नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको शालिक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ र २ वडाको सीमामा अवस्थित न्यूरोडमा राखिने भएको छ । भानुभक्त चोक नामाकरण गरि स्थापित गरिएको उक्त ठाउँमा भानुभक्तको अर्धकदको शालिक राखिने भएको हो ।
लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले विहीबार शालिक निर्माणस्थलको शिलान्यास गरे ।
२०७५ असारमा नेपालगन्जको न्यूरोडस्थित उक्त स्थानलाई भानुभक्त आचार्यको नाममा चोक नामाकरण गरिएको चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार, त्यससँगै हरेक वर्ष जन्मजयन्तिका अवसरमा उक्त स्थानमा दीपप्रज्वलन सहित साहित्य कार्यक्रम गरिदैं आएको छ ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले शालिक स्थापनाका लागि पहल लिएको हो । सिनर्जीका अध्यक्ष शिव दाहालको अध्यक्षतामा भएको शिलान्यास वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, लायन्स लिडर सेम शाक्य, मधुसुदन रिजाल, होमनाथ अधिकारी, मुकुट ढकाल बोलेका थिए ।
चोकसंगै शालिक निर्माणका लागि १० लाख ९ हजार ५८४ रुपैयाँको लागत अनुमानसहित ४ महिनाभित्र ढलोटबाट निर्मित अर्धकदको शालिक राखिने योजना अगाडी बढेको अध्यक्ष दाहालले बताए ।
निर्माणमा सरकारी सहयोगको अपेक्षा गरिएपनि हुन नसकेको अध्यक्ष दाहालले बताए । कार्यक्रमबीच, भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आफ्नोतर्फबाट २१ हजार प्रदान गर्नै घोषणा गरेलगत्तै वडाअध्यक्ष हमालले २५ हजार, पूर्व लायन्स गभर्नर शाक्य र शर्माले ब्यक्तिगतरुपमा ११÷११ हजार तथा एनएलएफबाट ५० हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।