विद्यार्थीहरुसँगको छलफलमा सहभागी भइरहेको थिएँ । विद्यार्थीहरुको सङ्ख्या त्यत्ति धेरै थिएन । तीन चारवटा कक्षाका विद्यार्थीहरु एउटा कक्षाकोठामा राख्दा पनि एउटै कक्षाका विद्यार्थी जति देखिएका थिए । भर्ना त पाँचसय भन्दा बढि छन् । अभिलेख पनि पाँचसय भन्दा बढिको नै छ विद्यालयमा । तथापि उपस्थिति भने कुल भर्ना भएका विद्यार्थीहरुमध्ये पच्चीस प्रतिसतको हाराहारीमा मात्रै देखिन्छन् । विद्यार्थी नियमित नहुने समस्या चर्को छ । हिजो आएका आज नआउने र आज आएका भोलि नआउने स्थिति रहेछ । यसै क्रममा मैले हिजो नआएका तर आज आएका विद्यार्थीहरुलाई हात उठाउन लगाए । पच्चीस प्रतिसत विद्यार्थीहरुले मेरो अनुरोध स्वीकार गर्दै हात उठाए । यस्तै परिवेशमा मैले समसामयिक विषयको उठान गरें–‘हामी धेरैजसो विद्यार्थीहरु विद्यालयमा नियमित आउदा रहेनछौं । यसको कारण के हो ? हामीलाई हाम्रो विद्यालयमा किन आउन मन लाग्दैन ?’ एकछिन त सन्नाटा छायो कक्षामा । मैले ‘किन नबोलेको’ भन्दै बोल्न प्रेरित गरें । कक्षा दशका एकजना विद्यार्थीले आफ्नो सिटबाट उठेर भने – ‘विद्यालयमा नआए पनि पास भइहालिन्छ भने विद्यालय किन आइरहनु प¥यो त सर ? उनले गरेको प्रतिप्रश्नले मलाई अनायासै बेचयन बनायो र केही बेर म बोल्न पनि सकिन । पहिले जस्तै फेरि अर्कोपटक कक्षामा सन्नाटा छायो ।

विद्यालयको अभिलेख हेर्दा विद्यार्थीले भनेको साँच्चि हो रहेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयहरु कोविद १९ को कारणले विद्यालयहरुमा पठनपाठन हुन सकेन । कतिपयले अनलाई मार्फत कक्षा सञ्चालन गरे । त्यो पनि त्यत्ति प्रभावकारी हुन सकेन । मेलै लेख्दै गरेको विद्यालयमा त न भौतिक उपस्थितिमा कक्षा सञ्चालन भयो न त अनलाइनबाट नै कक्षा सञ्चालन भयो । तथापि नतीजा भने राम्रो देखियो । राष्ट्रिय स्तरको भन्दा पनि राम्रो । कक्षा पाँचको शैक्षिक सत्र २०७५ र २०७६ मा नेपाली विषयको राष्ट्रिय औषत प्राप्ताङ्क ४६ रहेको देखिन्छ भने उक्त विद्यालयको कक्षा ५ को शैक्षिक सत्र २०७६ र २०७७ को नेपाली विषयको औषत प्राप्ताङक क्रमशः ७० र ६९ रहेको देखिन्छ । यस्तै यस्तै कारणले होला, हाम्रो मुलुककै एसइइको राष्ट्रिय स्तरको जिपिए उच्च ल्याउने विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य बढेको थियो । साँच्ची हाम्रो यो शैक्षिक उपलब्धिको बारेमा अनुसन्धानकर्ताहरुले के भन्छन् होला र के व्याख्या गर्छन होला ? विद्यालय बन्द भएर पठनपाठन ठप्प भएको समयमा शैक्षिक उपलब्धि भने उच्च हुने हाम्रो देशको शिक्षा प्रणाली कस्तो होला ? सायद यो पनि पशुपतिनाथकै कृपा होला भन्नु प¥यो ।

कुनै पनि विषय र कार्यक्रमको उपलब्धि प्रभावकारी हुनका लागि त्यसमा गरिएको लगानी र त्यहाँ भएको कर्म अर्थात प्रक्रिया पनि पनि प्रभावकारी हुनु जरुरी छ । लगानी प्रभावकारी नभएर पनि प्रक्रिया प्रभावकारी भयो भने उपलब्धि प्रभावकारी हुन सक्छ तर प्रक्रिया प्रभावकारी नहुँदा पनि उपलब्धि प्रभावकारी हुने भनेको अर्को आश्चर्यको जन्म हुनु हो जानकारहरुका लागि । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तोकेको कार्यसम्पादन परीक्षण साधनको आधारमा हेर्दा उक्त विद्यालयको शैक्षिक प्रक्रियाको प्राप्ताङ्क पूर्णाङ्क तीसमा दश पनि नभएको अवस्था छ जुन गुणस्तर परीक्षण केन्द्रका अनुसार उक्त नतीजा कमजोर अन्तर्गत पर्दछ । प्रक्रिया अन्तर्गत पर्ने शैक्षणिक योजना र पाठयोजनाहरु निर्माण र कार्यान्वन्वयन गरिएका छैनन् । शिक्षकको पेशागत विकास र प्रोत्साहनको पाटो सुन्य छ । शैक्षिक सामग्री र आधुनिक प्रविधिको प्रयोग पनि सुन्य नै छ । विद्यार्थीहरुका निम्ति शैक्षिक भ्रमण, सह तथा अतिरिक्त क्रियाकलाप, सदनात्मक क्रियाकलापहरु पनि भएका छैनन् । सिर्जनात्मक छटपटी शिक्षक र विद्यार्थी दुबैमा देखिदैन । अभिभावक, विव्यस र शिक्षक अभिभावक संघलेपनि शैक्षिक उत्थानका लागि खासै योागदान नगरेको अवस्था छ । तथापि शैक्षिक उपलब्धि उच्च छ । विद्यार्थीहरुको माझबाट एउटा विद्यार्थीले भनेको कुरा झन् सत्यसावित भएको छ ।

यसरी हामीले कस्ता विद्यार्थी उत्पादन गर्न खोजिरहेका छौ मलाई द्विविधा भइरहेको छ । मैले आफूले शिक्षण गर्दाको एउटा घटना स्मृतिपटलमा अहिले पनि नाचिरहेको छ । भूगोलमा इन्डियाबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका एकजना शिक्षक मैले शिक्षण गर्ने विद्यालयमा नियुक्त भएका थिए । एकाध दिन पछि उनको बारेमा विद्यार्थीहरुले गुनासो गरे । उनले एकपटक कुन प्रसङ्गमा हो, विद्यार्थीहरुलाई भनिदिएछन् कि जमीनलाई आठदश मिटर गहिरो खन्ने हो भने भूकम्प भेटिन्छ भनेर । यसले धेरै समयसम्म विद्यालयमा शिक्षक र विद्यार्थीको बीचमा चर्चा परिचर्चाको अवसर पायो । अन्ततः शिक्षक मानसिक हिसावले स्वस्थ नभएको कुरा पनि जानकारीमा आयो । केही समयपछि उनी त्यो विद्यालय छोडेर गएपनि । मलाई कतै हामीले उच्च प्राप्ताङ्क दिएर त्यस्तै जनशक्ति उत्पादन गर्न खोजिरहेका त छैनौं ? कक्षा ८ को नेपाली शिक्षकले त्यही विद्यालयमा विद्यार्थीहरुलाई नेपाली विषयको पाठ वाचन गर्न लगाउदा कनिकुथी पनि शुद्ध उच्चारण गर्न नसकिरहेको अवस्था देखियो । लाग्छ कि कतिपयले राम्रोसँग अक्षर र अक्षरको मात्रा पनि नचिनेका होलान सायद । यस्ता कुराहरुको विश्लेषण गर्दा त्यस्तै जनशक्ति उत्पादन गर्न खोजेको हो कि भनेर पिरलो लागिरहेको छ ।

मैले प्रस्तुत आलेखमा एउटा विद्यालयको सन्दर्भको उठान गरेपनि यो नेपालका मधेसी र मुस्लीम समुदायमा रहेका सम्भवतः अधिकांश विद्यालयहरुको साझा कथा हो । हरेक विद्यालयलाई भित्र जे जस्तो भए पनि बाहिर राम्रो देखिनु पर्ने भएको छ । बाहिर देखिनु पर्ने विषयप्रतिष्ठासँग जोडिएको सवाल रहेछ । अन्यथा शिक्षाको सर्टिफिकेट र त्यसमा लेखिएको ग्रेड र श्रेणीले खासै महत्व राख्दैन । झन त एसइइ भन्दा तलको सर्टिफिकेटको त कतै आवश्यकता भएको जस्तो पनि लाग्दैन । तथापि एसइइ भन्दा तलका सर्टिफिकेटहरुले एसइइको सर्टिफिकेट प्राप्त गर्नका लागि आधारस्तम्भको रुपमा काम गर्ने गर्दछ । जेनतेन एसइइ गर्न गराउन सकियो भने तराइतिर बिहेवारीमा दाइजोको सवालमा पनि बार्गेनिङ गर्न सजिलो हुने गर्दछ । कतिपयलाई बैदेशिक रोजगारीमा जान पनि सजिलो हुने गर्दछ । जसरी विद्यालयमा विद्यार्थी अनुपस्थित र अनियमित हुने सवाल चर्को छ त्यसरी नै विद्यालय छोड्नेहरुको सवाल पनि त्यत्तिकै चर्को छ । राष्ट्रिय स्तरमा विद्यालय छाड्नेहरुको दर तीन प्रतिसतको हाराहारीमा रहेको देखिन्छ भने तराइतिरका विद्यालयहरुको यो दर पन्ध्रबीस प्रतिसतको हाराहारीमा रहेको देखिन्छ ।

विद्यालयहरुले विद्यार्थी भर्नाको समयमा विद्यार्थीलाई भर्ना गर्न र उनीहरुलाई नियमित रुपमा विद्यालयमा पठाउनका लागि अभिभावकसँग भेटघाट र घरदैलो कार्यक्रम पनि गर्ने गर्दछन् । सरकारले छोरीहरुलाई नाम मात्रैको भएपनि छात्रवृत्ति पनि दिने गर्दछ र तल्लो कक्षामा दिवाखाजाको कार्यक्रम पनि रहेको छ । तथापि यी कार्यक्रमहरु प्रभावकारी हुन नसकिरहेको अवस्था छ । भनाइ छ, पहाडलाई परिवर्तन गरेर मैदान बनाउनु भन्दा पनि जटिल काम मानिसको मन परिवर्तन गर्नु हुने गर्दछ । त्यसैले मानिसलाई शिक्षाप्रति आकर्षित र अभिप्रेरित गर्ने काम एक झट्कामा हुने काम होइन । यसका लागि निरन्तरको प्रयत्न जरुरी छ । एकजना शिक्षिकाले तपाइको सन्ततिलाई विद्यालय पठाउनु प¥यो भन्दा अभिभावकले दिएको जवाफ सुनाउदै हुनुहुन्थ्यो, ‘तपाईको जागिर बचाइ दिन र तलव पकाइदिनका लागि मेरो छोरी गएर विद्यालयमा घाँटी सुक्ने गरी पढ्नु पर्ने ?’ यस्तैयस्तै व्यवहारका कारण कतिपय विद्यालय र शिक्षकहरु पनि हेच मारेर बसेका देखिन्छन् । तथापि व्यक्ति, परिवार, समुदाय, समाज र अन्तत मुलुकलाई समुन्नत बनाउने हो भने शिक्षा र चेतना अभिवृद्धिको यात्रा निरन्तर जारी राख्नुको विकल्प छैन । जतिबलासम्म समुदाय शिक्षाप्रति सकारात्मक हुदैन त्यत्तिबेलासम्म शैक्षिक जागरणको यात्रा जारी राख्नु पर्दछ ।

शिक्षाप्रति समुदाय र समुदायका मानिसहरु जति सकारात्मक हुनु पर्ने हो त्यत्ति हुन नसकिरहेको अवस्था छ । निरन्तरको प्रयासले यसलाई अभिवृद्धि पनि गर्न सकिन्छ । दुःखको कुरा यहाँ त यो छ कि शिक्षाको पक्षमा सरकारहरु समेत सकारात्मक हुन नसकेको अवस्था छ । कतिपय पालिकाहरुले शिक्षामा सरकारले गर्ने काम भन्दा पनि कोष तथा लेखानियन्त्रकको कार्यालयले गर्ने काम पनि राम्रो सँग नगरिरहेको देखिन्छ । संघीय सरकारले जे जे रकम दिन्छ त्यही त्यही रकम विद्यालयहरुमा पठाउने काम गरिरहेका हुन्छन् । त्यो पनि ढिलोगरी । गतवर्षदेखि नै विद्यालय र पालिकाहरुले स्थानीय पाठ्यक्रम बनाइ लागू गर्नु पर्नेमा कतिपय पालिकाहरुलाई यो बारेमा जानकारी नै छैन । कतिपय पालिकाका प्रमुखहरुले त यो वर्ष आएर ‘के हो स्थानीय पाठ्यक्रम’ भनेर सोधेको अवस्था छ । जे होस् म त भन्छु, यो पनि सकारात्मक पक्ष हो शिक्षाको निम्ति । ढिलै भए पनि कम्तिमा सोध्ने काम त भयो । सोधेपछि अब त केही हुन्छ होला भन्ने आशा गरौं । कतिपय पालिकाहरुले संघीय सरकारले दिएको दिवा खाजाको रकम समयमा निकासा नदिएर बालबालिकाहरुले खाजा खानबाट बञ्चित भएको अवस्था समेत जगजाहेर छ । त्यसैले म त भन्छु, मधेसी समुदायका शैक्षिक चेतना नभएका अभिभावक त के कुरा भयो र?पालिकाका चेतना भएका जनप्रतिनिधिहरुसमेत शिक्षामा सकारात्मक हुन नसकिरहेको अवस्था छ ।

विद्यार्थीको अनियमिततालाई नियमिततामा बदल्नका लागि विद्यालय र शिक्षाका सरोकारवालाहरु अब पनि गम्भीर हुन सकेनौं भने हामीलाई समयले नराम्ररी ठेगान लगाउनेछ भन्ने कुरामा दुईमत छैन । अतः यसका लागि विद्यालयहरुले पचहत्तर प्रतिसत भन्दा कम उपस्थित हुने बालबालिकाहरुलाई परीक्षामा सामेल नगराउने शिक्षा नियमावलीमा भएको प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरिनु पर्दछ । यसका अतिरिक्त विद्यालयहरुलाई बालबालिकामैत्री बनाउनका लागि कक्षाकोठामा प्रविधिको प्रयोग, अतिरिक्त क्रियाकलाप लगायत खेलकुद सामग्रीको व्यवस्थापन, शौचालय, खानेपानी, फ्यान आदिको उचित व्यवस्थापन गर्ने आदि काममा विद्यालयहरु गम्भीर हुन जरुरी छ यसकारण कि विद्यार्थीहरु अभिभावकसँग रोइकराइ गरेर घरबाट भागीभागी पनि विद्यालय आउने गरुन् । सबैलाई चेतना भया !

प्रतिक्रिया

प्रतिक्रिया