो वि. वि. प्राविधिक हुने हुँदा यस प्रदेश तथा देशलाई नै आवश्यक विभिन्न प्रकृतिका प्राविधिक जनशक्ति उत्पादन गर्नु यसको मुख्य लक्ष्य रहनेछ । प्रविधिक शिक्षा आँफैमा अति महंगो हुन्छ । गुणस्तर कायम राखेर वि. वि. संचालन गर्दा थोरै विद्यार्थी हरूलाई उचित तवरले प्रयोगात्मक र कार्यस्थल मै लगाई सिकाउनु पर्ने हुन्छ । त्यसकारण आवश्यक संकाय ( स्कुल) हरू तथा विभागहरू धेरै थरिका हुन सक्छन जसको स्तरिकरण अहिले चलि रहेका वि. वि. हरूको भन्दा पनि अबको केहि वर्ष पछि कस्तो बनाउने भन्ने नै रहेको हुन्छ भन्दै इ. बराल थप्छन समाजलाई राम्ररी बुझेका प्राविधिज्ञ उत्पादन गर्नु नै चुनौतिपूर्ण छ ।

(ङ) वि. वि. को प्रकृतिः
यो वि. वि. कुन प्रकृतिको बनाउने नै चुनौति देख्नुहुन्छ पूर्ण बहादुर शाही । पूर्णरूपमा स्वायत्त भनिएको त्रि. वि. पनि राजनितिक भागवण्डामा चलेकोले अहिले समस्याग्रस्त रहेको देख्नु हुन्छ प्रा. डा. पराजुली । त्यस्ता खाले समस्याबाट यसलाई समयमै बचाउन यसको प्रकृति कस्तो बनाउने ठूलो चुनौति छ ।

(च) demand based education (आवश्यकताका आधारमा शिक्षा)ः नेपाल र नेपालीमा समय व्यतित गर्न अध्ययन गर्ने परिपाटी रहेको छ । कहीँ कतै कुनै काम नपाए पछि त्यतिकै खालि बस्नु भन्दा कुनै उपाधि हासिल गरिहालौँ न भनेर पढने प्रचलन पनि छ । त्यस खालको शिक्षा आवश्यकता को लागि होइन् । त्यसकारण कुन प्रकारको शिक्षा कुन तह र कुन वर्गका विद्यार्थीको लागि किन आवश्यक छ भन्ने कुरा निर्क्यौल गर्न जटिल छ ।

(छ) पाठ्य सामग्रीः
यो वि. वि. प्रदेश वि. वि. भएकोले यहि कै पाठ्यवस्तुलाई प्राथमिकताका साथ समेटनु पर्ने हुन्छ तर हाल सम्मका वि. वि. हरूमा केन्द्रले या राजधानिले मात्र पाठ्यवस्तु निर्णय गर्ने गरेकोले यहाँका स्थानिय प्रविधि, यहाँका रिति रिवाज, जडीवुटी, ताल तलैया लगायतलाई पाठ्यवस्तुका रूपमा अगाल्न गाह्रो हुनसक्ने कुरा ईश्वरी प्रसाद रिजाल औँल्याउछन् ।

२) वाह्य चुनौतिहरूः
यो एउटा जटिल संरचनागत संस्था भएकोले यसको प्रभाव जनमानसमा समेत परेको हुन्छ । त्यकारण यसलाई संचालन गर्दा वि. वि. का आफ्ना आन्तरिक चुनौतिहरू मात्र नभइ निम्न प्रकारका वाह्य चुनौतिहरू समेत हुने गर्दछन् ।

(क) विद्यार्थी संख्याः
यो वि. वि. नयाँ संस्था भएकोले विद्यार्थी माझ परिचित हुन नसक्ने र अभिभावकहरूको विश्वास समेत प्रप्त गरि नसकेको अवस्थामा यसमा ज्ञान आर्जन गर्न आउने विद्यार्थी संख्या न्यून हुन सक्छ ।

