अमेरिकी षडयन्त्रको तानाबानाले यतिखेर देशलाई नराम्रोसँग भुँवरीमा पार्ने प्रयास गरेको छ । ५५ अर्बको अमेरिकी परियोजना एमसीसीको झाँसालाई पारित नगरे देश नै बर्बाद हुने, अब देश चल्नै नसक्ने, कसैले पनि अब भीख नपत्याउने भनेर नेपाली जनतालाई दिग्भ्रमित गराउने काम वर्तमान सत्ताबृतका धर्मछाडाहरुले गरिरहेका छन् । यी तिनै धर्मछाडाहरु हुन जो नेपालको अस्मिता माथि विदेशी विधर्मीहरुको नाङ्गो नाच गराउनका लागि कलकत्ता र दिल्लीमा बसेर मेजमानी खाँदै षडयन्त्रका पोका पार्ने गर्दथे । आफ्ना सन्तानलाई दलालीको छात्रबृतिमा विदेशका शिक्षालयमा राखेर नेपाली जनतालाई ढुङ्गा हान्न र सार्वजनिक सम्पत्तिमा आगो लगाउन आदेश दिन्थे । कहिले साक्सीबारी देखि द्वारिका होटल त कहिले लैनचौर देखि एभरेष्ट होटलका अँध्यारा कोठाहरुमा, कहिले पटनावालेका आँगनमा त कहिले दिल्लीको करोलबाग र खानमार्केटमा दौड लगाउँथे । आज यिनैका हातमा नेपाली अस्मिताको डाडुपन्यो पुगेको छ । जनता यिनको नियतबाट बेखबर त होइनन् तरपनि उनीहरुको भ्रमलाई नेपाली जनताले पत्यार मान्दै जिन्दाबाद र मूर्दाबाद भन्दै अगाडी पछाडी घुमिरहेका छन् । उनीहरुलाई नै सलाम ठोक्दै ठप्पा लगाउँदै छन् ।
नेपालको इतिहास संसारका जुनकुनै पनि राष्ट्रभन्दा पुरानो छ । नेपालीको निडरता, बहादुरको गाथा अदम्य छ । नेपालीहरुमा जो कसैले पनि भनेको कुरालाई छिट्टै विश्वास गर्ने बानी हिजोको जस्तै छ । यो विश्वास गरिहाल्ने बानी पूर्खादेखि नै सरिआएका कारण आजसम्म नेपालीले आफ्नो मूलकूल धर्म सँस्कृति भाषा सभ्यता र मौलिकता नै मासिदिँदा पनि मौन भएर हेरेको हेर्यै छ । आफ्नै घरमा आगो लगाउनेहरु माथि विश्वासको यो चुुली बनाउँदा नेपाली जनताले आफ्नो सँस्कृति र भाषा त गुमाउन थालिसकेका छन् भने देशै अब रहने कि नरहने भन्ने महासंकटको अवस्था आएको छ ।
नेपाली समाज उसैपनि विविधतायुक्त देश हुँदाहुँदै पनि निकै सहृदयताका साथ बसेको कहिल्यै जातिय क्षेत्रिय द्वन्दमा नगएको शान्तिपूर्ण समाज हो । यहाँको यस्तो अद्भूत सहिष्णुताबाट तीनछक्क परेका फिरङ्गीहरु र तीनका पाल्तुहरुलाई यो कुरा पचेको थिएन र आजपनि पच्न गाह्रो भैरहेको छ । नेपालको सौन्दर्यतालाई हरेक कोणबाट तहसनहस नगरेसम्म बिगत ३०० बर्ष देखि नेपालमाथि गाडेको गिद्धे नजर र बडामहाराज पृथ्वीनारायण शाहसँग मातखाएको प्रतिशोध पुरा हुँदैन । त्यसैले पनि नेपाल सधैं फिरङ्गीहरुको प्रपञ्चको मु्ख्य एजेण्डा बनिरहेको छ ।
नेपालको भूगोल दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा नै फिरङ्गीहरुको लक्ष्यको मुख्य केन्द्र हो । चीनतिरबाट दक्षिणतिरको लागि स्थलमार्गको मुख्य नाका हो भने उत्तरको चीनतिर प्रवेश र खैलाबैलाका लागि पनि नेपाल मुख्य बाटो हो । समुच्य यस क्षेत्रमा आफ्नो शक्ति केन्द्रित गरेर कुटनीतिक चाल चल्न अमेरिकाको लागि पनि नेपाल अति महत्वपूर्ण स्थान हो । यसैले त अमेरिकाले शक्तिशाली कुटनैतिक नियोग नेपालमा बनाएको छ ।
