घुमफिरको लागि लुम्विनी प्रदेशमा ऐतिहासिक, प्राकृतिक र धार्मीकस्थलहरु धेरै छन् । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया समेत गरी १२ जिल्ला रहेको छ । हिमाल देखि पहाड, भित्री मदेश र तराई फाट समेत यो प्रदेशमा पर्दछ । पर्यटकीय हिसाबले अधिकाशं स्थल धार्मीक क्षेत्रसंग जोडिएको छ । मुक्तिनाथ देखि बग्दैआउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सिमा पालुङखोला देखि पाल्पा र नवलपरासीको पूर्वी भागसंग सिमा बनेको कालीनदीको घुमाउरीघाटसम्म नदीको किनारमा दर्जनौ धार्मीकस्थलहरु रहेका छन ।


लुम्विनी प्रदेश घुमफिरको लागि प्याकेज बनाउदा राम्रो हुन्छ । प्रदेशका सबै जिल्ला घुमफिर गर्दा साना यातायातका साधन प्रयोग गर्दा राम्रो हुन्छ । लुम्विनी प्रदेशमा बुद्धको जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार, रानीमहल प्युठानको स्वर्गद्वारी, हिमाल देखि तराइका समथर भूमी देखिने दाङ जिल्लाको बगंलाचुली पहाड, पाण्डवेश्वर महादेबको अग्लो त्रिशुल, वाह्रकुने दह, जखेरा र रिहार मुख्य पर्यटकियस्थल मानिन्छन् । अर्घाखाचीको खाची र अर्घाकोट, सुपादेउराली गुल्मीको रेसुङगा, रिडी लगायतका सम्पदा रहेका छन् । पुर्वी रुकुममा सिस्ने हिमाल, ढोरपाटनको पश्चिमीभाग, कमलदह रोल्पामा जलजला, खाम मगरहरुको ऐतिहासिक बस्ती, दाङ जिल्लामा धारापानी, रिहार, बाह्रकुनेदह बाके जिल्लाको वागेश्वरी र बर्दियाको ठाकरद्वार जस्ता सम्पदा पनि रहेका छन ।


लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । यहाँको विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरुको लागि पलटहरु छुट्टाइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, कम्बोडिया, क्यानडा र थाइल्याण्डले आ–आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् । पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मन, भेतनाम, क्यानडा आदि मुलुकका सरकार तथा संस्थाहरुले पनि आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तूपहरु तयार गरेका छन् । केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तूप र विहारका स्मारकहरु रहेका छन् । यसरी बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानवको साझा सम्पति भएकोले यसलाई १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ  ।


प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट कला एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यहाँ वाणगंगा नदीको पूर्वपट्टि क्षेत्रको तिलौराकोट दरबार क्षेत्र, चारैतिर खाई, पर्खाल, प्रवेशद्वार र आसपासमा बौद्ध स्तूप, विहारखण्ड आदि रहेको छ । तौलिहवा बजारदेखि करिब ८ कि.मी.उत्तर–पूर्व तथा निग्लिसागरदेखि १.५ कि.मी.पूर्वमा अवस्थित अरौराकोट प्राचीन खण्डहर हो । यसलाई कनकमुनि बुद्धको नगर पनि भनिन्छ  । तौलिहवा बजारदेखि दक्षिण–पश्चिममा रहेको गोटिहवामा मानुषी क्रकुच्छन्द बुद्ध जन्मिएका थिए । यहाँ भू–सतहमा पुरिएको अशोक स्तम्भ कार्लाइलले ई.सं. १९०४ मा उत्खनन गरी बढी स्पष्ट गराए  । यसलाई अझ भिक्षु धर्मलोकले ई.सं. १९५४ मा उत्खनन गरी स्पष्ट भागहरु प्रकाशमा ल्याए  । कालान्तरमा यसको शिरोभाग फुटेको हुनाले स्थानीय बासिन्दाहरुले यसलाई फुटेश्वर महादेवको नामले पूजा आराधना गर्दछन ।

प्रकृतिको रमणीय रुपमा रहेको तानसेनको प्राकृतिक दृश्य, भगवती, अमरनारायण, अमर महादेव, अमर भैरव र अमर गणेशका मन्दिरहरु पनि सांस्कृतिक दृष्टिले महत्वपूर्ण छन् । पाल्पा जिल्लाको महाभारत पर्वत श्रृखलाको कौडेलेकको थुम्कोमा रहेको सत्यवती ताल प्राकृतिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान हो  । कालीगण्डकी र रिडी खोलाको सगम तथा स्याङजा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो । कालीगण्डकी किनारको रानीमहल अहिले पाल्पा जिल्लाको लागि पर्यटकिय स्थल वनेको छ । तानसेनबाट भुसलडाडा, बराङ्दी हुदै पैदल ३ घण्टा र मोटरवाट १ घण्टामा पुग्न सकिने रानी दरवार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवा युवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस भन्ने उद्देश्यले रानी दरवारलाई साक्षी राख्न पुग्ने गर्दछन । रानी दरवारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विस्वासले प्रेममा भुलेका जोडीहरुले भित्तामा नाम लेख्ने गर्दछन । पाल्पा जिल्ला प्रकृती प्रेमीहरुको लागि अति रमणिय मानिन्छ । तानसेनको श्रीनगरले सवै प्रकृती प्रेमीहरुलाई मनमुग्द बनाइदिन्छ । श्रीनगरको डाडाबाट धौलागिरी,अन्नपूर्ण,मनास्लु,गौरीशंकर जस्ता प्रसिद्ध हिम श्रृखंलाहरुको दृष्यावलोकनका साथै तानसेन भन्दा दक्षिण पट्टीको माडीफाट र तराई तिरको समथर भूमी अवलोकन गर्न सकिन्छ ।


सांस्कृतिक एवं प्राकृतिक सम्पदाले परिपूर्ण गुल्मीको रेसुङ्गा मानव सृष्टिसँग संबद्ध, भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षि एवं ब्रह्मर्षिको वासस्थानयुक्त सुनौलो थलो हो  । स्वदेशी उपज, मूर्तिपूजा, कर्मकाण्ड र जातपातको विरोधी जोसमनी सम्प्रदायको मूलथलो नै रेसुङ्गा हो  । गण्डकी प्रदेशमा विस्तारित चौबीसी राज्यहरुमा गुल्मी राज्यको चारपाला राजधानी थियो  । यहाँ पन्ध्रौं शताब्दीदेखि वीर शाहले राज्य स्थापना गरी उनका तेह्र पुस्ताले राज्य गरे पछि वि.सं. १८४३ जेष्ठ महिनामा गोरखाले एकीकरण गरेको थियो  । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो  । यहाँ विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । अर्घा राज्यस्थलमा अवस्थित महाकाली देवीको मन्दिर ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ  ।


खाँचीकोट दरवार पुराना हातहतियारहरु संरक्षण गरी शक्ति पीठमा राखी वर्षे र हिउँदे दसैंमा पूजाआजा गर्ने प्रचलन सुरक्षित छ  । ढाल, तरवार, खुँडा र बन्दुक समेत रहेकोले यहाँको सामरिक अस्तित्व स्मरण गराउँछन । अर्घाखाँची जिल्ला छत्रगञ्जमा अवस्थित छत्र देवतालाई उल्क महाराज बर्बरे वा छत्र महाराज नामले चिनिन्छ  । प्रारम्भमा उल्क भनिने छत्र महाराज कालान्तरमा माझकोट, रुपाकोट र गुल्मीको अन्य क्षेत्रमा समेत लोकप्रिय हुन पुगेका थिए  । अर्घाखाँची जिल्लाकै पाणिनिमा अवस्थित पणेना डाँडोलाई पाणिनीय तपोभूमि भनिन्छ  । ध्वनी सामीप्यताको आधारमा मात्र यसलाई ईशाको दोस्रो–तेस्रो शताब्दीसम्म पु¥याउन नखोजी विभिन्न साहित्यिक स्रोत र जनश्रुतिहरु पनि यस क्रममा विशेष महत्वपूर्ण एवं मननयोग्य छन् । प्रसिद्ध महर्षि पाणिनिले अष्टाध्यायी, धातुपाठ, गणपाठ, उर्णादिसूत्र, निर्णनुशासन शिक्षा दिव्यकोष, आजम्वती विजय जस्ता रचनाहरु तयार गरी हिन्दू जगतमा लोकप्रिय छन् । उनको तपोभूमिबारे विभिन्न भनाइहरु प्रचलनमा छन् । हिमालय खण्ड, केदार खण्डको पर्वत रुरु क्षेत्र एवं पणेना क्षेत्र आदि उनका तपोभूमि हुन् । बल्कोट अर्घाखाँचीमा रहेका विभिन्न रमणीय प्राकृतिक तथा सांस्कृतिक स्थलहरु मध्ये एक पवित्र थलो हो । यसको फेदीमा ऐतिहासिक मथुराबेसी फाँट छ  ।


प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौंमुखी प्यूठान जिल्लाको उत्तर–पूर्व गौमुखी गाउँपालिका, गुल्मी तथा बाग्लुङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ  । झिमरुक (धर्मावती) नदीको उद्गमस्थल यस स्थानमा रहेको गुफाको कुनामा गाईको मुख जस्तो आकारबाट छङछङ गरी पानी निक्लेको हुँदा यसलाई गौमुखी भनिन्छ  । प्यूठान क्षेत्रमा विभिन्न पुरास्थलहरु भित्रिकोट, ओखरकोट, सारिकोट, तुषाराकोट, भूमेथान, झाँक्रीथान, खैराकोट, सिद्धसंसारनाथ, कालिका, जाल्पा, खड्गदेव, रानीपौवा, सिद्धफलाहारिनाथ, स्वर्गद्वारी आदि महत्वपूर्ण सांस्कृतिक तथा पर्यटकीय स्थलहरु अवस्थित छन् । स्वर्गद्वारी सांस्कृतिक तथा प्राकृतिक दृष्टिले रमणीय थलो बनेको छ । यहाँ वैशाख पूर्णिमा, गुरुपूर्णिमा, आश्विनशुक्ल सप्तमी, आश्विनशुक्ल दशमी, कार्तिक औंसी, मार्गशुक्ल चौथी आदि तिथिहरुमा विभिन्न धार्मिक चाड र पर्व मनाउने गरिन्छ  । वैशाख पूर्णिमाको दिनमा यज्ञमा पूजापाठ गर्ने ब्राह्मणहरुलाई नियुक्ति र छुट्टी दिने परम्परा रहिआएको छ । प्राकृतिक एवं सांस्कृतिक दृष्टिले मनोरम पहाडको चुचुरोमा अवस्थित स्वर्गद्वारी पर्यटकीय दृष्टिले विशेष उल्लेखनीय छ  । माछापुच्छे« तथा धौलागिरिको मनोेरम दृश्य अवलोकन गर्न सकिने यस थलोमा पुग्न दाङ – होलेरी – खाल – धरमपानी मोटर बाटो हँुदै जान सकिन्छ । त्यसैगरी भालुवाङ – प्यूठान – रोल्पा सडकको भिंगृबाट स्वर्गद्वारी पुगिन्छ ।


प्यूठानको दक्षिण–पश्चिममा पर्ने ऐरावती तथा यसको अलावा प्यूठानमा भाइटीकाको भोलिपल्ट तृतीयादेखि पञ्चमी तिथिसम्म ३ दिन डल्ले सरायँ (विजुवारनेर), क्वाडी सरायँ (चितिखोला) र दाखाक्वाडी हिक्मतेश्वर बगैंचाको मेला पनि प्रख्यात छन् । यिनमा लट्टीखेल र तारवारखेल आदि हुन्छन् । विजुली कोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि अवसर पनि उल्लेखनीय मेला हुन । खलंगामा घण्टाकर्णदेखि ऋषितर्पणी पूर्णीमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जाजा, गणेशजात्रा, कृष्णजात्रा र खरजात्रा (माघे पूर्णीमाको दिन) लाग्दछ  । यी जात्राहरु सदरमुकाममा मनाउने हँुदा प्यूठानका अतिरिक्त छिमेकी जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाँचमा पुरुसुङ्गे नाँच, मारुनी नाँच, माडीखोले नाँच र अन्य लोकनृत्य निकै रमाइला छन ।
रोल्पामा अवस्थित विभिन्न सम्पदाहरु मध्ये गजुलकोट, खुङ्ग्रीकोट, खुंग्री त्रिपुरेश्वरी, घोडागाउँ खड्गस्थान, जलजला, तालावाङ कैलावराह, नौलादेवी पाटेश्वर, लिवाङ तथा गैरागाँउ कालिका आदि स्थानहरु विशेष महत्वपूर्ण छन् । यी विभिन्न स्थानहरुमा रहेका स्मारक तथा कलावस्तुहरु धार्मिक आस्थाको आधारमा सुरक्षा तथा संरक्षण हुँदै आएका छन् । प्रत्येक स्मारक तथा कलावस्तुले समसामयिक मानव सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने भएकोले पुरास्थलहरुको जगेर्नाबाट मानव इतिहासले निरन्तरता प्राप्त गर्न सक्दछ  । यी विभिन्न स्थानहरु मध्ये गजुलकोटको विशेष महत्व रहि आएको छ  ।


मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थानबाट अर्को स्थानहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पृथ्वीको जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक भ्रमणबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन भ्रमण एवं अनुसन्धान गर्न सकिन्छ ।


लुम्विनी प्रदेशमा पर्यटकहरु के का लागि भ्रमणमा आउछन त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार ग्रामीण पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि पुग्ने गर्दछन । यसबाट के थाहा हुन्छ भने जुनसुकै भुगोलमा रहने मानिस भएपनि भ्रमणको एउटा पक्षभित्र जैविक विविधता पर्दछ । प्रकृतिमा हिमाल, ढुङ्गामाटो, पानी, वनजगंल, वन्यजन्तु, कुहिरो, हिउँ, तुसारो आदि कुरा पर्दछन् । यिनैबाट प्रकृतिलाई सौन्दर्य दिएको हुन्छ । जुनसुकै भूगोलमा जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । प्राकृतिक स्वरुपले सबै भूगोललाई मिलाएको छ । यीनै कारणले प्रदेश पाचँ पर्यटकको गन्तव्य भएको छ ।


लुम्विनी प्रदेशमा भूवनोट हावापानी र जीवजन्तुको विविधता छ । यी कुराको संयोजनले पर्यटन क्षेत्रमा विकास भएको छ । उच्चपहाडी भेगमा पाइने जनावर र वनस्पति पहाड र तराईका भन्दा फरक छ । जस्तै हिमालमा डाँफे चरा पाइन्छ भने तराईमा गरुड वा हाँडीफोर र मयुर पाइन्छ । डाँफे चरा हेर्न चाहनेले हिमाली क्षेत्रमा जानुप¥यो भने हाँडीफोर र मयुर हेर्न तराई झर्नु प¥यो । यस आधारमा जैविक विविधताले पर्यटकीय गन्तव्य भएको छ । लुम्विनी प्रदेशमा पर्यटकहरुको अर्को उद्देश्य पदयात्रा हुन्छ । पदयात्राका लागि रोल्पा रुकुममा गुरिला पदमार्ग बनेको छ । पदमार्गमा सजिला अप्ठ्यारा हिमाली र पहाडी भूगोल छ ।


लुम्विनी प्रदेशमा घुमफिर गर्नका लागि खाना बस्न धेरै ठाउमा होटल र होमस्टे सुविधा छ । प्राय सबै ठाउमा सडक यातायात गुडने सडक मार्ग बनेको छ । आफुले भ्रमण गर्ने स्थान लुम्बिनी, कपिलवस्तु, देवदह, रुरु, रिडी, रेसुङगा, पणेना, अर्घा, खाँची, गौमुखी, जलजला, स्वर्गद्वारी, भित्रिकोट, थवाङ, लिवाङ, रुकुमकोट, रत्ननाथ, धारापानी, बर्दिया ठाकुरनाथ, ढोरपाटन, आदि स्थानको सञ्जाल तयार गरी पर्यटकीय प्याकेज तयार गर्न सकिन्छ  ।

प्रतिक्रिया

प्रतिक्रिया