(ख) आर्थिक समस्याः
सबै जसो काम तथा योजनाहरू रकमको अभावमा पूर्ण हुन नसकेका धेरै उदाहरण छन् । यसमा पनि त्यसतो नहोला भन्न सकिन्न किनकि वि. वि. संचालनमा तितो अनुभव प्रा. डा. सुधा त्रिपाठीको रहेको छ । उनि भन्छिन सरकारको शिक्षा प्रतिको स्पष्ट धारणा नहुनु र प्राथमिकतामा नपर्नु नै आर्थिक संकटको कारण हो ।
नियमित खर्च र अन्य खर्चहरू जस्तै कार्यस्थलको खर्च लगायत खोज अनुसन्धानमा ठूलो रकमको जोहो गर्नु पर्ने हुन्छ ।

(ग) संरचना निर्माणः
बाँकेको खजुरामा सय बिघा जग्गा अधिग्रहण गरि छुट्याई सकिएको अवस्थामा वि. वि. संचालन गर्न अब भवनहरू तथा विभिन्न अन्य संरचनाहरूको निर्माण गर्नु पर्ने हुन्छ । कक्षा कोठा, प्रयोगशाला, प्रशासनिक भवन लगायत वि. वि. को पर्खाल सबै निर्माण गरेर मात्र कक्षा संचालन हुने हुँदा यी निर्माणहरू समयमा नै सम्पन्न गरिसक्नु नै चुनौतिपूर्ण छ ।

(घ) उत्पादित जनशक्तिको गुणस्तरः
विद्या हासिल गरेर दिक्षित भएका जनशक्ति जुनसुकै क्षेत्रका प्रतिस्प्रधामा खरोरूपमा उत्रेर अब्बल साबित हुन सक्नु पर्दछ । यदि यस किसिमका अब्बल जनशक्ति उत्पादन गर्न सकिएन भने वि. वि. सफल हुन सक्दैन भन्ने धारणा जनक रत्न मल्लको रहेको छ ।

(ङ) सामाजिक चुनौतिः
वि. वि. पनि यहि समाजको एउटा अंग हो । त्यसकारण वि. वि. समाजसँग एकाकार भएर जानु पर्दछ । समाज एउटा बाटोमा वि. वि. अर्को बाटोमा हिंडेर सर्वांगिण शिक्षाको लक्ष्य प्राप्त हुँदैन् । त्यसैले समाजसँग मिलाएर लैजानु पर्ने चुनौति समेत रहेको छ ।

(च) राजनितिक चुनौतिः
सबै नीतिको प्रमुख निति राजनिति हो । त्यसैले शिक्षा पनि राजनितिबाट अछुतो रहन सक्दैनन् । त्यसो भन्दैमा सम्पूर्ण रूपमा वि. वि. लाई भागबण्डा गरी राजनीतिक अखाडा बनाउनु हुँदैनन् । यसरी संचालन गर्दा त्रि. वि. को साख कसरी खस्कदै गयो हामी माझ जगजाहेर छ । त्यसैले यो वि. वि. लाई पनि अनावश्यक राजनितिक हस्तक्षेपबाट मुक्त राखि संचालन गर्नु चुनौतिपूर्ण कार्य रहेको छ ।

(छ) जन विश्वास आर्जनः
वि.वि.ले गुणस्तरिय शिक्षा प्रदान गरे पनि जनताको विश्वास जित्न सकेन भने यहाँका बासिन्दा वि. वि. प्रति उत्तरदायी हुँदैनन् । त्यस परिस्थितिमा भोलिको दिनमा वि. वि. लाई केही अप्ठेरो पर्दा यहाँका जनता मुकदर्शक बनेर बसिरहन्छन् । वि. वि. लाई जनविश्वासको अति खाँचो रहन्छ र त्यो प्रप्त गर्नु वि. वि. को लागि चुनौतिपूर्ण रहेको छ ।

(ज) मनोवैज्ञानिक असरः
धेरै जसो नेपालीहरूमा सरकारी भन्ने बित्तिकै विभिन्न खाले समस्याले ग्रत रहने वि. वि. हुनसक्ने मनोविज्ञान रहेको हुन्छ । सो मनोवैज्ञानिक असरलाई चिर्नु पर्ने चुनौति पनि यो वि. वि. लाई रहेको छ ।

प्रत्येक कामका आ–आफ्नै चुनौतिहरू हुन्छन् । काम सानो छ भने चुनौति पनि थेरै र साना हुन्छन् भने ठुला कामका चुनौतिहरू पनि ठूला र धेरै हुन्छन् । चुनौतिले जहिले पनि अवसर लिएर आएको हुन्छ । त्यसैले बिना चुनौतिका कुनै काम छैनन् । विश्वविद्यालय स्थापना गर्नु भनेको सानो काम कदापि हैन यसर्थ यसका पनि ठूला र धेरै चुनौतिहरू छन जुन समाधान युक्त पनि छन् । माथि उल्लेख गरिएका चुनौतिहरू वुध्दिमतापूर्ण तरिकाले काम गर्दै जाने हो भने क्रमशः निराकण गर्न सकिन्छ ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा पाँच करोड रूपैयाँ विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा त्यसलाई बढाएर सात करोड पुर्यायो तर वि. वि. ऐनको अभावमा सो रकम समेत खर्च हुन सकेको छैन् । ऐनको मसौदा तयार भएको स्थितिमा प्रदेश सरकार, प्रदेश भित्रका बाह्र जिल्लाका माननीय ज्यूहरू अझ विशेषतः बाँके र वर्दियाका सांसदहरू तदारूकताका साथ लागेर यही अधिवेशनमा वि. वि. ऐन पारित गराउनु पर्दछ ।

संभाव्यता अध्ययन टोलीले भने झैं सय बिघा जग्गा खजुरा गाउँ पालिकाले व्यवस्था गरिसकेको छ भने ऐन मुताविक वि. वि. गठन गरि जग्गा प्राप्ति गरि संरचना निर्माणमा अघि बढ्नु पर्दछ ।

संरचना नबनुन्जेल कपास विकास समितिका अहिले प्रयोगमा नरहेका भवनहरूलाई सरकारसँग पहल गरि वि. वि. संचालनका लागि प्रयोग गर्न सकिन्छ । यसरी वि. वि. संचालन गर्न पहिलो चरणमा आवश्यक मानव संसाधनहरूलाई नियुक्त गरिनु पर्दछ । पहिलो चरणमा नियुक्त हुने व्यक्ति कार्य सम्पादनमा दक्ष, सबल दृष्टिकोण युक्त हुनुका साथै यसै प्रदेश र अझ स्थानिय व्यक्तित्वलाई प्राथमिकतामा राखिनु आवश्यक छ । जसले गर्दा जुन समाजमा वि. वि. बन्दैछ त्यहींका जनताहरू कार्यरत हुन पाउँदा अपनत्वको भाव सिर्जना हुन्छ । यसरी नियुक्त पदाधिकारीहरू र वि. वि. ले संयुक्त रूपमा विभिन्न नियम, विनियम तथा कार्यविधिहरू तयार गरि यथाशिघ्र अध्ययन अध्यापन संचालन गराउन पहल गर्ने छ ।

“आजलाई भन्दा नि भोलिको लागि शिक्षा“ भने झैं चुस्त र जोशिला व्यक्तित्वहरूले विभिन्न वि. वि. हरूले अध्यापन गराउने विषय, परिपाटी, संरचना लगायतको अध्ययन गरि समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक पर्ने पाठ्यक्रम, पाठ्यपुस्तक लगायत थप जनशक्ति प्रक्रियागत रूपमा व्यवस्थापन गर्ने छ ।

यसरी व्यवस्थित रूपमा नियुक्त मानव स्रोतहरूलाई रोजगारीको ग्यारेन्टी भएपछि बिचमा छाड्ने प्रवृत्ति रहने छैन् जुन अरू वि. वि. हरूमा समस्याको रूपमा रहेको छ । वि. वि. पूर्णरूपमा प्रदेशको स्वामित्वमा संचालन हुने हुँदा आर्थिक अभाव नहोला र यसलाई पूर्ण स्वायत्त बनाएर स्थानिय रूपमा रहेका प्रविधि, ज्ञान, सीप, रिति रिवाज सबैलाई समेटिने पाठ्यवस्तु समावेश गरि यस प्रदेशको विकाशका लागि आवश्यक सामाजिक र व्यवहारीक जनशक्ति उत्पादन गर्न सकिन्छ ।

यस प्रदेशका बाह्रवटा जिल्लामा कक्षा ११ र १२ अध्ययन अध्यापन हुने विद्यालयहरूमा सामुदायिक ४९४ र संस्थागत १५० गरि जम्मा ६४४ वटा छन् भने विद्यार्थी संख्या सामुदायिक तर्फ ६०,२८२ र संस्थागत तर्फ १५,१३० गरि जम्मा ७५,४१२ रहेका छन् । जुन जिल्लामा वि. वि. स्थापना हुँदैछ त्यस जिल्लामा कक्षा ११ र १२ अध्यापन हुने ३० वटा विद्यालय छन भने प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालय १६ वटा छन् । बाह्रवटै जिल्लामा प्राविधिक शिक्षालय चलेका हुनाले त्यहाँबाट उत्पादित विद्यार्थी समेत स्नातक अध्ययनका लागि योग्य हुने हुँदा करिब करिब एक लाख विद्यार्थी यसै प्रदेशका छन् ।

बाँके जिल्ला साविकको मध्येपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलको शैक्षिक केन्द्रको रूपमा रहेको जिल्ला हो । त्यसकारण यस जिल्लामा हालको कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशबाट पनि यथेष्ट विद्यार्थी अध्ययन गर्न आउने गरेको बाट समेत यो पुष्टि हुन्छ कि यहाँ स्थापित वि. वि. ले युग सापेक्ष, रोजगारमुलक शिक्षा प्रदान गरेको खण्डमा विद्यार्थीको कमि महसुस गर्नु नपर्ने देखिन्छ । त्यति मात्र नभइ प्रदेशमा आवश्यक जनशक्तिमा यस वि. वि. बाट उत्पादित जनशक्तिलाई प्रथमिकता दिइ प्रदेश संरक्षणको अवधारणा यस प्रदेशले लागू गरेमा अरू प्रदेशलाई समेत मार्ग दर्शन प्रदान हुनेछ । यस अवधारणाले प्रदेश र वि. वि. प्रति जनविश्वास समेत आर्जन हुनेछ ।

नेपालमा सबैजसो वि. वि. स्थापना गर्दा कालिपारे प्रथा अवलम्वन गरिएको पाइन्छ जसको फलस्वरूप वि. वि. सहि रूपमा अगाडि बढ्न सकेका छैनन् । सबै जसो वि. वि. नेतृत्वकर्ताका मातृ वि. वि. का छायाँमा नै विलिन भएका छन् । त्यसैले यस प्रथामा क्रमभंगताको आवश्यकता समेत छ । जसले पुरानो मनोविज्ञान समेत हट्ने छ ।

नयाँ परिवेशमा काम गर्न र जनविश्वास प्राप्त गर्न गाह्रो हुन्छ । त्यसकारण त्यहिका जनतासँग भिज्दै र समाजसँग एकाकार हुँदै अगाडि बढेमा वि. वि. यस प्रदेशकै गौरब तथा बाँके र वर्दियाको शानको रूपमा स्थापित हुने छ भने यसले राजनितिक व्यक्तित्वहरू लाई समेत दरिलो रूपमा जनमनमा स्थापित गराउने छ । यसैले प्रा. डा. मोतिलाल शर्माले भनेका छन् वि. वि. दूरगामी प्रभावि योजना हो । किनभने यसले सयौँ वर्ष पछि सम्म पनि अमिट छाप पारिरहेको हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया