बाँकेमा एमसीसी विरुद्ध प्रदर्शन

अमेरिकी सहायता परियोजना (एमसिसी) विरोधमा बाँकेमा राजनीतिक दल तथा तीनका भातृ संगठनले प्रदर्शन गरेका छन् । नेकपा समाजवादी, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा नेपालगन्जका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै सभाको आयोजना गरेका हुन् ।

समाजवादीको प्रदर्शनमा प्रहरी अवरोध

एमसीसी विरुद्ध नेपालगन्जको धम्बोझी चोकमा प्रदर्शनमा उत्रिएका नेकपा समाजवादी निकट अनेरास्ववियु बाँके र यूवा संघ नेपालको प्रदर्शनमा प्रहरीले सामान्य हस्तक्षेप गरेको छ । कृषि विकास बैंक नजिक जम्मा भएर चोकमा पुगेका उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपछि धक्कामुक्की भएको थियो ।

धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी केहीबेरको तनावपछि स्थिति सामान्य भएको थियो । प्रदर्शनका क्रममा अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो । प्रहरी र आन्दोलनकारी बीचको तनाव अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई छोडेपछि साम्य भएको थियो ।
प्रदर्शनमा अनेरास्ववियु केन्द्रीय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका सचिव सुनिल रसाइली, अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेत तथा नेकपा एसका नेताहरू करिश्मा योगी, ऋषि पोखरेल लगायतको उपस्तिथि रहेको थियो ।
प्रदर्शनमा सहभागीले एमसीसी सम्झौता पास भएमा नेपालको सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने भएकाले कुनै पनि हालतमा पास गर्न नहुने धारणा राखेका थिए । प्रदर्शनमा सहभागी युवा तथा विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता रोक्नका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी थिएका थिए ।

‘एमसीसी अस्वीकार्य’

राष्ट्रिय जनमोर्चा बाँकेले भेरी अस्पताल नेपालगन्ज अगाडि बुधबार एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । त्यसक्रममा वक्ताहरुले एमसीसी सम्झौता पास गर्न खोज्ने राष्ट्रघाती भएको भन्दै उनीहरुले देश छाडे हुने बताएका थिए ।
‘ज्यान दिएर सहिदहरुले सार्वभौम नेपाल बनाएकोमा अहिले एमसीसीका नाममा अरुको गुलाम बनाउने षडयन्त्र भैरहेको छ’, सभामा बोल्दै जनमोर्चा नेता कृष्णराज पाण्डेले भने, ‘हामी कुनै पनि हालतमा एमसीसी स्वीकार गर्दैनौं ।’
कार्यक्रममा बोल्दै जनमोर्चा केन्द्रीय सदस्य मोमिना खातुनले एमसीसी सम्झौतामा भएमा विदेशीले नेपालमा आतंक मच्चाउने चेतावनी दिंदै सबैले त्यसको विरोध गर्नुपर्ने बताएकी थिइन् । एमसीसी सम्झौता कानुन सरह लागु हुने व्यवस्थाले नेपाललाई अमेरिकी गुलाम बनाउन सक्ने र त्यो कदापी स्वकार्य नहुने वक्ताहरुले बताएका थिए ।

‘खारेज गर’

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालले एमसीसीको विरोधमा बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघात भएको भन्दै प्रदर्शनकारीले खारेज गर्न माग गरेका थिए । उनीहरुले कुनै पनि हालतमा प्रतिनिधिसभाबाट एमसीसी पारित नगर्न चेतावनी पनि दिएका थिए ।
अखिल क्रान्तिकारीका नगर सचिव रतन शाहीले हाल विरोध मात्र गरिएको र एमसीसी पास गरिए सशक्त आन्दोलन गर्ने बताएका थिए ।

बन्दको प्रभाव न्यून
सरकारी गाडी तोडफोड

एमसीसी विरुद्ध बुधबार विभिन्न दलले आयोजना गरेको नेपाल बन्दको प्रभाव बाँकेमा न्यून परेको छ । बन्दका भएपनि यातायातका साधन र पसल, व्यवसाय निर्बाध रुपमा सञ्चालनमा आएको थिए ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका थिए ।
बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा एउटा सरकारी गाडीमा तोडफोड गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयको नाममा रहेको गाडीलाई उनीहरुले तोडफोड गरिदिएका हुन् । सुदुरपश्चिम प्रदेश ०१–००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा बन्दकर्ताले तोडफोड गरिदिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया