शालिक हटाउने आशंका, रातभर कुर्दै युवा

त्रिभुवन चोकमा स्थापित शालिक प्रशासनले हटाउने आशंकामा युवाहरुले रातभर पहरा दिने भएका छन् । त्यसका लागि युवाहरु चोकमा जम्मा भएर बसेका छन् ।

२०६२÷०६३ को जनआन्दोलनपछि नेपालगन्जको त्रिभुवन चोकमा रहेको शालिक तोडफोड पछि हटाइएको थियो । शालिक पुनः स्थापनाको विषयले पटकपटक चर्चा पाइरहँदा बाँकेबासीको तर्फबाट उल्लेख गरिएको ब्यानरमा शनिबार त्रिभुवनको अर्धकदको शालिक त्रिभुवन चोकको स्तम्भमा राखिएको छ । बाँकेबासीको तर्फबाट ब्यानर राखिए पनि राप्रपा सम्बद्ध युवाहरुले उक्त शालिक राखेका हुन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर चोकमा त्रिभुवनको शालिक राखिएको हो । शालिक राखिएको बारे स्थानीयले मिश्रित प्रक्रिया दिएका छन् । उनीहरुले चोकका नाम त्रिभुवन चोक हुँदा पनि त्रिभुवनको शालिक नहुँदा भैरहेको खल्लोलाई शालिकले पूरा गरेको बताएका छन् । कतिपयले भने निर्वाचनका बेला राप्रपाले अनावश्यक राजनीति गरेको टिप्पणी गरेका छन् ।

‘नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा राप्रपाबाट विजयी हुनुभएको हो, उहाँले चाहेको भए छापामार शैलीमा नभई प्रक्रियागत रुपमै पनि निर्णय गरेर शालिक राख्न सक्नुहुन्थ्यो’, स्थानीय भन्छन्, ‘नगर प्रमुखले आफु नखुलेर नै शालिक राख्न लगाए ।’

त्रिभुवन चोकमा त्रिभुवनको शालिक राख्नुपर्नेमा स्थानीयबासी धेरैको मत देखिन्छ । तर, उनीहरुले प्रक्रिया मिचेर जबर्जस्ती गरेको भन्दै ‘उदण्डता’को प्रतिक्रिया दिएका छन् । ‘हिजो आन्दोलनका नाममा इतिहास मेटाउन खोजियो, गणतन्त्र आएपछि प्रक्रिया मिच्न खोजिएको छ’, स्थानीयबासीले भने ।

कसरी राखियो शालिक ?

शनिबार प्रजातन्त्र दिवसको अवसरमा धम्बोझी चोकमा कार्यक्रम हुने भनेपछि जनपद र सशस्त्र प्रहरीको ठूलो भीड धम्बोझीमा केन्द्रित भयो । धम्बोझीमा औपचारिक कार्यक्रम नाटक मात्र भएको पछिल्लो घटनाक्रमले देखाएको छ ।

धम्बोझी चोकमा कार्यक्रम सुरु भैरहँदा त्रिभुवन चोकमा रहेका २÷४ प्रहरीलाई छल्दै स्व. राजा त्रिभुवनको शालिक पुनः स्थापना गरियो । ‘करिब ७ लाख रुपैयाँ लगानीमा शालिक निर्माण गरी यसअघि नै पुनः स्थापनाको योजना बनाइएको थियो’, शालिक पुनःस्थापनमा सक्रिय युवाले भने, ‘सुरक्षाकर्मीलाई धम्बोझीमा अल्झाएर चोकमा सहजै त्रिभुवनको शालिक पुनस्र्थापना गर्यौं ।’ उनले पहिले शालिक फाल्नुपर्छ भन्ने मान्यता आम नागरिकको नहुँदा पनि केही तत्वहरुले शालिक तोडिदिएकाले पुनस्र्थापना गरिएको बताए । ‘चोकको नाम अनुसार शालिक राष्ट्रवादीले राखेका हौं’, उनले भने, ‘शालिक प्रशासनले नहटाओस् भनेर रातभरी चोकमा बस्ने योजना छ ।’

त्रिभुवन चोकमा शालिक पुनस्र्थापनासँगै शनिबार साँझ दिपावलीसँगै नाचगान गरिएको बताए ।

शालिक पुनस्र्थापनामा राप्रपाले गरेको भएपनि आधिकारिक रुपमा त्यसको जिम्मेवारी दिएको छैन । राप्रपाका सहमहामन्त्री ऋषि देवकोटाले त्रिभुवनको शालिक राख्नुमा आफुहरु सहमत रहेपनि आयोजक भने नरहेको दाबी गरेका छन् । ‘पार्टीले निर्णय गरेर शालिक राखेको होइन, राष्ट्रवादी स्थानीयबासी शालिक राखेका हुन्’, उनले भने, ‘हाम्रो पूर्ण समर्थन छ ।’

संयोग कि पूर्वयोजना ?

शनिबार स्व. राजा त्रिभुवनको शालिक पुनःस्थापना हुँदा पूर्व राजपरिवारका दुई सदस्य नेपालगन्जमा थिए ।

अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिङ्ह र पूर्व शाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क वितरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख डा. धवल समशेर राणाको पनि सहभागिता थियो । हिमानी कोषले उक्त सहयोग गरेको हो ।

पूर्व युवराज्ञी हिमानी शाहको कोषले राहत वितरणका लागि पूर्व राजपरिवारका सदस्यले नेपालगन्जमा विद्यार्थीलाई सामाग्री वितरण गर्दैगर्दा स्वर्गीय राजाको शालिक पुनस्र्थापना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बेखबर प्रशासन !

वैधानिक बुझेर निर्णय लिन्छौं ः प्रजिअ खत्री

त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको अर्धकदको शालिक राख्न लाग्दा चोकमा प्रहरीको नियमित भन्दा बढी संख्या उपस्थित थिएन । प्रहरी स्रोतले त्रिभुवन चोकमा शालिक राख्न लागेको जानकारी नै नभएको बताएको छ । ‘वीरेन्द्र चोकमा कार्यक्रम छ भनेपछि प्रहरी त्यही केन्द्रित भयो, शालिक राख्दै गर्दा बल्ल जानकारी पायौं’, प्रहरी अधिकारीले भने । जिल्ला प्रशासन कार्यालय बाँके पनि शालिक राख्न लागेको बारे जानकार थिएन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले चोकमा राखिएको शालिक राख्ने वा हटाउने भन्नेबारे स्पष्ट जवाफ दिएनन् । ‘प्रशासनसँग अनुमति लिएर राखिएको होइन’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘अन्य निकायबाट स्वीकृति वा निर्णय लिएको बारेमा भोलि (आइतबार) कार्यालय खुलेपछि बुझ्छौं ।’

चोकमा शालिक राखेपछि हटाउनु पर्छ र राख्नु पर्छ भन्ने पक्षहरु बीचको दबाब प्रहरी, प्रशासनले झेलिरहेका छन् । ‘नहटाउ र राखौं भन्ने स्थानीयदेखि केन्द्रबाट नै मन्त्रीदेखि राजनीति दलका नेताहरुको फोन आइरहेको छ’, प्रहरी अधिकारी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया