टुट्दैछन् सम्बन्ध

प्रेम विवाह होस् वा मागी विवाह, जीवन रहँदासम्म साथ रहने वाचा हुन्छ । तर, जीवनभरी सँगै बस्नका लागि बनाइएका सम्बन्धहरु त्यसअघि नै टुट्ने गरेका छन् । यसका विविध कारणहरु हुने गरेपनि सम्बन्ध कमजोर हुँदै गएको सम्बन्ध तोड्का लागि गरिने उजुरी तथा मुद्दाहरुबाट देखिन्छ ।

विवाह गर्दा सात फेरो लिएर गरिएका वाचाहरु तोड्नका लागि अदालत पुग्नेहरु बढ्दै छन् । पहिले सम्बन्ध विच्छेदका लागि अदालत धाउने महिलाको संख्या बढी हुनेमा मुलुकी देवानी संहिता ऐन, २०७४ लागु भएपछि पुरुषहरु पनि सम्बन्ध तोड्नकै लागि अदालत पुग्ने गरेका छन् ।

कानुनी प्रक्रिया पूरा नगरी सम्बन्ध तोडेर अर्को सम्बन्ध गाँस्नेहरु अदालतको कठघरामा पुग्ने गरेको थुप्रै घटना बाँकेमा पाइन्छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा गत तीन आ.व.मा मात्रै बहुविवाहका ६३ वटा मुद्दा परेका छन् । प्रहरीका अनुसार, आ.व. २०७५/०७६ मा ३२, आ.व. २०७६/०७७ मा १६ र आ.व. २०७७/०७८ मा १५ वटा मुद्दा परेका थिए । चालु आर्थिक बर्षको चार महिनामा ८ बहु विवाहका मुद्दा दर्ता भैसकेका छन् ।


जिल्ला अदालत बाँकेमा पनि बहुविवाहका मुद्दा अन्य मुद्दाका तुलनामा निकै धेरै पर्ने गरेका छन् । अघिल्लो आ.व.को तथ्यांक हेर्दा जिल्ला अदालत बाँकेमा सबैभन्दा बढी अंश र त्यसपछि बहु विवाहका मुद्दा दर्ता हरुने गरेका हुन् । अदालतको तथ्यांक अनुसार, आ.व. २०७७/०७८ मा ४ सय ३२ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । उक्त आर्थिक बर्षको अन्त्यसम्म २ सय ३९ वटा फस्र्यौट भएका थिए भने १ सय ९३ फस्र्र्यौट हुन बाँकी रहेका थिए । गत आ.व.मा माना चामलका १ सय २३ वटा मुद्दा दर्ता भएकोमा १९ थान मुद्दा मात्र फैसला भई १ सय ४ वटा मुद्दा चालु आ.व.मा सरेका थिए । अघिल्लो आर्थिक बर्षमा ५ सय २९ वटा अंश मुद्दा दर्ता भएकोमा १६३ थान मुद्दा फर्छ्यौट भएका छन् भने ३ सय ६६ वटा मुद्दा चालु आ.व.मा सरेका थिए । अंश मुद्दा हाल्ने महिलाको संख्या पनि उल्लेख्य रहेको छ ।
बालबिहे गरेका कारण तथा बैदेशिक रोजगारीमा दुई तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु, विवाहित महिला तथा पुरुषको अर्कोसँग प्रेम बस्नु जस्ता कारणले गर्दा पनि बाँकेमा सम्बन्ध बिच्छेद गर्ने दम्पत्तिहरुको संख्या दिन प्रति दिन बढदै गएको तथ्यांकले देखाउँछ ।

कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता बसन्त गौतम बताउँछन् । वैदेशिक रोजगारीका कारण पनि पतिपत्नि बिच सम्बन्ध विच्छेद हुने गरेका गौतमले बताए । ‘रुचि नहुँदा नहुँदै अभिभावकले गरिदिएको सम्बन्धमा पछि फाटो आउने गरेको छ’, कानुन व्यवसायी भन्छन्, ‘प्रेम विवाह गर्नेहरुको सम्बन्ध पनि केही बर्ष पनि नटिकेको पाइन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया