फोनबाटै भएपनि सधैं जन्म दिनको शुभकामना दिने गरिरहेको एकजना मित्रलाई कामको चटारोले उसको जन्म दिन नै बिर्सेछु । यत्तिसम्म कि त्यही दिन भेट पनि भएको थियो उसँग । भेट हुँदा पनि यो दिमागले सम्झिन सकेनछ । फेसबुकतिर पनि हेर्ने फुर्सद भएन । भोलिपल्ट विहान फेसबुक हेर्दा थाहा पाएँ । अनि झट्टपट्ट फोन गरें । माफी माग्दै भनें, – हिजो भेट त भएको थियो । तिमीले पनि भनेनौ । कामको चटारोले गर्दा हिजो तिम्रो जन्म दिन हो भन्नेनै विर्सेछु । तिम्रो फेसबुकमा ‘अलि–अलि’ शुभकामना त हिजै आएको रहेछ । मैले त फेसबुक पनि हेर्न पाएँन हिजो । त्यसैले ढिलै भएपनि तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना ।’ मैले शुभकामना भन्न पनि नपाउदै उसले फोन काटिदियो । फेरि गरें । फेरि काटिदियो । पछि मैले आफ्नै विषयमा सोच्न थालें । उप्रति मैले गरेका कमी कमजोरी केलाउन थालें । मैले शुभकामना समयमै नदिएकोले भन्दा पनि मैले शुभकामना दिने क्रममा पृष्ठभूमि बाँध्दा प्रयोग गरेको ‘अलि–अलि’ शब्दले उसलाई पर्नु पीर परेछ । पछि मैले महसुस गरें । त्यो शब्द जिब्रोबाट कसरी निस्क्यो,थाहै भएन । त्यसरी भन्ने आशय पनि रत्तिभर थिएन मेरो । तथापि त्यस्तै भयो । सरी त भनें । तर त्यो दिनको मेरो बोलीले वर्षाैंदेखि अनन्य मित्रको रुपमा मेरो दिलमा स्थापित मेरो मित्रले मलाई त्यही शब्दको कारणले अभिमानी भनेर चिन्यो मलाई । सोच त्यस्तो नहुँदा पनि जिब्रो व्यवस्थापनमा भएको कमजोरीले बनायो त्यस्तै ।

त्यसैले भन्ने पनि गरिन्छ, मान्छेको जिब्रोमा हड्डी हुदैन तर यसले हड्डी भाँच्ने काम गर्दछ । बेहोसीमा बोलेपछि अर्थात बोल्दा होस पु¥याउन नसकेपछि मलाई जस्तै पछुतो र पीडा हुन्छ अरुलाई पनि । साथीले ‘तिमीले मलाई होच्याएर बोल्यौ । त्यही भएर कुरा गर्न मन लागेन’ भन्यो । त्यो पनि केही दिन पछि । हामी फेरि सामान्य त भयौं । तर त्यो हड्डी नभएको जिब्रोले पारेको चोट र त्यसकै कारणले मनभित्र परेको घाउ पूरै रुपमा अर्थात कहिले पनि त्यो पीडा नसम्झिने गरी विर्सन सकिन्छ भन्ने मामलामा भने मलाई पनि शंका लागि रहेको छ । किनभने जिब्रोबाट निस्कने यस्ता शब्दहरुले कहाँसम्म र कहिलेसम्म मान्छेको मन भाँच्ने काम गर्छन त्यो एकिन गर्न गाह्रो छ मान्छेलाई । कसैको जिब्रोबाट निस्केको बोलीको कारणले कतिपय मानिसहरुले आफू जन्मेको घर अनि गाउँ त्यागेर फेरि कहिल्यै त्यो घर र त्यो गाउँमा नफर्किएका घटनाहरु पनि समाजमा पाइन्छन् । कतिपयले हत्या र आत्महत्याको बाटो अपनाएर बाँकी जीवन नै धूलोमा मिसाइदिएका वियोगान्त घटनाहरु पनि समाजमा भेटिन्छन् ।

एकदिन मलाई एकजना मित्रले भनेका थिए कि उनको टोलमा एउटा घरका पतीपत्नी झगडा गरेपछि अठ्तीस वर्षसम्म बोलेनन् । सँगै पनि बसेनन् । पति एउटा छोरासँग बसे भने पत्नी अर्को छोरासँग बसिन् । केही समय अघि पतिको देहान्त हुँदा पनि पत्नी भेट्न गइनन् । साँच्चि कति भाँचियो होला मन । अठ्तीस वर्ष सम्म पनि जोडिन नसक्ने ! साँच्ची कति गहिरो भयो होला त्यो बोलीले लागेको घाउ ! बोल्ने मान्छे मरेर जाँदा पनि रीस र द्वेष मर्न नसक्ने ! त्यसैले पनि भाँच्चिएको हड्डी बरु अस्पतालमा गएपछि जोडिदो रहेछ तर भाँचिएको मन भाँचिएको हड्डी जोड्न जस्तो त्यत्ति सजिलो नहुदो रहेछ । त्यसमा पनि मेरो मित्रले मलाई लगाएको आरोप जस्तै दुईटै अभिमानी परे भने त नजोडिने कुरा निश्चित जस्तै हुँदोरहेछ । दुवै पक्ष त्यस्तै अभिमानी भएर होला, पतिपत्नी भएर पनि अठ्तीस बर्षसम्म बोलचाल बन्द र मृत्युको मुखमा पर्ने बेलासम्म पनि बोलीले निकास नपाएको अवस्था । यो भन्दा त बरु दुवै आफ्नो आफ्नो बाटो लागेको भए यो भन्दा धेरै जाती हुन्थ्यो होला ।

मानिसले के बोल्यो भन्ने कुराले मात्र होइन कि कसरी बोल्यो भन्ने कुराले पनि असर पार्ने गर्दछ । यस बारेमा एउटा किम्बदन्ती पनि छ । एकपटक काग विरक्त भएछ । यसकारण कि उसलाई कसैले पनि मन पराउदा रहेनछन् । जसको घरआँगनमा गएर कराए पनि छिंछिं भनेर गाली गर्दै लखेट्दा रहेछन् । त्यही विरक्तिको कारणले कागले आफू बस्ने गरेको गाउँटोल र बस्ती छोडेर अन्यत्रै बसाइसराइ गरी जान थालेछ । बसाइसराइ गरी जाने क्रममा बाटोमा कोइलीसँग उसको भेट भएछ । कोइलीले कागलाई कहाँ जान लागेको भनेर सोधेपछि उसले सबै कुराहरु नलुकाएर हुबहु खोलेछ । जवाफमा कोइलीले भनेछ – ‘गाउबस्तीले तिमीलाई होइन कि तिम्रो बोलीलाई मन नपराएर छिंछि भनेर गाली गरेको हो । मपनि त्यही बस्तीमा बस्तु तर मलाई गाउवस्तीले कहिले छिंछिं र दूरदूर गर्दैन । त्यसैले तिमीले आफ्नो बोलीलाई सुधारेनौ भने तिमी जहाँ गए पनि तिमीलाई मानिसले गर्ने व्यवहार त्यस्तै हो । त्यसैले तिमीले आफनो बोलीको व्यवस्थापन गर न कि बसाइसराइको व्यवस्थापन ।’

महापुरुषहरु भन्ने गर्दछन् मानिसहरु विग्रने र सप्रिने भनेकै बात र स्वादको कारणले हो । यी दुइटै विषय प्रत्यक्ष रुपमा जिब्रोसँग जोडिएका विषय हुन् । प्रथमतः मानिसले को सँग के बोल्ने र कसरी बोल्ने भन्ने कुराले मानिस कस्तो हो भन्ने कुरा सहज रुपमा पहिचान गर्न सकिन्छ । धेरै मानिसहरु पहिले बोल्ने र पछि तौलने गर्दछन् । मित्र कमाउने सवालमा यो उल्टो विधि रहेछ । यो विधिबाट बोल्ने मानिसहरुले मित्र होइन कि दुष्मन कमाउदा रहेछन् । मित्र कमाउनका लागि शत्रु कमाउने विधिलाई उल्टो पारेर पहिले तौलने अनि बोल्ने गर्नुपर्ने रहेछ । बोल्नु पूर्व कति बेला के बोल्ने र कसरी बोल्ने भन्ने सवालमा राम्रोसँग तौलेर, बिचार गरेर बोल्ने बानी भएका मानिसहरुले अरुको दिल दुखाउदैनन् बरु खुसी बनाएर सधैभरि त्यही दिलमा बस्ने गर्दछन् । दिलमा बसेवापत भाडा समेत तिर्नु पर्दैन । बरु उल्टै जीवनमा सहयोग र सद्भाव पाउछन् मानिसहरुबाट । सोचविचार गरेर बोल्ने मानिसहरुले अरुलाई त खुसी बनाउछन् नै आफूले समेत कहिले दुखी हुनु पर्दैन । किनभने पछुतोभावले पिरालिने गरी कहिल्यै पनि बोल्दैनन् उनीहरु ।

बोल्ने क्रममा बोल्ने विषय एउटै भए पनि कागले जस्तै गरी बोल्ने वा कोइलीले जस्तै गरी बोल्ने भन्ने कुराले पनि अहम् भूमिका निर्वाह गर्ने गर्दछ । यदि कोइलीले जस्तै गरी बोलेर सवैको नजरमा असल व्यक्तित्वको रुपमा आफ्नो पहिचान बनाउने हो भने बोल्ने क्रममा तीनवटा कुराहरुको ख्याल गर्नुपर्दछ – सकेसम्म विस्तारै बोल्ने, सकेसम्म मीठो बोल्ने र सकेसम्म थोरै बोल्ने । राम्रो कुरा पनि कुनै व्यक्तिलेछिटोछिटो बोल्यो भने सुन्ने मानिसलाई त्यसैपनि झर्को लाग्ने हुन्छ । बोलेको कुरा पनि नबुझिने हुन्छ । त्यसैले विस्तारै बोल्ने बानी राम्रो हो । अर्को कुरा मीठो बोल्न प्रयास गर्ने । मीठो बोल्ने क्रममा सकेसम्म मुस्कुराउदै नजरमा नजर जुधाएर बोल्यो भने राम्रो र मीठो मानिन्छ । त्यसरी नै अर्को महत्वपूर्ण कुरा भनेको थोरै बोल्ने हो । बोल्दा कतिपयको बानी सकेसम्म अरुलाई बोल्न नदिने र अरुको बोल्ने समयको समेत ख्याल नगरेर उनीहरुको लागि छुट्याइएको समयमा समेत आफै बोल्ने ग¥यो भने मानिसहरु उसले जति मीठा कुरा गरेपनि त्यत्तिकै झर्को र दिक्क मान्ने भइसकेका हुन्छन् ।

मैले माथि उल्लेख गरे झै जिब्रो व्यवस्थापनको अर्को पाटो हो स्वाद । सामान्यतया व्यक्ति स्वस्थ हुनका लागि छ वटा स्वादहरुको सन्तुलन मिलाएर खाना खाने गर्नुपर्दछ भनिन्छ। ती छ वटा स्वादहरु भनेका गुलियो, अमिलो, पीरो, तितो, टर्रो र नूनिलो हुन् । हामीले हाम्रो खानामा यिनीहरुको सन्तुलन नमिलाएर जिब्रोले जे माग्यो त्यतैतिर लाग्यौं भने हाम्रो खाना खाना नभइ विष हुने गर्दछन् । हामी अर्गानिक र पौष्टिक खाना खान छोडेर स्वादको निम्ति जङ्क फुडतिर आकर्षित हुन थाल्छौं । यसले गर्दा हामीले हाम्रो जिब्रोलाई मालिक बनाएर क्रमशःआफू रोगी हुन थाल्छौं । यसको विपरित मानिस जिब्रोको दास नभएर जिब्रोको मालिक हुन सक्यो भने मानिसले हरेक दिन खाना मात्र होइन कि खानाका साथ अमृत सेवन गर्दछ । उसको भोजनालय उसको निम्ति औषधालय जस्तो हुने गर्दछ । उसले अस्पतालमा गएर जीन्दगीभर कमाएको पैसा बुझाएर फर्कनु पनि पर्दैन । यो सबै कुराको प्राप्तिका लागि जिब्रोको व्यवस्थापन जरुरी छ ।

एकपटक आयोजकले विहेपार्टीमा आएका मानिसहरुलाई नियालेर भनेछ, ‘आउनु पर्ने मानिस त आएकै रहेनछन् ।’ हामी नआउनु पर्ने मानिस रहेछौं भन्ने सोचेर आएकामध्ये कतिपय फर्किएछन्् । आयोजकले फेरि भनेछ, ‘नजानु पर्ने मानिसहरु गएछन् ।’ त्यसपछि जानु पर्ने त हामी पो रहेछौं भन्ने अनुमान गरी भएका जति सबै हिडेछन् । यसरी जिब्रोको व्यवस्थापनगर्न नसक्दा आयोजकको बिहेपार्टी अतिथिविहीन भएछ । जिब्रो व्यवस्थापन भनेको आफ्नो व्यवस्थापन हो । जो मानिस इन्द्रीय वा जिब्रोको बसमा परेर सही किसिमले आत्म व्यवस्थापन गर्न सक्दैन त्यो मानिस संसारभर खुसी खोज्दाखोज्दै अन्ततः जीन्दगीमा मध्यरात परिसकेपछि घर फर्किन्छ र आफूतिर फर्केर हेर्छ । पछुतोभावले पिरोल्छ उसलाई । त्यत्तिबेला धेरै अवेर भइसकेको हुन्छ । आफन्तहरु आफ्नो जीवनबाट बिहेपार्टीबाट अतिथि भागेझै भागिसकेका हुन्छन् । त्यसैले के बोल्ने, कसरी बोल्ने ? के खाने र कसरी खाने ? अर्थात जिब्रोको व्यवस्थापन कसरी गर्ने ? आदि बारेमा मात्रै मानिस सफल हुन सक्यो भने अरु व्यवस्थापनतिर पनि सफल हुने सङ्केतहरु देखिन थाल्छन् । सबैलाई चेतना भया !

प्रतिक्रिया

प्रतिक्रिया