आजभोली पर्यटनको बिट फराकिलो हुदै गएको छ । पर्यटकहरु प्रकृति र सस्कृतिसगं मात्र होइन इतिहासको खोज अनुसन्धान गर्न समेत रुचाउछन् । दाङ जिल्लामा खोज अनुसन्धान गर्न आउने पर्यटकहरुका लागि गोरक्ष पात्रदेव सिद्धरत्ननाथ मन्दिर मठ पुग्नै पर्ने हुन्छ । किनकी दाङको इतिहास १४ औँ र १५ आँै शताब्दीभन्दा पुरानो भेटिएको छैन । दाङको इतिहासमा दङगीशरण, चल्लवंशीय राजा र सिद्धरत्ननाथ मठनै इतिहास हो । दाङको इतिहास खोज्न र खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरु यी सम्पदामा पुग्नै पर्ने हुन्छ ।
घोराही उपमहानगरपालिका वडा १७ चौघेरा घोराही–लमही सडकखण्ड नजिक रहेको गोरक्ष पात्रदेव सिद्धरत्ननाथ मठ नाथ सम्प्रदायको प्राचिन मन्दिर हो । गोरखनाथ सम्प्रदायका सन्न्यासीहरु नाथ योगी मानिन्छन । नाथ सम्प्रदायमा गोरखनाथ वा मत्स्येन्द्रनाथलाई मात्र सर्वोच्च मुक्तिको श्रोत मान्ने साधुहरुको संप्रदायमा प्रचलन रहेको छ । यस सम्प्रदायको बारेमा जान्नको लागि पर्यटकहरुले नाथ, नवनाथ, चौरासी सिद्ध र बाह्र पन्थीका बारेमा जान्न आवश्यक हुुन्छ । नाथ शब्दले दिने अर्थ अनेक छन् । नेपालमा नवनाथलाई विशेष महत्व दिइएको पाइन्छ । ती नवनाथहरु आदिनाथ (मूलनाथ) भगवान शिव, उदयनाथ माता पार्वती, सत्यनाथ श्री ब्रह्मा, सन्तोषनाथ श्री विष्णु, अचल अचम्मनाथ वायु, गजवेली गजकन्थनाथ श्री गणेश, चौरागीनाथ चन्द्रमा, मत्स्येन्द्रनाथ र गोरखनाथ पर्दछन् । मत्स्येन्द्रनाथ र गोरखनाथलाई नाथ परम्परामा शक्ति र सिद्धि दुवै रुपमा लिइएको पाइन्छ । नवनाथ परम्परामा योगीलाई नाथका रुपमा लिइछ । यिनीहरुको सास्कृतिक पक्षमा शरिरमा भष्मलेप गर्ने, खराउ लगाउने, कान चिर्ने (कन्फटा) विभिन्न शक्ति स्वरुपका कुण्डल धारण गर्ने, त्रिशुल, डमरु आदि लिने सर्पको माला र रुद्राक्षको माला धारण गर्ने, जटाधारी हुने नाथ सप्रदायमा पाइन्छ । नाथ परम्परामा गुरुबाट विशेष पूजाका साथमा सावर मन्त्र धारण गरेपछि मात्र शिष्य बनाइने प्रचलन छ ।
सिद्ध रत्ननाथको मन्दिर सिगो दाङको इतिहाँस संग जोडिएको छ । अर्को तर्फ रत्ननाथको मन्दिर योग कला र आध्यात्मिक चिन्तनको केन्द्र पनि हो । सिद्ध रत्ननाथको मन्दिर आज भन्दा १२६९ बर्ष अगाडी अर्थात वि.सं.८०९ सालमा राजा रत्ननाथद्वारा स्थापना भएको हो । गोरक्ष पात्रदेवता सिद्धनाथ मठ नेपालकै प्राचिन, ऐतिहासिक र पुरातात्विक महत्व छ । सिद्ध रत्ननाथ मठको ऐतिहासिक परम्परा स्थापना काल देखि आजसम्म चलिआएको छ । मठको साँस्कृतिक धार्मिक योगिक धरोहरले वैदिक सनातन धर्मलाई संरक्षण गर्दै आएको छ । नेपालका धेरै मठ मन्दिरहरु हिन्दू धर्मका लागि मात्रै खुला भए पनि सिद्ध रत्ननाथ मठ सबै धर्मका लागि खुला छ । गोरक्षनाथलाई हिन्दू, मुश्लिम र यहुदिहरुले पनि मान्ने गरेका छन । सिद्ध रत्ननाथ मठ हठ योग साधनको केन्द्र हो । गोरक्ष भनेकै इन्द्रीयको रक्षा हो र त्यो योगबाट मात्रै संभव हुन्छ । यीनै कुराले पर्यटकहरु गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठको अध्यन अवलोकन गर्न रुचाउछन् । सिद्ध रत्ननाथ मठ सनातन धर्म र संस्कृतिको निरन्तरताको बोध गराउने एउटा जीवन्त संस्था हो । मठको अवलोकन गर्ने पर्यटकहरुका लागि सिद्ध रत्ननाथको ऐतिहासिक, सिद्ध रत्ननाथको परम्परागत पूजापद्धति, ऐतिहासिक पीर स्थापना मेला र भारतको देवी पाटन यात्रालाई रुचि पुर्वक अध्यन गर्दछन् ।
सिद्ध रत्ननाथ मठ भित्र प्रवेश गर्ना साथ पर्यटकहरु मठको वातावरणले एकैछिन भने पनि सुख र शान्तीको अनुभव गर्दछन् । मठ परिशरमा रुख वृक्ष र बरवृक्षका लहराहरु ऋतु अनुसारका फलफूलहरुले पर्यटकहरु रमाउछन् । प्रवेशद्वारबाट भित्र जाना साथ कलात्मक दलिचा मन्दिर पर्यटकहरुले देख्दछन् । दलिचा मन्दिरबाटनै मठको सबै धार्मिक कार्यहरु सम्पन्न गरिन्छ । मन्दिर परिसरमा पाटेश्वरी मन्दिर, धुनी मन्दिर, गोरक्षनाथ मन्दिर, रत्नेश्वर महादेव, वैजनाथ, कालभैरवथान, यज्ञमण्डव, धर्मशाला, चित्रकलाकक्ष र गौशाला रहेका छन । प्रत्येक वर्ष पीर स्थापना मेला मठका मुख्य मठाधीस पीरको चयन दलिचा मन्दिरबाटनै हुने गर्दछ । कलात्मक दलिचा मन्दिरमा फोटो खिच्ने पर्यटकको पनि कमि हुदैन । पर्यटकहरुलाई ऐतिहासिक कुवा, गौलची वृक्ष, सिद्ध बैजनाथलिको समाधिस्थल, योगी नरहरी नाथद्धारा लगाइएको कोटिहोम स्थल, गोरखनाथ वैदिक गुरुकुल र गोरक्षनाथ पुस्तकालय आदि अवलोकनले थप अध्यन गराउछ । गोरक्ष पात्रदेव सिद्धरत्ननाथ मठमा प्रत्येक दिन दिउँसो ३ बजेदेखि विहान सवा ३ बजेसम्म वैदिक र तान्त्रिक बिधिद्वारा पूजा आजा हुने गर्दछ ।
गोरक्षनाथ पुस्तकालयमा योगी नरहरिनाथले संकलन गरेका ऐतिहासिक पुस्तक, उहाकै अप्रकाशित हस्तलिखित दस्तावेजहरु पनि छन् । गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठको बारेमा पर्यटकहरुले पुस्तकालयमा ऐतिहासिक, पुरातात्वीक, धार्मिक लगायत अति नै महत्वपूर्ण पुस्तकहरु पढन पनि सक्दछन् । अर्को तर्फ मठमा चित्रकार प्रभातनाथ योगीले विभिन्न धार्मिक ग्रन्थमा उल्लेखित घटनालाई चित्रका माध्यमबाट व्याख्या गरेका चित्रहरु पनि पर्यटकहरुका लागि थप अध्यनका बिषय बन्दछ । चित्रकार योगीले नेपालको हिमाल र प्राकृतिक सौन्दर्यको चित्र मात्र होइन नेपालको राजनीतिक इतिहासमा शासन गर्ने राजाहरुको चित्रहरु पनि पर्यटकहरुले देख्न सक्दछन । पर्यटकहरुले सिद्ध रत्ननाथ मठमा राखिएको शब्द चित्र देखि मन्दिर, देविदेवताका कलात्मक चित्रहरु रुचि पूर्वक अध्यन अवलोकन गर्दछन् ।
इतिहासको कालखण्डमा दाङको उत्तरी क्षेत्र पहाडी राजाहरुको अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो । चौधौँ शताब्दीको अन्तीम तिर दाङ जुम्लाको अधिनमा थियो । वि.सं.१४८० तिर सवारी कोटका राजा रतनपाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भएको इतिहास छ । अहिलेको चौघेरा क्षेत्र त्यति बेला घना जंगल थियो । राजा रत्न परिक्षित जंगलमा शिकार खेल्दा बँदेललाई बाण हाने । घाइते बँदेल भाग्यो । घाइते बँदेललाई खोज्ने क्रममा गोरखनाथ बाबा सगं रत्न परिक्षितको भेट भयो । शिकार खेल्दा बँदेललाई बाण हानेको कुरा गोरखनाथ बाबाले थाहा पाएपछि उनलाई सम्झाउन थाले । तर राजा रत्न परिक्षितले शिकार गर्ने र जनावरको मासु खाने छुट धर्मले दिएको धारणा राखे । गोरखनाथले फेरी सम्झाउन थाले–कुनै पनि राजा मानिस मात्र होइन सबै जीवजन्तुको पालक र संरक्षक बन्न सक्नुपर्दछ । शिकार गर्ने हो भने भए छाती, खुट्टा, मुख, पखेटा, र रगतमासु नभएको जनावरको शिकार गर । अर्थात काम, क्रोध, लोभ, मोह र अहंकार यी पाँच चिजको राजाले शिकार गर्न सक्नु पर्दछ । गोरखनाथको यस्तो कुरा सुन्दा रत्न परिक्षित सोच्न थाले र रत्ननाथ योगी बने ।
राजा माणिक्य परीक्षकका सुपुत्र रत्न परीक्षकले गोरक्षनाथको दर्शन र हंश बोधिनी गोरक्ष गायत्रीको दीक्षा पाई चेलाको रुपमा स्वीकार गरी गोरक्षनाथबाट अमृत पात्र प्राप्त गर्नु भयो । गोरक्षनाथबाट प्राप्त अमृत पात्र देवता साथमा लिएर विभिन्न देशमा योग धर्म प्रचारका उद्देश्यले भ्रमण गर्नु भयो । भ्रमणका क्रममा नेपाल भ्रमण गर्दे सिद्ध रत्ननाथले एशिया महाद्वीपका अफगानिस्तानको काबुल, कन्धार, पाकिस्तान, ख्रसान भारतको भ्रमण गर्दै पुनः भारतको तुलसीपुरस्थित देवी पाटनमा आई देवीको पूजा आराधना गरी सिद्धि प्राप्त गर्नु भयो । सिद्धि पुर्ण भएपछि चौघेरामा मठ स्थापना गरी गोरखनाथले दिएको अमृत पात्र (भाँडो) लाई गोरक्ष पात्र देवता मानी पूजा पद्धतिको आरम्भ गर्नु भयो । चौघेराको मठमा गोरखनाथले रत्ननाथलाई दिएको त्यही पात्रको नित्यपूजा हुँदै आएको छ । तर त्यो पात्र के कस्तो छ भन्नेबारे कसैलाई थाहा छैन ।
गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको परिसरमा कुवा रहेको छ । कुवा कहिले निर्माण गरिएको हो कुनै अभिलेख नभए पनि मठसँगै कुवा निर्माण गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । ऐतिहासिक इनार अर्थात पानी खाने कुवाको बनौट, फैलाबट र गहिराइ दाङमा अन्य कतै देख्न सकिन्न । कुवाले धेरै पपर्यटकहरुलाई आकर्षण मात्र होइन सिद्धरत्ननाथ मठमा पुग्ने पर्यटक, शैक्षिक भ्रमणका विद्यार्थीहरु कुवा देख्दा आश्चर्य मान्दछन् । ठूलो आकारको कुवा त्यहा प्रयोग भएका ईटा र सुर्कीले पनि कुवा ऐतिहासिकहो भन्ने कुरामा सबै एकमत हुन्छन् । सिद्धरत्ननाथ मठमा फागुन कृष्ण विजया एकादशिका दिन ठूलो समारोह बिच पीर स्थापना पीर फेर्ने अर्थात नयाँ पीरको ब्यवस्था गर्ने गरिन्छ । यसै दिनलाई पीरफेर्ने अर्थात फिरफिरे मेला पनि भनिन्छ । यो बाहेक बिजया दशमी, दीपावली, माघे सक्रान्तीमा मठमा बिशेष पुजा हुन्छ । त्यसैगरी हरिशयनी एकादशी, हरिवोधिनी एकादशी, शिवरात्री, घटस्थापना, महासप्तमीमा नाथ सम्प्रदायका बालकहरुको उपदेश कर्म र मृत ब्यक्तिप्रति चिरशान्तीको लागि शंखढाल अर्थात तर्पण गर्ने प्रचलन छ ।
सिद्ध रत्ननाथ मठ दखि करिव १२ किलोमिटर उत्तरमा सवारीकोट र जसपुर डाडा रहेको छ । सवारीकोट गर्मीको समयमा राजा रत्ननाथले आफ्नो राजकाज चलाउने स्थल हो । प्राचीन राजनीतिक इतिहाससमेत बोकेको सवारीकोट दाङको थारु राज्यहरुमाथि आक्रमण गरी सवारीकोटे राजा रत्नपरीक्षकले आफ्नो राज्यमा मिलाएको इतिहास छ । बाहिरी जिल्लाबाट आउने पर्यटकहरु ऐतिहासिक सवारीकोट र जसपुरडाडा पुग्ना साथ रमाउछन् । जसपुर डाडाको खुला चौरबाट दाङ उपत्यका र मनमोहक पहाडी बस्ती पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । सिद्ध रत्ननाथ मठको अध्यन अवलोकन पछि पर्यटकहरु स्वच्छ हावापानी, भौगोलिक दृश्यावलोकनका लागि सवारीकोट पुग्ने गर्दछन । सवारीकोट जादा जसपुर डाडामा पनि पुग्न सकिन्छ । जसपुर डाडामा देवीको मन्दिर र दलित जातीको कुलायन पुज्ने मन्दिर पनि रहेको छ । सवारीकोट र जसपुरडाडा जानको लागि घोराही ट्राफिक चोकबाट करीब ४५ मिनेटमा मोटरमा पुग्न सकिन्छ ।
गोरक्ष पात्रदेवता सिद्धरत्ननाथको प्रत्येक बर्ष भारतको देवीपाटन धार्मिक पदयात्रा हुने गर्दछ । ऐतिहासिक परम्परा अनुसार सिद्ध रत्ननाथले सुरु गरेको पात्रदेवताको भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला तुलसीपुरमा रहेको देवीपाटन मन्दिर सम्मको धार्मिक यात्रा हाल सम्म चलिआएको छ । प्रत्येक वर्षको चैत नवरात्रमा सिद्ध रत्ननाथ पात्र देवको यात्रा हुने गर्दछ । यो यात्रा सडक यातायात नहुदाको बखत देउखुरीको देउपुरमा दलिचा मन्दिरमा पन्ध्र दिन, देउपुरबाट कोइलाबास हुँदै भारतीय भूमी बालापुर गाउँमा दोस्रो बसाइ र तेस्रो बसाई देवी पाटन मन्दिरमा पुग्न धेरै दिनको यात्रा हुने थियो । तर आजभोली यातायातको सुबिधाले गर्दा एकै दिनमा देवी पाटन पुग्ने गरिन्छ । पाँच दिनसम्म देवीपाटनको मन्दिरमा सिद्ध रत्ननाथबाट गएका पुजारीहरुले पूजा गर्ने परम्परा छ । सिद्ध रत्ननाथको पात्र देवता सहितको यात्राले नेपाल र भारतबीच सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्धलाई कायम राखेको छ ।
सिद्ध रत्ननाथको मठको दाङमा रहेको १ हजार २५० बिघा जमिन राजनितीदलहरुको दिघ्रकालिन सोच बन्न नसक्दा धेरै जमिन रैकरमा परिणत भै सकेको छ । घोराही नारायणपुर जलौरा, दक्षिण अम्राई, उत्तर अम्राई, दुबीचौर, देउखुरीको लमही र रतनपुरमा समेत रत्ननाथको मठको जमिन थियो । अहिले मन्दिरसंग दुई सय पचास बिगाहा मात्र जमिन रहेको छ । बढदो शहरीकरण र भूमिको उच्च मूल्य बृद्धिका कारण आजभोली पनि बाकी रहेको जमिन अतिक्रमण हुने क्रम रोकिएको छैन । अहिले सिद्ध रत्ननाथ मठको एकिकृत विकासका लागि गुरुयोजना निर्माण हुन लागेको छ । गुरुयोजनामा रत्ननाथ मठमा पर्यटनको बिकासको लागि पूर्वाधार विस्तार गर्ने योजना हुनु पर्दछ । पर्यटन जति भन्न सजिलो छ, त्यसको बिकास गर्न गारो छ । पर्यटकियस्थल भन्ना साथ पर्यटकहरु आउने होइन । आउने पर्यटकहरुलाई दिने बस्तु पनि हुनु पर्दछ । त्यसको लागि स्थानिय तवरमा उत्पादन बढाउनु पर्दछ । पर्यटनको क्षेत्रमा यस्तो भनाइ छ ! जुन ठाउमा पर्यटक पुग्दछ र उसले केहि न केहि खर्च गर्दछ भने त्यो पर्यटक हो । अन्यथा उ केवल अवलोकन कर्ता मात्र मानिन्छ । त्यसैले पर्यटनको बिकास गर्न खर्च गर्ने ठाउ पनि हुन पर्दछ ।
अब रत्ननाथ मठ परिशर भित्र पार्क, मठसंग भएका ऐतिहासिक कुराहरुको सग्रहालय निर्माण गर्नु पर्दछ । सग्रहालय पर्यटकहरुका लागि खुल्ला विश्व विद्यालय मानिन्छ । खोज अनुसन्धान गर्ने पर्यटकहरुलाई सग्रहालय महत्वपुर्ण मानिन्छ । अर्को कुरा पर्यटनमा जति प्रचार प्रसार भयो पर्यटकहरुको सख्या बढने हो । सिद्ध रत्ननाथ मठको हुन पर्ने प्रचार भएको छैन । नाथ संप्रदायको नाममा भारतमा मात्र कयौ शहरका नाम छन् । ती शहरमा गोरक्ष पात्र देवता सिद्ध रत्ननाथको प्रचार प्रसार मात्र हुने हो भने भारतिय तीर्थाटनका पर्यटकहरुको उल्लेखनिय सख्यामा बृद्धि हुन्छ । पर्यटकहरुले आफु पुगेको स्थानबाट केहि चिनो स्वरुप बस्तु किन्न खोज्दछन् । चौघेरा मठ वरपर अब सिद्ध रत्ननाथ संग जोडिएका जस्तै खराउ, धनुवाण, रुद्राक्ष लायत यस्तै सामानहरु बिक्रीको लागि राख्नु पर्दछ ।