बाँकेकी साहित्यकार ऋचा लुईटेलले आफ्ना कदम अब राजनीति तर्फ पनि अगाडि बढाएकी छन् । उनले बाँके काँग्रेसको जिल्ला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । साहित्यदेखि राजनीतिक तर्फ उनको यात्राका बारेमा दैनिक नेपालगन्जले गरेको कुराकानी संक्षेपमा ।

तपाईंको परिचय ?
बाँकेका लागि म नयाँ लाग्न सक्छु किनकी कैलालीमा हुर्किए खजुरा गाउँपालिकामा बिबाह भयो । विगत १२ बर्ष देखि नेपालगन्ज उप–महानगरपालिका वार्ड न १८ मा स्थायी बासिन्दा भएकी छु । कैलाली, खजुरा र नेपालगन्ज गरि तीन ठाउँमा मेरो योगदान पनि बाँढिएको छ ।
साहित्य सिर्जना गर्छु, सामाजिक परिवर्तनका लागि लेख लेख्छु, पेशाले अस्पतालको प्रशासन सम्हाल्छु । एक जिम्मेवार आमा र गतिशील महिला हुँ ।

१) तपाईं अनि दलीय राजनीतिमा ? किन होला भन्ने जिज्ञासालाई साम्य पारिदिनुस न है !
खुबी नहुने तर आसन ओगट्नेहरुलाई झस्काउँदा मात्रै पनि केही बदलिएला की भनेर उभिएको हुँ । अरुलाई गलत भनेर होइन आफुले सहि काम गरेर मान्छेको अनुहारमा थोरै भए पनि मुस्कान जगाउन सकिन्छ लागेर राजनीतिमा होमिएकी हुँ ।
महिला भएका कारण फलानाकी छोरी, श्रीमान फलानो निकट भन्दा पनि मेरो क्षमताले पार्टी र जनतालाई लाभ मिल्छ भनेर राजनीतिमा आएकी हुँ ।

२) तपाईं आफै परिचित ब्यक्तित्व अनि, प्यानल चाहिँ किन आवश्यक पर्यो ?
राजनीति भनेको सामुहिक अभ्यास हो । जसका लागि कुनै न कुनै घरको ओत चाहिन्छ । एउटा प्यानलले मेरो आवश्यकता महसुस गरेर उम्मेद्बारी दिने अवसर दिएको हो ।
मैले उम्मेद्वारी दिने कुराले पार्टीका प्रायः सबै नेताहरु खुशी हुनुहुन्छ । दलको निर्वाचनमा नेताले भोट दिने भएकोले मेरो उपस्थितिलाई सबै क्षेत्रीय सदस्यले स्वीकार्नु हुनेछ र बिजयी गराउनु हुनेछ भन्ने कुरामा आशावादी छु ।

३) राजनीतिमा युवा सहभागिताको प्रश्न जोडले उठेपछि तपाईंको अग्रसरता हो कि ? महिला भनेर अवसर !
बाहिर बसेर राजनीतिलाई गाली गर्नुभन्दा राजनीतिमै लागेर स साना परिवर्तनका प्रयासहरु आफैले सुरु गर्नु उचित लाग्यो र म सक्रिय भएकी हुँ । म क्षमता प्रतिभा र काममा बिश्वास गर्छु महिला भएका कारण आज सम्म कुनै लाभको स्वाद लिएको अनुभव छैन ।

४) यहीँबाट अब राजनीतिमा सक्रियतामा लाग्नु भयो है ऋचाजी भन्ने सन्देश हो ?
सानैदेखि बुबाले नेपाली काङ्ग्रेसलाई माया गरेको देखेर हुर्किएकी हुँ । काङ्ग्रेस भएका कारण माओवादीमा जान नमानेका कारण गलत आरोप लगाएर २२ दिन जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनामा परेको तितो अनुभव छ । २०६२÷०६३ को जन आन्दोलनमा म सक्रिय भएर ब्यबस्था परिवर्तनका लागि समर्पित थिए ।
श्रीमान पनि नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समय सक्रिय ब्यक्ती । अघिल्लो स्थानीय चुनावमा पनि मेरो सक्रियता सबैलाई जानकारी भएकै कुरा हो । जे गरे आजसम्म अरुकै लागि गरे अब आफुलाई प्रमाणित गर्दै सामाजिक रुपान्तरणमा लाग्नुपर्ने आवश्कता महसुस गरेकी छु ।

५) राजनीतिमा महिलाको सहभागिता बारे तपाईंको धारणा ?
एकजना पुरुष घरबाट निस्किदा उ एक्लै निस्किन्छ । तर, महिला निस्किदा उसको सिङ्गो घर व्यवहार छोराछोरी को भविष्य सामाजिक जिम्मेवारी र दायित्व पनि संगै निस्किन्छ ।

क्षमतावान् महिलालाई गुटउपगुटका नाममा बाटो छेक्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने हो । योग्य महिलालाई जिम्मेवारी दिएपछि त्यसैअनुसार महिलाले आफूलाई उत्कृष्ट बनाउन मेहनत गर्नुपर्ने पनि हो तर त्यस्तो भएको पाइदैन । क्षमता हुनेसंग पद छैन पद हुनेसंग क्षमता हँुदैन ।

उपस्थिति मात्रै ठूलो कुरा होइन । पद दिने तर भूमिका शुन्य हुने धेरै महिला जनप्रतिनिधि हामीले अघिल्लो स्थानीय निर्वाचनबाट देख्यौ नि । अलिकति बुझेको महिला स्वयंको सहभागिता रहँदाखेरी उनीहरूको हक, हित, अधिकारका बारेमा उनीहरूले नै आवाज उठाउन सक्छन् । जसको सवाल उसैको सहभागिता भन्ने कुराको सुनिश्चितता हुन्छ । पुरूष प्रधान हाम्रो जस्तो मुलुकमा राजनीतिमा महिला सहभागिता बढ्यो भने पुरूषले गर्ने निर्णय महिलाले स्विकार्न अनिवार्य हुन्न । नीति नियम र कानुन बनाउने ठाउँमा महिलाको समान पहुँच रहन्छ र निर्णय गर्न पनि सक्छन् । जसले देश, समाज, प्रजातान्त्रिक र लैंगिक मैत्री बन्न सक्छ । महिलाले पनि स्वाभिमानता महसुस गर्न सक्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया