१४ सरकारी कार्यालय सहित ३५ संघ, संस्था र ५ धार्मिक स्थल पनि
कोहलपुर–जमुनाह सडक खण्डमा सरकारी कार्यालयहरुले सडक अतिक्रमण गरेर संरचनाहरु बनाएको खुलेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले हालै गरेको सर्भेका क्रममा १४ वटा सरकारी कार्यालयले सडक क्षेत्रफल मिचेर पक्की संरचना बनाएको खुलेको हो ।
सडक डिभिजन नेपालगन्जका प्रमुख होम बहादुर एसीले कोहलपुर देखि जमुनाहसम्म ७ सय ४९ स्थानमा सडक क्षेत्रफल मिचिएको तथ्यांक संकलन भएको जानकारी दिएका छन् । ‘सडक ऐन अनुसार सडक क्षेत्रफल नाप्दा ७ सय ४९ ठाउँमा संरचना बनेको पाइएको छ’, उनले भने ।
सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार, ३५ वटा संघ, संस्था, ५ वटा धार्मिक क्षेत्रले पनि सडक क्षेत्रफल नाछाडेर नै संरचना बनाएको पाइएको छ । ‘सडक क्षेत्रफल खाली गर्न सुरुमा सरकारी कार्यालय र संघ, संस्थालाई सूचित गरेका हौं’, सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसीले भने, ‘कानुन बमोजिम सबैको सहयोग लिएर सडक क्षेत्रफल खाली गरिनेछ ।’
सडक क्षेत्रफल मिचेर संरचना बनाउनेमा अख्तियार, आन्तरिक राजश्व, खाद्य तथा व्यापार कम्पनी, कर्णाली प्रदेश प्रहरी, संघीय प्रहरी इकाइ लगायतका सरकारी कार्यालय पनि रहेका छन् । सडक डिभिजन कार्यालय नेपालगन्जले निजी क्षेत्रबाट सञ्चालित संघ, संस्थालाई पनि सडक अतिक्रमण गरी संरचना बनेको बारे सूचित गरेको छ । ‘सार्वजनिक सूचना जारी गर्यौं, सरकारी तथा संघ, संस्थालाई पनि जानकारी दियौं’, सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख एसीले भने, ‘आवश्यकता अनुसार अन्यलाई पनि सूचित गर्दै जान्छौं ।’ उनले सडक क्षेत्रफल खाली गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।
सुर्खेतरोड बिस्तारका क्रममा बिल्डअप एरियामा २१ मिटरमा रहेका संरचना समेत भत्काइएका थिएनन् । तर, अहिले सडक क्षेत्रफल खाली गराउन सडक डिभिजनले पत्राचार गरेपछि असन्तुष्टि बढेको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जले पुस २१ गते सडक ऐन २०३१ बमोजिम सडक क्षेत्रफल सडकको दायाँबायाँ २५÷२५ मिटर सडक क्षेत्रफल खाली गर्न सूचना जारी गरेको थियो । सडक डिभिजन कार्यालय नेपालगन्जले विभिन्न वहानामा सडक क्षेत्र अतिक्रमण हुँदै जाँदा साँघुरो हुँदै गएको र त्यसले भोलिका दिनमा समस्या निम्तिने, दुर्घटना बढ्ने, पार्किङ्गको समस्या हुने भन्दै सडक ऐन बमोजिम क्षेत्रफल खाली गर्न सूचित गरेको सम्बद्ध अधिकारी बताउँछन् ।