बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा आज निकै महत्वपूर्ण विषयमाथि चर्चा गरिनेछ । वैधानिकताका साथ आआफ्नो वंश अगाडि बढाउनका लागि हरेक जातजाति, धर्म र समुदायमा आआफ्नो रितिरिवाज र परम्परा अनुसार विवाह गर्ने गरिन्छ । आज हामी यसै विषयवस्तुमा केन्द्रीत रहेर उहिलेको सामाजिक परिवेश र अहिलेको सामाजिक परिवेश बीच फरक बारे चर्चा गर्नेछौं । यो चर्चा यस कारण गर्न आवश्यक छ ताकि सबैलाई यस बारेमा यथार्थ थाहा होस् । यसका साथै हामीले के कति कुरा हराइ सकेका छौं, के कस्ता कुरा आवश्यक छ । हाल ती सुधार गर्नु पर्ने कुराहरु के छन् । वैवाहिक समारोह जसले दुई परिवारलाई जोडेर एक बनाउन्छ त्यही वैवाहिक समारोहमा हामी किन र कसरी एक्लिदैंछौं । जुन टोल छिमेकमा बस्ने फरक फरक जाति धर्म समुदायका वृद्धवृद्धा युवा, महिला र बालबालिकाहरु एक साथ खुशियाली बनाउन्थे एक अर्काको काममा जिम्मेवारी निभाउन्थे । टोलमा बस्नेहरुको इज्जतलाई आफ्नो इज्जत ठान्दथे । आज ती कता हराए कहां बिलाए । यो कुनै जाति, धर्म र समुदाय विशेषलाई इंकित गरी लेखिएको छैन् । सम्पूर्ण समुदायलाई समेटेर समग्रमा विवेचना गरिएकोछ । यिनै कुराहरुलाई स्मरण गराइ पुनर्विचार गर्ने आशयले यो लेख लेखिएको हो ।

अहिलेको परिवेश
आजको आधुनिक समाजमा सबै कुरा बजाराधीन भइसकेकोछ । आजको यस बजाराधीन समाजमा छोराछोरीको विवाह पनि अनलाइन मेरिज व्यूरो कन्ट्याक मार्फत गरिन्छ । केटाकेटी दुबैको शर्त मिलेपछि दुबै परिवार बीच गोप्य भेटघाट हुन्छ । अनि शर्तहरु तय गरिन्छ शर्त तय भइसकेपछि विवाहको मिति तय हुन्छ । अनि विवाहमा दिनका लागि केटी पक्षले सबै सरसामान आफै किन्छन् । केटा पक्षले सबै सामान आफै किन्छन् । यदि दुबै परिवार बीच सहमति भयो भने विवाह हुने केटाकेटीलाई पनि सरसामान, गरगहना, लुगाकपडा र फर्निचर आदि किन्न संगै लगिन्छ ।

खानाका लागि होटेलमा केटरिंग बुकिंग हुन्छ । बस्नका लागि होटेलका रुम बुकिंग हुन्छ । होटेलले नै निकाहको लागि स्टेज र विवाहको लागि मण्डप बनाउँछ । मंगनी र तिलक, हल्दी, मेहन्दी, मेर्छुवा जस्ता फंशन पनि होटेलमा नै गरिन्छ । जसको सम्पूर्ण खर्च पनि परिवारले नै व्योहोर्नु पर्छ । विवाहको दिन बेहुला सैलूनबाट तयार भएर र बेहुली ब्यूटीपार्लरबाट तयार भएर सीधा स्टेजमा आउन्छन् । काली दुल्ही पनि आर्टफिशियल वाटरप्रूफ मेकअपले गोरी हिरोईनी जस्ती देखिएकी हुन्छिन् र कालो दुल्हा पनि त्यही आर्टफिशियल वाटरप्रूफ मेकअपले पूरै हिरो बनेर आउँदा हेर्नेहरुले चिन्नै नसक्ने गराइदिएको हुन्छ । सबले बेहुला र बेहुलीलाई हेर्याहेरै गर्छन् । मेहन्दी पनि त्यहीं लगाईन्छ ब्यूटीसियनद्वारा अनि तिनीहरुले मेकअप गर्न र मेहन्दी लगाउनका लागि हजारौं रुपैंया लिने गर्छन् ।

