आ.व.मा २०७७/०७८ मा अनुसार ५ सय ६७ जना नयाँ कुष्ठरोगी भेटिएकोमा नयाँ संक्रमित हुने दर १.०३ रहेको छ ।
सन् २०१० मा नेपालले राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । नेपालले १० बर्षभित्र जिल्लागत रुपमा समेत कुष्ठरोग निवारण गर्ने नीति लिएको थियो । कुष्ठरोग राष्ट्रिय रणनीति २०७३–२०७७ अनुसार सन् २०२० भित्र जिल्लागत रुपमा पनि कुष्ठरोग निवारण गर्ने लक्ष्य निर्धारित भएको थियो । तर, लक्ष्य अनुसार कुष्ठरोग जिल्लागत रुपमा निवारण हुन सकेको छैन । सन् २०२० भित्र कुष्ठरोग प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ भन्दा कम गर्ने निर्धारित समय सकिंदा पनि नयाँ बिरामीहरु पत्ता लागिरहँदा सफल नभएको हो । गत आ.व.मा ११ जिल्लामा कुष्ठरोगी निवारण मापदण्ड भन्दा बढी फेला परेका थिए ।
सन् २०२० मा जिल्ला गत रुपमा कुष्ठरोग निवारण सफल नभएपछि सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । अधिकांश तराईका जिल्लामा कुष्ठरोग प्रकोप दर १ भन्दा बढी रहेको छ ।
देशमै सबैभन्दा बढी कुष्ठरोगी भएको प्रदेश, प्रदेश नं. २ हो । लुम्बिनी प्रदेश पनि कुष्ठरोग निवारणमा असफल देखिएको छ । प्रदेश २ पछि कुष्ठरोगी उच्च भएको प्रदेश लुम्बिनी हो । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार, लुम्बिनी प्रदेशमा गत आ.व.मा २०७७/०७८ मा अनुसार ५ सय ६७ जना नयाँ कुष्ठरोगी थपिएका थिए । लुम्बिनीमा नयाँ कुष्ठरोगी पत्ता लाग्नेदर प्रति दशहजार १.०३ रहेको छ । यो दर १ भन्दा कम भएपछि मात्र कुष्ठरोग निवारण भएको मानिन्छ ।
गत आ.व.मा लुम्बिनी प्रदेशमा कुष्ठरोगका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा १ सय ५७ जना, बाँकेमा १ सय २८ जना, बर्दियामा ५६ जना, दाङमा १७ जना, कपिलवस्तुमा १ सय २८ जना, नवलपरासीमा ४९ जना, पाल्पामा ९ जना, गुल्मीमा २ जना, प्यूठानमा ४ जना, रोल्पामा ९ जना, रुकुमपूर्वमा १ जना कुष्ठरोगका विरामी रहेका छन् ।
नेपालमा हालसम्म १ लाख ९६ हजार भन्दा बढी कुष्ठरोग बिरामीलाई बहु औषधि खुवाइ निको पारिएको छ । कुष्ठरोगको कारणबाट हालसम्म करीब ३१ हजार बढी अपांगता भएको अनुमान गरिएको छ ।
नेपालमा आ.व.मा २०७७÷०७८ मा २ हजार १ सय ७३ जना नयाँ कुष्ठरोगी पत्ता लागेका थिए । नेपालले कुष्ठरोग निवारण घोषणा गरेपछि राष्ट्रिय स्तरमा भने संक्रमण दर १ प्रतिशत भन्दा कम राख्न सफल भएको छ ।
‘समयमै अस्पताल नआउने, बीचमै औषधी छाड्ने, जटिल भएपछि अस्पताल पुग्ने कुष्ठरोग निवारणको चुनौति हो
मानव नेपाली
जनस्वास्थ्य निरीक्षक
बाँकेमा पनि जोखिम
गत बर्ष १ सय २८ र चालु आ.व.मा ४४ कुष्ठरोगी थपिए
संक्रमित मध्ये अपाङ्गता दर ३.९१ प्रतिशत
राष्ट्रिय स्तरमा निवारण भएको कुष्ठरोग बाँकेमा भने हुन सकेको छैन । बाँकेमा गत आ.व.मा १ सय २८ र चालु आर्थिक बर्षमा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक मानव नेपालीले बाँकेमा कुष्ठरोग पत्ता लाग्ने दर प्रतिदश हजार १.७६ रहेको जानकारी दिएका छन् ।
‘बाँकेमा कुष्ठरोग निवारण गर्न निकै मेहनत गर्नुपर्ने देखिन्छ’, जनस्वास्थ्य निरीक्षक नेपालीले भने, ‘ढिलो गरी उपचारमा आउँदा अपाङ्गता हुने दर पनि उच्च छ ।’ निरीक्षक नेपालीले बाँकेमा कुष्ठरोगी मध्ये अंगभंग, अपाङ्गता भएको दर ३.९१ प्रतिशत रहेको जानकारी दिएका छन् ।
दुई प्रकारको कुष्ठरोग हुनेमा बाँकेमा पत्ता लाग्ने कुष्ठरोगी अधिकांस कडा खालको रहेको जानकारी दिंदै निरीक्षक नेपालीले भने, ‘नयाँ पत्ता लागेका संक्रमित मध्ये ५३ प्रतिशतमा कडा खालको कुष्ठरोग पुष्टि हुने गरेको छ ।’
बच्चामा पनि कुष्ठरोग देखिनुले सबैको सहयोगले मात्रै कुष्ठरोग निवारण गर्न सकिने जनस्वास्थ्य निरीक्षक नेपालीले बताए । ‘एक कुष्ठरोगी मध्ये ६ जना बालबालिका हुने गरेका छन्’, उनले भने ।
चालु आर्थिक बर्ष २०७८÷७९ को ६ महिनामा सबैभन्दा बढी कुष्ठरोगी नेपालगन्जका व्यक्तिमा पुष्टि भएको थियो । राप्तीसोनारी गाउँपालिकाका एक जना पनि कुष्ठरोगी फेला परेका छैनन् भने कोहलपुरका ११, बैजनाथका ५, खजुराका ३, जानकीमा ६, नेपालगन्जका १३, डुडुवामा १ र नरैनापुरका ५ जनामा कुष्ठरोग पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक भेदभावलाई शुन्य बनाउन नसक्दा पनि उनीहरु रोगबारे खुल्ने गरेका छैनन् । ‘ढिलो गरी उपचारमा आउँदा शरीरका अंगहरुमा क्षति पुगिसकेको हुन्छ’, जनस्वास्थ्य निरीक्षक नेपाली भन्छन् । कुष्ठरोग प्रतिको भ्रम, डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने कार्य व्यापक बनाउनु पर्ने उनको भनाइ थियो । ‘समयमै अस्पताल नआउने, बीचमै औषधी छाड्ने, जटिल भएपछि अस्पताल पुग्ने कुष्ठरोग निवारणको चुनौति हो’, जनस्वास्थ्य निरीक्षक नेपालीले भने, ‘प्रयास गरिरहेका छौं, रोगको शंकास्पद विरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गरेका छौं, स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुसँग पनि समन्वय गरिरहेका हुन्छौं ।’
यस्तो हुन्छ लक्षण
कुष्ठरोग लागेमा शरीरको कुनै भागमा छुदा थाहा नहुने र फुस्रो वा हल्का रातो दागहरु देखा पर्ने सुरुको चिन्ह हो । यसबाहेक अनुहार र कानका लोतीमा ग्रिखा देखिनु, छाला चम्किलो वा बाक्लो हुनु तथा आँखी भौं झरेर जानु कुष्ठरोगमा चिन्हहरु हुन् । समयमै यसबारे पहिचान नगरे पछि गएर हात खुट्टाका औंलाहरु कमजोर हुँदै गई खुम्चने र अन्तमा अंगभंग हुनसक्ने सम्भावना हुन्छ । कुष्ठरोगको औषधि सबै स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुन्छ ।
सेवा पनि मेवा पनि !
कुष्ठरोग निवारणका लागि विभिन्न खालका प्रोत्साहन कार्यक्रमहरु बाँकेमा सञ्चालन हुने गरेका छन् । कुष्ठरोग पहिचान र उपचारमा काम गर्दै आएको आइएनएफ बाँके अन्तर्गत सञ्चालित साइनिङ्ग अस्पतालका ल्याप्रोसी इन्चार्ज मंगल थारुले कसैले रेफर गरेर आएको बिरामीमा कुष्ठरोग पत्ता लागे पाँच सय रुपैयाँ रेफर गर्नेलाई दिने गरेको बताए । ‘तर, अपेक्षित रुपमा कार्यक्रमको बजेट खर्च भने भएको छैन, अहिलेसम्म ४÷५ जनाले मात्रै उक्त रकम पाउनु भएको छ’, उनले भने ।
जनस्वास्थ्य निरीक्षक मानव नेपालीले उपचार पूरा गर्ने बिरामीलाई सरकारले प्रोत्साहन स्वरुप १ हजार उपलब्ध गराउने गरेको छ । ‘औषधी निःशुल्क छ, प्रोत्साहनको व्यवस्था पनि छ’, उनले भने ।
आइएनएफमा ७४ जना फेला परे
कुष्ठरोग पहिचान र उपचारमा काम गर्दै आएको आइएनएफ बाँके अन्तर्गत सञ्चालित साइनिङ्ग अस्पतालले चालु आर्थिक बर्षको ६ महिनामा ७४ जनामा कुष्ठरोग पुष्टि भएको जानकारी दिएको छ ।
अस्पतालले बिहीबार आयोजना गरेको पत्रकारसँगको कुष्ठरोग सम्बन्धी अन्तरक्रियामा ल्याप्रोसी इन्चार्ज मंगल थारुले अस्पतालमा परीक्षणका लागि आएका विभिन्न जिल्लाका ७४ जनामा कुष्ठरोग पुष्टि भएको जानकारी दिएका छन् । जसमध्ये बाँकेका ३०, बर्दियाका २२ र दाङ्गका ५ जना रहेका छन् । ‘लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमबाट शंकास्पद बिरामी परीक्षणका लागि आउने गर्नुभएको छ’, उनले भने, ‘चालु आ.व.को ६ महिनामा हामीले ८ हजार ४ सय ३२ बिरामीको परीक्षण गरेका छौं, जसमध्ये ३ सय ७२ को छाला परीक्षणमा ५१ मा कुष्ठरोग पुष्टि भएको थियो ।’ अस्पतालले चालु आ.व.मा ७१ जनालाई भर्ना नै गरेर उपचार गरेको थियो । जसमध्ये बाँकेमा १७, बर्दियाका १४, दाङ्गका ४, कर्णालीका १८ र सुदूरपश्चिमका १० जना रहेका छन् ।
‘एक डोज औषधी खाँदा कुष्ठरोग सर्दैन, त्यसैले शंका लागेमा तत्काल परीक्षण गरेर उपचार गर्नुपर्दछ’, उनले भने, ‘समयमै परीक्षण गरेर औषधी खाँदा जटिल हुने, अंगभंग हुने जोखिम रहँदैन ।’
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य निरीक्षक मानव नेपालीले साइनिङ्ग अस्पतालले कुष्ठरोगको परीक्षण र उपचारमा ठूलो योगदान पुर्याएको बताए । ‘बाँकेमा पत्ता लाग्ने कुष्ठरोगी मध्ये ७० प्रतिशत बढी साइनिङ्ग अस्पतालमा नै पुष्टि हुने गरेको छ’, उनले भने ।
अन्तरक्रिया कार्यक्रमको सञ्चालन अस्पतालका यम बहादुर केसीले गरेका थिए ।