बाँकेको कोहलपुर नगरभित्रका संस्थागत विद्यालयहरु शनिवारपनि सञ्चालन गरिने भएका छन् । संस्थागत विद्यालयहरुको संगठन, प्याब्सन कोहलपुरले शुक्रवार वक्तव्य जारी गरि कोभिड महामारी तथा एसीसीका विरोधमा पटक–पटक विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठनमा प्रभाव परिरहेकाले शनिवार पनि कक्षा सञ्चालन गर्न लागिएको जनाएको हो ।
प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदी र सचिव रमेश खत्रीले संयुक्त विज्ञप्तिमार्फत शनिवार पनि विद्यालय सञ्चालन गर्न आफ्ना सदस्य विद्यालयहरुलाई आग्रह गरेका छन् ।
प्याब्सन बाँकेका अध्यक्ष यम रावतले शनिवार कक्षा सञ्चालन गर्ने कोहलपुरका संस्थागत विद्यालयको निर्णयलाई राम्रो भनेका छन् । ‘विभिन्न बहानामा बालबालिकाको पठनपाठनलाई आक्रमण भैरहेको बेला कोहलपुरका निजी बिद्यालयहरुले गरेको यो सराहनीय कामको अवश्य मुल्यांकन हुनेछ,’ अध्यक्ष रावतले भनेका छन् ।