विवाह ठूलो होटेलमा हुने हुँदा भोजमा निम्तो पनि त्यही अनुसारका त्यही लेबलका व्यक्तिहरुलाई दिईन्छ जो सूटबूटमा सजेर आउन सक्ने धनीमानी हुन्छन् । गरीब नातादारहरु नजिकका परे पनि बोलाइदैंन् किनभने होटेलको हाईफाई लुक र स्टन्डर्ड अनुसार सजेर आउन सक्ने उनीहरुको हैसियत हुदैंन् । एकदमै चुनिएका केही खास भन्ने व्यक्तिहरु मात्र सामेल हुन्छन् । विवाहमा आनलाईन र लाईभ नाचगान कार्यक्रम हुन्छन् जसमा महिला पुरुष दुल्हा दुलही सब संगै नाच्छन् जुन नाँचलाई सारा संसारले आनलाईन हेरिरहेको हुन्छ । अनि वैवाहिक कार्यक्रम सकेपछि सबैलाई वेटरले खाना पस्कन्छन् त्यो पनि ताजा हुन्छ कि महिना दिनको बासी थाहै हुदैंन् तथापि त्यही खाना आधा खाएर आधी त्यतिकै थाल खेर फालेर पाहुनाहरु आ आफ्नो बाटो लागिहाल्छन् । वेटरलाई पनि खेर फालिएका खानासंग कुनै सरोकार हुदैन किनकि उनलाई त जति बढी खाना खर्च भयो त्यति बढी आम्दानी हुने हो अनि किन बोल्छन् त । सबै जना खानापिना सकेर गइहाल्छन् परिवारका केही सदस्य बाकी रहन्छन् उनले नै बेहुला बेहुलीको बिदाई गर्छन् । बिदाई पछि बाकी रहन्छ त केवल केटी वा केटा पक्षको परिवार किनभने यतिका हाईफाई होटेलमा राखिएको भोजभतेरको बिल पनि त भुक्तानी गर्नुछ ।
केही बिल तत्काल भुक्तानी गरिन्छ भने केही बिल घर जग्गा बेचेर गर्नुपर्छ । किनकि सबै खर्च एक्लैले गरेका हुन्छन् । अनि वर्षौं सम्म ऋणको बोझ टाउको माथि हुन्छ । विवाह पश्चात जुन पक्ष बलियो हुन्छ उसले ज्यादती हिंसा र पीडा दिन थाल्छ । किनकि उसले हेरिसकेको हुन्छ कि यसको पछाडि त कोही छैन् । त्यस कारण हिंसा गरे वा पीडा दिए पनि कोही बोल्दैन् कोही उभिदैन् । अनि परिणाम हेर्दैछौं हामी बढ्दो घरेलुहिंसा, सम्बन्ध बिच्छेद, घर निकाला आत्महत्या र हत्या आदि ।


उहिलेको परिवेश
कसैको घरमा जवान छोरा वा छोरी भएपछि छरछिमेकीले आफ्नो नातागोता वा माइत तर्फ तिनका लागि राम्रो वर वधू खोज्दथे । अनि आएर घरपरिवारसंग सरसल्लाह गर्थे । चित्त बुझे केटाकेटीको अभिभावकलाई बोलाउन्थे अभिभावक सहमत भएपछि केटाकेटीलाई हेराईन्थियो त्यो पनि त्यहां कसैको विवाह, वर्तबन्ध, अकीका, छैंठी, मुन्डन जस्ता पारिवारिक जमघटमा भोज खान पठाईदिन्थ्यो । जहां भीडमा केटी पक्षबाट उनकी भाउजू वा दिदीले फलाना रंगको कपडा लगाएको केटा कस्तो छ भनी हेर्न लगाउन्थिन् । केटीले लजाएर हास्दैं ठीक छ भनी टाउको निहुराएर मन्द मुस्कान दिन्थिन् । जुन मुस्कानलाई नै केटीको रजामंदी ठानिन्थियो । यस्तै केटा पक्षबाट उसको फूफा वा ज्वाईले फलाना रंगको कपडा लगाएकी केटी कस्ती छिन् भनी हेर्न लगाउन्थे । केटाले पनि केटीलाई हेरेर मुस्कान साथ टाउको निहुरान्थे त्यही मुस्कानलाई नै केटाको मनमर्जी छ केटी मन परिछ भनी बुझिन्थ्यो ।

त्यसपछि दुबै पक्षका अभिभावकहरु बसेर लगनगाठोंका लागि साईत निकाल्थे । सानो कार्यक्रम गरी मंगनी र तिलक गरिन्थ्यो । अनि विवाहको तयारी सुरु हुन्थ्यो । एक महिना अगाडि नै घरमा बनेको बेसन र बेसारको उबटन लगाउन थालिन्थियो ताकी विवाहको दिन रुप निखारिएर आओस् भनी । घरमा चामल, दाल, र पिठोका लागि गहुं केलाउन टोलछिमेकका महिलाहरु जम्मा हुन्थिन् । पारिवारिक गीतको रमझममा विवाहका काम सम्पन्न हुने गर्थे । गीत गाउने कला र गला भएकी महिलालाई सबैले प्रशंसा गर्थे । विवाहमा चाहिने सरसामानको व्यवस्था सबै मिलेर गर्थे । जसको घरमा डेक्ची, कराही, ठूलो चुल्हो, सुपो, नाम्लो, ठूलो बाटा, खाने थाल, गिलास, तन्ना, दरा आदि छ । तर उससंग बोलचाल बन्द छ कुनै कारण भने उसको घरमा टोलछिमेकका केही भलादमीलाई संगै लिएर गइकन विवाहको निम्तो दिने गर्थे । यसरी टुटिएको नाता र सम्बन्ध त्यही विवाहका कारण पुनः जोडिन्थे । मैले खाट दिन्छु, मैले दराज दिन्छु, मैले औंठी दिन्छु, मैले भाडाकुडा दिन्छु, मैले विवाहमा लाग्ने चामल दिन्छु, मैले विवाहमा लाग्ने तेलका लागि यति तोरी दिन्छु , मैले बेहुलीलाई सिकरी दिन्छु, मैले बुहारीलाई पाउजू दिन्छु भनी सबैले आ आफ्नो हैसियत अनुसार उपहार स्वरुप सरसामान गरगहना, खाद्यान्न दिने गर्थे । जसले गर्दा बेहुला र बेहुली दुबै पक्षलाई आर्थिक बोझ हुदैंन् थियो । विवाहको एक दिन अघिबाट नै सबै नातागोता टोलछिमेकले मिलेर जन्तीको स्वागत गर्न खाट, तन्ना, शर्बतपानी, फूलमाला, निकाहको स्टेज, विवाहको मन्डप बनाउने सजाउने सारा कामको जिम्मा आफै बांडभांड गरिहाल्थे त्यो पनि टोलमा रहेको ठुलो घर जसको हुन्थ्यो त्यही घरमा ।

खाना, खाजानास्ता, लड्डु मिठाइ सब घरमा नै हल्वाई र खानसामा बोलाएर ताजा बनाईन्थ्यो । दुल्हीलाई घरमा पातवाला मेहन्दी पिसेर हात र खुट्टाहरु लगाउने गर्थे घरमा बनेको गाजल र घरलु मेकअप सामग्रीबाट भाउजू दिदी बैनी वा फुफूले घरमै तयार गर्थिन् । बेहुलालाई फूफाजू जेठान वा ज्वाईंले तयार गर्थे । तयार गर्दा हसी मजाक गर्ने गर्थे दुल्हा र दुल्हीलाई मेहन्दी लगाए अनि तयार गरे बापत रितिरिवाज अनुसार उपहार दिन गरिन्थ्यो । जसले सम्बन्धमा अझ् मिठास आउने गथ्र्यो ।

विवाहमा आएका पाहुनाहरुलाई खाना खुवाउन यिनी टोलछिमेकीहरु नै अगाडि हुन्थे । सारा नातागोता आफन्त र टोलछिमेकको माया ममता र आशिर्वादमा बेहुला बेहुलीहरुको बिदाई गरिन्थ्यो । बिदाई पश्चात मात्र टोलछिमेकी र नातादारहरुले खाना खाने गर्थे त्यो पनि परिवारको सदस्यहरुको साथमा बसेर । यसरी भएको विवाह लामो समय सम्म टिक्थ्यो । किनकि केटा र केटी दुबै पक्षलाई थाहा हुन्थ्यो कि मैले कुनै ज्यादती वा हिंसा गरे भने यिनको पछाडि पूरै टोलछिमेक नातागोता सब छन् । त्यस कारण हिंसा गर्न डराउन्थे । केटी माथि केही समस्या पर्दा परिवारका सदस्य जान नसके टोलछिमेक नै गएर समस्या समाधान गराई सम्झौता गराएर आउने गर्थे । केटीले सताउदां केटा पक्षबाट यदि कारणवश परिवारका सदस्य हरु जान सक्दा पनि टोलछिमेकले नै सबै सल्टाएर आउने गर्थे ।

माथि उल्लिखित दुबै थरीका वैवाहिक समारोहमध्ये कुन चांहि ठीक छ भनी मनन गर्नुहोला । यहाँ दुबै परिवेश बारे संक्षिप्तमा प्रकाश पारिएको छ, यस बारेमा गहन अध्ययनका लागि । आफ्ना पूर्वज घरमा ठूलाबडा एंव अभिभावकहरुसंग छलफल गरेर आफै पनि यस विषयमा बुझ्न सक्छौं । हामी पहल गरौं कि समाजमा महिलाहिंसा, घरेलु हिंसा, लैंगिक हिंसा उत्पीडन आदिको समाप्ति होस् । सामाजिक एकता, आपसी प्रेम, भाईचारा, अपन्त्व र सम्बन्ध बिस्तार गर्न आ आफ्नो स्तरबाट आफ्ना भूमिका निर्वाह गरौं । अनि मात्र सभ्य समाजको निर्माण र घर परिवारमा शान्ति स्थापना हुन सक्छ ।

प्रतिक्रिया

प्रतिक्रिया