विचार

आज बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा आज यस्तो विषयमा चर्चा गरिनेछ । जुन हुन त समाजमा निकै सामान्य र चलनचल्ती मानिन्छ । तर सामान्य मानिने चलन र रिवाज कहिले काहीं कसै कसैका लागि हिंसा र पीडाको कारण हुन सक्छ ।

हो त्यो चलन र सामान्य कुरा हो ‘मजाक’ । विवाह पश्चात बेहुला पक्षका केटा र बेहुलाले गर्ने मजाकको नाममा बेहुली र सालीहरुसंग मजाकको नाममा दुई अर्थ लाग्ने शब्द अपशब्द बोल्ने, मजाकको नाममा देवरले भाउजू र भिजाजुले सालीका संवेदनशील अंग वा आपत्तिजनक रुपमा शरीर छुने गर्छन् । जसलाई समाजले सहजै स्वीकार गरेको छ, त्यो पनि मजाकको नाताका बहानामा महिलाहरुमाथि उनको इच्छा विपरीत गरिने एक थरिको हिंसा र यातनालाई ।

यस्ता हिंसालाई रोक्नु पर्ने पढेलेखेको समाज र परिवारको दायित्व हो । तथापि कसैले यस विरुद्ध एक शब्द बोल्दैन । यस प्रकारका घटिया कार्यलाई बढावा दिन भोजपुरी फिल्मी गीत संगीतको प्रमुख भूमिका पाइन्थ्यो । तर अचेल गीतका नाममा समाजमा यस्ता कृयाकलापलाई बढावा दिने खाले गीत नेपाली सगींतले पनि अंगाली सकेको छ ।

जसलाई नेपाली समाजले हरेक घरायसी कार्यक्रम, सामाजिक कार्यक्रमहरुमा बजाउने गरिन्छ ‘कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो, ससुराली टेके पछि साली मन पर्यो’ । ससुराली त खासमा पत्नीको बाल्यकाल बितेको ठाउँ हो, जन्मघरको, उसका बालापनमा बिताएका खुशी र दुखका क्षणहरुको सम्झने स्थान हो । आफ्नो पत्नीको उमेरको एक भाग बितेको त्यो ठाउँ हो जहांँबाट पत्नीले शिक्षा, संस्कार र सभ्यता सिकेर आएकी हुन्छिन् । वास्तवमा भन्नु पर्दा त ससुराली टेकेपछि पत्नीका ती पल र क्षण बारे अनुभव साझा गर्ने स्थानको रुपमा लिनु पर्ने हो । तर गायकका अनुसार ससुराली टेके पछि साली मन परिहाल्दो रैछ । यदि कसैले आफ्नो पत्नीको माया उसको समर्पण भाव पत्नीका योगदानको कदर गरी पत्नी तर्फ मात्र झुकाव छ भने अब यो गीतमा गायकले भने अनुसार पुरुषहरुको मनमष्तिष्कको कुनै ठेगान हँुदैन ? उनीहरुलाई छिन छिनमा अर्कै केटी मन परिहाल्छ । कहिले गोरी कहिले काली जति खेर पनि फेरिन्छ मनमष्तिष्क ? यदि कसैको अहिले सम्म फेरिएको छैन भने उसले फेरे हुन्छ भन्ने सन्देश दिने खालका यी गीत चलनमा छन् । हाम्रो समाजले सहजै लिइदिएको छ, यो जायज हो ?

हुन त ससुराली त साली मन ठाउँ पो हुँदो हो भन्ने एउटा सोंच र मानसिकताको विकास गरिरहेको देखिन्छ । तर बडा मज्जाले यो गीत घर घरको हरेक जस्तो पारिवारिक जमघटमा बजिरहेको सुनिन्छ । जहां सबै उमेर समुहका नाता हुने परिवारका सदस्यहरुको उपस्थिति हुन्छ विवाहित र अविवाहित सबै हुन्छन् । उनले यस्ता गीत सुन्छन्, उनीहरुलाई लाग्छ यो त सामान्य कुरा हो । के साँच्चै सामान्य कुरा हो त ?

गीत मात्र कहाँं छन् अचेल त नेपाली चलचित्रका नामै यस्ता छन् कि जसले समाजलाई बिकृत गरिरहेका हुन्छन् । ‘साली कसको भेनाको’ र ‘साली त भेनाकै हौ’ जसलाई पढेर यो त प्रष्ट भइरहेको छ कि नेपाली चलचित्रले पनि साली र भिनाजुको सालीन नातालाई कसरी अश्लीलता र पति पत्नी बीचको नातालाई कमजोर बनाउने सोच तर्फ तान्दैछन् ।

नेपाली उखान टुक्काको कुरा गरौं भने पनि त्यस्ता अपाच्य शब्दहरु चलनमा छन् । भनिन्छ, ‘गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन, सालीको आशमा भिनाजुको बनिबास, आफ्नो नुन आफ्नै पानी, खाउ ज्वाईं कोखा तानी, परबाट भिनाजु आए, तँ जान्छेस्की मै जाउँ !’ यी र यस्ता उखानहरुका अनुसार त भिनाजुले सालीलाई फकाउनै पर्दैन साली त उसै उनकै हुन रे !

यस्ता उखानटुक्काले समाजमा पति पत्नी बीच एक अर्का प्रतिको आकर्षण, प्रेम, समर्पण भाव हटाउने र घटाउने अनि साली भिनाजु बीच अर्थबिहीन निकटता बढाउने सन्देश दिइरहेका छन् । यस्तै गलत सन्देश र यसैका बहानामा हुने मजाकले आज कतियौं घर बर्बाद भइरहेका पाइन्छन् । पुरुषहरुले आफ्नी पत्नी हुँदाहँुदै सालीलाई फकाएर भगाएर विवाह गरिरहेका छन् । देवरले भाउजुलाई फकाएर भगाएर लगेका कति घटना आइरहेछन् ।

आज समाजमा यस्ता घटना बढ्नाले कति महिला घरबार बिहीन, कति बच्चा अभिभावक बिहीन हुन पुगिरहेका छन् । दुई परिवार बीच कलह बढ्दैछ र अप्नत्व घटिरहेको छ । यिनै घटनाका कारण दुई परिवार दूरी बढ्दैछन् । वास्तवमा पति पत्नी बीचको नाता निस्वार्थ प्रेम, विश्वास, समर्पणको नाता हो ।

समाजमा हेर्ने हो भने महिलाहरुले आफ्नो पतिको घर परिवार, घरको सदस्यहरु हेरचाह गर्छिन् । पतिको आमाबुवा (सासुससुरा)को हेरचाह उनीहरुको सेवा सत्कार गर्छिन् । पतिका भाईबहिनी (नन्द देवर) को बिहे उनको शिक्षा दिक्षाको जिम्मेवारीहरु बिना स्वार्थ गर्छिन् । पुरुषले आफ्नो पत्नीको घर परिवारलाई हेर्छन् तर ती अपवाद मात्र हुन् । ती अपवादमा रहेका पुरुषले आफ्नी पत्नीका आमाबुवा लाई हेरचाह गर्छन् त्यसको कारण हो घरज्वाईं हुनु ।

यद्यपि पतिका आमाबुवा र भाई बहिनीलाई पत्नीले आफ्नो भाईबहिनी सरह ठान्नुपर्छ । भने पत्नीका आमाबुवा र भाईबहिनीलाई पतिले आफ्नो भाईबहिनी सरह ठान्नुपर्छ । उनीहरुलाई आफ्नो ठानी उनीहरुको सम्मान गर्नुपर्छ । उनीहरुलाई समस्या पर्दा साथ दिनुपर्छ । उनीहरुको सेवा सत्कार गर्नुपर्छ ।

यदि पत्नीको परिवार आर्थिक रुपले कमजोर छ सालासालीलाई राम्रो शिक्षादिक्षा दिन सक्ने अवस्था छैन् भने आफुले खर्च उठाउनुपर्छ । उनीहरुको लागि राम्रो घर परिवार खोजेर विवाह गरिदिनुपर्छ । उनीहरुको मान सम्मान गर्नुपर्छ । कसैले सालीका लागि कर्के आँंखा लगाउन खोज्दा उसको अस्मिताको रक्षा गर्नुपर्छ । किनकी साली आधा घरवाली होइन पूरै जिम्मेवारी हुन ।

प्रतिक्रिया

प्रतिक्रिया