नेपालमा दशकौं देखि अमेरिकन एजेन्सीहरु काम गरिरहेका छन् । के काम गरेका छन् या किन गरेका छन् भन्ने कुरा कम्तिमा पनि यहाँका राजनीतिक पार्टीहरु र बुद्धिजीवी अधिकारकर्मीहरुलाई सोध्न हुँदैन । यो सोध्ने बित्तिकै सोध्नेमाथि बोरिबिस्तरा ्िलएर नै चढाइ गरिन्छ । नेपाललाई जे जसरी हुन्छ नेपालको मूल एजेण्डा, नेपालको आफ्नोपन, नेपालको मूलकुल धर्मसँस्कृति भाषा सभ्यता र मौलिकताबाट भड्काउनै छ । नेपालको शिक्षा देखि सिङ्गो नीति निर्माणतहमा यूरोअमेरिकनहरुको एकछत्र बोलबाला बनाउनै छ । नेपालीत्वलाई जति गाली गर्यो त्यत्तिकै ठूलो अधिकारकर्मी, ठूलो साहित्यकार र गतिलो बुद्धिजीवीको पगरी गुथाउने काम यूरोअमेरिकन एजेन्सीहरुबाट नै गराइन्छ ।
नेपाल न कहिल्यै भीखारी देश थियो न छ । नेपालको प्राकृतिक सम्पदा त आजपनि ‘भर्जिन’ अवस्थामा छ । नेपालको स्वाभिमानमा कहिल्यै कसैले दाग लगाउन सकेका छैनन् । हाम्रा पूर्खाहरुको ज्ञानको भण्डार, सुझबुझ र दूरदर्शिताका कारण आज हरेक नेपालीले आफ्नो स्वाभिमानमा अभिमान गर्ने आँट राखेको छ । यो त्यत्तिकै भीखमा पाएको चिज होइन । कुनै दशबीस अर्बको लोभमा जम्मा पारेको कुरा पनि होइन । तर बडिम्बना नै भन्नुपर्छ २०४६ साल पछिका हाम्रा शासकहरुले नेपाली जनतालाई कहिल्यै आफ्नो शीर ठाडो बनाएर हिँड्न नै सिकाएनन् । नेपालीलाई कहिल्यै आफ्ना पूर्खा र आफ्नो पौरखमा गर्व गर्नै सिकाएनन् । हामीलाई त सधैं बिपन्नताको पगरी गुथाएर भिखमङ्गाहरुको देशको पहिचान बनाउन कहिँ कतै कुनै कसर बाँकी राखेनन् ।
नेपालको कुटनीतिक क्षमतालाई पत्रु बनाएर यहाँका सम्पदाहरुलाई लावारिस बनाएर, नेपालको आफ्नो सीपलाई बन्द गरेर, नेपालको वनस्पति र बीउविजनलाई मासेर अरुको बजारिकरण गर्ने ठाउँ बनाउनेहरुले नेपाललाई हरेक कोणबाट लुछिमात्रै रहे । नेपालीका पौरखी हातबाट औजार खोसेर पासपोर्ट भिराइदिए । राष्ट्रीय पूजिलाई हेलोहोंचो गरेर बहुराष्ट्रीय कम्पनीलाई कार्पेट बिछाए । ऋण काढेर विदेशीका समान किन्ने बजार तयार गर्नेहरुले सरकार पनि विदेशीको ब्याजे पैसाबाट चलाउने परिपाटी बसाले । अनि त्यसबाट पनि नपुगेपछि नेपाललाई नै बन्धकी राख्ने योजनाहरु नेपाल भित्र्याउन कम्मर कसेर लागेका छन् । एमसीसी त्यस्तै एउटा योजना हो ।
एमसीसी नेपाललाई कुनैपनि किसिमको अनुदान या सहयोग होइन । यो त शुद्ध अमेरिकी स्वार्थका लागि गरिएको लगानी हो । अमेरिकाले आफ्नो विदेशनीतिमा ‘प्रोअमेरिकन लबी’ तयार गर्नैका लागि आफ्नो विदेशनीतिको हिस्सा बताएकै छ । तथाकथित अमेरिका र यसका एजेन्सीहरुले भनेको र चाहेको जस्तो लोकतन्त्रको अभ्यास संसारभर गराउने र त्यसैबाट अमेरिकी ‘सुप्रिमेसी’ कायम राख्ने दिर्घकालिन योजना भनेको नै एमसीसी हो । यसरी उसको ‘सुप्रिमेसी’लाई बरकरार राख्न आइपर्ने जुनसुकै देशका बिरुद्ध जान तयार हुने संसारभरिका सरकारहरु र देशहरुलाई कथित सहयोगको नाममा हुने यो अमेरिकी लगानीमा नेपालले जान किन आइपर्यो यसतर्फ नेपाललाई माया गर्ने सबै नेपालीले अवश्य चिन्तन गर्नैपर्छ ।
नेपाल जत्तिको देश र यत्तिका सक्षम जनता भएका राष्ट्रका लागि यो ५५–६० अर्ब भनेको कुनै ठूलो रकम नै होइन । यति जाबो रकम त इमान्दार सरकार हुन्छ भने खााडीमा गएका नेपाली पौरखीहरुले मात्रै पनि उठाइदिन्छन् । आयल निगमले रु. ८४ मा किनेको पेट्रोल १४२ मा बेच्दा नै नेपाली जनताले तीन महिनामा तिरेको रकम पनि यो एमसीसीको भन्दा बढि नै हुन्छ । अनि के यो रकम ठूलो हो त ? किन मरिहत्ते ? कसको स्वार्थका लागि मरिहत्ते ? के नेपाल यति गएगुजे्रेको भयो कि खोटासिक्का भीखको लागि आफ्नो अस्मिता बेच्ने ? के नेपाल अमेरिकाले बर्बाद बनाएको अफ्गानिस्तान हो जो आफ्ना बच्चा बेचेर छाक टार्ने ?
अमेरिकन एजेन्सीहरु नेपाल पसेर नेपालको शिक्षा बर्बाद बनाए । नेपालको मौलिकता ध्वस्त बनाए । नेपाली समाजमा सदियौं देखि रहेको समाजिक सौहाद्र्धयतामा आगो लगाए । हाम्रा बालबालिकालाई आफ्ना आमाबाबुलाई नटेर्ने नसोध्ने बनाए । नेपाली भाषासँस्कृति निमिट्यान्न बनाउने संघारमा छन् । आफ्नो पौरखको गास भन्दा आइएनजिओका समोसा भात गतिलो बनाए । देशको कर्मचारीतन्त्र देखि सरकारीतन्त्रहरुलाई कागज मिलाउने र तथ्याङ्क बनाएर बजेट सिद्धाउने कला सिकाए । कहिँ कुनै क्षेत्र यिनका एजेन्सीहरुले बाँकी छाडेका छैनन् । बर्षौ देखि बीउ बचाएर राख्नसक्ने हाम्रो ज्ञान, संसार जित्ने हाम्रो कौसल, संसारलाई उज्यालो दिनसक्ने हाम्रो ज्ञानभण्डारलाई भत्काएर खेताला बनाउने उनीहरुका योजनाले नेपालीको अस्मिता नै धरापमा पुगेको छ ।
‘काँक्रो चक्कु माथि खसोस् या चक्कु काँक्रो माथि खसोस् काटिने भनेको काँक्रो नै हो चक्कू त काटिँदैन नि ।’यो कुरालाई नेपालका शासकहरुले, नेपालका बुद्धिजिवीहरुले या पार्र्टीहरुले बुझेका छैनन् भन्न सकिँदैन । तर उनीहरुको नेपाल प्रतिको बेवास्ता र र्बैमानीले देख्न दिँदैन ।
सन् ९० को दशमा अमेरिका इराक पस्यो । सद्दाम जन्मायो । ८ बर्ष इरानसँग लडायो तर इराकी जनतालाई बमगोला बारुद दिएर त्यहि सद्दामलाई मारेर त्यहाँेका प्राकृतिक श्रोतमाथि आजपनि रजाइँ गरिरहेको छ । सन् २००१ पछि अमेरिका अफ्गानिस्तान पस्यो २० बर्षमा अफ्गानी जनतालाई आफ्नै बच्चा बेचेर भोक टार्नपर्ने बनाएर गयो । सिरीयामा बसर अल अलदका बिरुद्ध अमेरिका पस्यो सल्लाह गरिगरि रुस र अमेरिकाले आफ्ना हतियार बेचे, क्षमता जाँचे । मध्यपूर्व एशियाको सबैभन्दा सुन्दर देश सीरियाका दशौं लाख जनता मारियो । देशलाई खण्डहर बनाइयो । यस्ता त दर्जनौं उदाहरण छन् जो अमेरिकाले उसको स्वार्थका लागि मात्रै बर्बाद बनाएका । ती देशहरुमा मारिएका लाखौं जनताहरुको चित्कार आजपनि त्यहाँको वायुमण्डलमा गुँञ्जिरहेको होला । अनि यस्तो गैरइन्सानीयत भएको देशले नेपालमा चमत्कार गर्छ, नेपालीको भलो गर्छ भनेर बोल्ने, लेख्ने वा वकालत गर्नेहरु कम्तिमा पनि नेपाली अस्मिताका शुभचिन्तक त हुनै सक्दैनन् ।
अस्ति फागुन ४ गते संसदमा एमसीसी जाने भो भन्दा मात्रै बानेश्वर देखि देशैभरि उर्लेको जनताको चेतनालाई कत्तिपनि एहसास गर्न नचाहनेहरुले देश बनाउँछौं भन्नु र जनताको शासन चलाउँछौं भन्नु रत्तिभर सुहाउँदो भएन । यस्ताले लोकतन्त्रका कुरा गर्नु पनि बेकार हो । देश बिरुद्धको गद्दारी र अमेरिकाको दलालीलाई लोकतन्त्र भन्नुपर्छ भने त्यस्तो लोकतन्त्र नेपाललाई चाहिएको नै छैन । सबै नेपाली जनताले यस्ता पार्टी र त्यसका नेताहरुका पछाडी लागेर थपडी बजाउनुको पनि कुनै तुक छैन । कम्तिमा पनि देशको मामिलिामा गम्भीर हुन सकिँदैन भने त्यस्ताको पछि लागेर लाजको पसारो नबनाउँदा नै देशको भलो हुनेछ । देशको अस्मिता भन्दा ठूलो एमसीसी हुनैसक्दैन ।