किसानका पीडा : चार महिना बित्यो, पाएनन् क्षतिपूर्ति

धान बाली स्याहार्ने बेला गत असार अन्तिम साता बेमौसमी बर्षात्ले देशभरका किसानको धानबालीमा क्षति पुग्यो । बेमौसमी बर्षात्का कारण विगत पाँच बर्ष यताकै धानबाली उत्पादनमा कमी भयो । .

बर्षात्ले काट्न तयार र काटेको धानमा क्षति पुर्याउँदा गत आर्थिक बर्ष २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा धान उत्पादनमा ८.७४ले कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक रहेको छ । धान उत्पादन बढी हुने लुम्बिनी तथा सुदूरपश्चिम क्षेत्रमा बेमौसमी बर्षाले क्षति पुर्याएपछि राष्ट्रिय उत्पादनमा कमी आएको थियो ।


बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएपछि सरकारले राहत दिने घोषणा गर्दै तथ्यांक संकलन गरेको थियो । लुम्बिनी प्रदेशमा गत आर्थिक बर्षको तुलनामा १८.३८ प्रतिशत धान उत्पादनमा कमी आएको थियो ।

वर्षाका कारण धानमा भएको क्षतिका आधारमा किसानलाई राहत प्रदान गर्न कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । किसानको क्षति भएको चार महिना बितेको छ भने राहतको निर्णय गरेको पनि ३ महिना नाघिसकेको छ । तर, किसानले अझै राहत पाएका छैनन् ।

सरकारले ५ बर्ष रुपैयाँ धानमा क्षति पुगेका किसानलाई वितरण गर्ने योजना बनाएको थियो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ११ अर्ब रुपैयाँ भन्दा बढी क्षतिको अनुमान गरेको थियो ।

बाँकेबाट जिल्ला प्रशासन कार्यालय बाँकेले यसअघि नै आठ वटै स्थानीय तहबाट प्राप्त क्षतिको विवरण पठाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिएका छन् ।

सरकारले राहत वितरणको निर्णय गरेसँगै प्रत्येक जिल्लाबाट क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराउन निर्देशन दिएको थियो । सोही अनुसार, बाँकेका आठ वटै स्थानीय तहबाट संकलित ३८ करोड क्षतिको विवरण पठाइएको थियो ।


ऋणधन गरेर लगाएको बाली नोक्सान भएपछि सरकारी राहत पाउने खबरले उत्साहित किसान अहिले राहतको पर्खाइमा छन् । उनीहरु प्रत्येक दिनजसो राहत आयो कि आएन भन्दै सरोकारवाला निकायमा धाउने गरेका छन् ।

‘धानमा भएको क्षतिले बिक्री गर्ने त कुरै छाडौं, बर्षभरी खानलाई समेत पुग्ने अवस्था रहेन’, किसान सर्जु यादवले भने, ‘राहत दिने भनेर फाराम भर्यौं, कहिले आउँछ थाहा छैन ।’ ‘धानको क्षति भएको राहत पाए गहुँमा लगानी गर्ने सोंच थियो तर अहिलेसम्म राहत पाउन सकेका छैनौं’, उनले भने ।

डुडुवा गाउँपालिकाका किसान राजकुमार शुक्लाले सरकारले राहत दिन्छु भनेपनि अहिलेसम्म नपाउँदा समस्या भएको बताए । ‘विवरण बुझाएका छौं, राहत पर्खेर बसेका छौं’, उनले भने ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बाँकेमा धानबाली क्षतिको विवरण प्रक्रियागत रुपमा पठाइसकेको जानकारी दिए । ‘पहिले बेमौसमी बर्षात्ले धानबालीमा मात्रै क्षति भयो, पछि मसुरो, तोरी, तरकारी लगायतका बालीमा पनि नोक्सान पुर्याएको छ’, उनले भने ।

‘राहत बजेटको जानकारी आइसकेको छैन’

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बाँकेमा भएको धान क्षतिको विवरण पठाएपनि राहतको बजेट उपलब्धता बारे जानकारी नआएको बताएका छन् । ‘प्रारम्भिक विवरण पठायौं, तर राहत कहिले उपलब्ध हुने भन्ने जानकारी प्रशासनमा आइपुगेको छैन’, उनले भने ।


सहायक प्रमुख जिल्ला अधिकारी केसीले क्षतिको विवरण संकलन गर्दा किसानको बैंक खाताको विवरण समेत लिइएकाले उनीहरुको खातामै रकम जम्मा हुनसक्ने बताएका छन् । ‘बजेट आएपछि बैंक खाताको विवरण लिइएका खातामै रकम जम्मा हुनसक्छ’, उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी केसीले कोलेनिकाबाट गाउँपालिका निकासा हुने र बैंक खातामा जम्मा गर्ने योजना पूर्वनिर्धारित छ । ‘कुनै परिवर्तन नभए किसानले आफ्नै खातामा दाबी रकम पाउनेछन्’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया