स्थानीय तहको निर्वाचन सरगर्मीः कोहलपुरमा ‘अटेरी’को उम्मेदवारी
पर्यटन व्यवसायको क्षेत्रमा डेढ दशक देखि क्रियाशील युवा देवानन्द अर्यालले आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
दलका नाममा जे जस्तालाई पनि उम्मेदवारी दिने ? हामी आँखा चिम्लेर भोट हालिदिने ?
तपाई मलाई मात्रै एक भोट दिनुस्, म तपाईको प्रत्यक्ष सरोकार र बिकासका काममा ५ बर्ष दिनेछु ।
शनिवार कोहलपुरस्थित आफ्नै व्यवसायिक कम्प्लेक्स हाम्रो बजारमा आयोजित कार्यक्रमबीच युवा उद्यमी अर्यालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफुले नगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
केही समययता विद्यमान दलीय राजनीतिका बिकृत पक्षबारे सामाजिक सञ्जालमार्फत उजागर गर्दै आएका युवा उद्यमी अर्याल ‘अटेरी समूह’ सँग आबद्ध भएका छन् । ‘मेरो उम्मेदवारी कुनै पार्टी र कुनै व्यक्तिका विरुद्ध नभइ सचेत नेपाली नागरिकका हैसियतले हो,’ कोहलपुरलाई पाँच वर्षभित्रै विकासमा कायापलट गर्न सकिने तर्क गर्दै अर्यालले भने, ‘दलीय दल–दल र अराजकताविरुद्ध मेरो उम्मेदवारी हो ।’
बाँकेको कोहलपुरमा पहिलो ‘व्यवस्थित आधुनिक बजार’ चलाइरहेका अर्याल पाँचतारे होटल सेन्ट्रल प्लाजाका संस्थापक हुन् । पर्यटन व्यवसायी उनी बर्दियामा जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन गरिरहेका छन् ।
यसरीनै देशभर दलीय अराजकताविरुद्ध संगठित प्रतिवाद जरुरी देखियो । कम्तिमा स्थानीय तहलाई दलहरुले निहीत स्वार्थभन्दा माथि उठेर उम्मेदवारी दिन दबाब सिर्जना गर्छ ।
अटेरी अभियानका रुपमा पोखरा महानगरमा गणेश पौडेल र काठमाडौँ महानगरमा ¥यापर बालेन शाहले उम्मेदवारी घोषणा गरेपछि आफुले कोहलपुरमा त्यसै अनुरुप अगाडी बढेको अर्यालको भनाइ छ । ‘यसरीनै देशभर दलीय अराजकताविरुद्ध संगठित प्रतिवाद जरुरी देखियो,’ देशभर अटेरी अभियान नेपाल मार्फत स्थानीय तहमा युवाहरु स्वतन्त्र रुपमा निर्वाचन लड्ने तयारी गरिरहेको दावी गर्दै अर्यालले भने, ‘कम्तिमा स्थानीय तहलाई दलहरुले निहीत स्वार्थभन्दा माथि उठेर उम्मेदवारी दिन दबाब सिर्जना गर्छ ।’ उनले आफुभन्दा राम्रो उम्मेदवार दलहरुले उठाउन भन्ने चाहेको तर्क गरे ।
‘दलका नाममा जे जस्तालाई पनि उम्मेदवारी दिने ? हामी आँखा चिम्लेर भोट हालिदिने ?’ उम्मेदवारी घोषणापछि
दैनिक नेपालगन्जसँग कुरा गर्दै युवा उद्यमी अर्यालले भने, ‘यो म नेता बन्नमात्रै नभइ एक किसिमको आन्दोलन गर्न खोजिएको हो ।’
विजयी भएमा गर्न सक्ने योजना र हिम्मत दुुबै भएको तर्क गर्दै उनले कसैलाई चन्दा नदिन अपील पनि गरे । ‘म पनि एक पैसा चन्दा लिन्न,’ चन्दा लिनेको काम गर्दै जनप्रतिनिधिले कार्यकाल सक्नुपरेको औल्याउँदै भने, ‘अब कसैले चन्दा नदेओस्, नलेओस् ।’ उनीसँग
दैनिक नेपालगन्जले गरेको संवाद अंश
म पनि एक पैसा चन्दा लिन्न, अब कसैले चन्दा नदेओस्, नलेओस् ।
मेयरमै किन उम्मेदवारी त !
मेयर मै रोज्नुमा दुईवटा कारण छन् । एउटा कुरा, प्रत्यक्ष आफ्नो ठाउँको बिकासमा आफ्नो साेंच अनुसार काम गर्न सकिने सम्भावना रहन्छ । अर्काे, सरकार फेरबदलले कुनैपनि असर नगरी ५ बर्ष पूर्ण कार्यकाल आफ्नो योजना कार्यान्वयन गर्दै जनतासंग प्रत्यक्ष सहभागिता हुन सकिन्छ ।
आन्दोलनमात्रै हो की उम्मेदवारी ! के सन्देश दिन खोजेको हो ?
यो उम्मेदवारी नै दलिय बेथिति, अकर्मण्यता र असक्षमताविरुद्ध हो । जुन चुनाब नैतिकतालाई लत्यायर वास्तविक राजनीति भन्दा पर फालेर पैसाको बलमा चुनाब लड्ने कुप्रथा र पार्टी भित्रको सिन्डिकेटले असक्षम मान्छेलाई बारम्बार दोहोर्याउने बेथिति छ, त्यसको बिरुद्ध यो अभियान पनि हो आन्दोलन पनि हो ।
के भनेर जाँदै हो त जनतामाँझ ?
यीनै पार्टीहरुले हिजो देखि गर्दै आएका गल्ती कमीकमजोरीलाई सच्यायर केही नबिनतम योजना सहित जाँदैछु । अबका दिनमा कम्तिमा पनि राम्रो गर्ने बचनबद्धताका साथ हाम्रो घोषणा पत्र जनता माझ पुग्दैछ ।
व्यवसायिक मान्छे कहाँ फेरि यो राजनीतिको रंग चढाउन खोज्नु भो ?
मेरो १५ बर्षको व्यवसायिक तिता मिठा अनुभबले नै मलाई प्रेरित गरेको छ कि तिमीले जनप्रतिनिधिको भूमिकामा योगदान दिनुपर्ने देखियो । राज्यले वास्तविक रुपमा शिक्षा, स्वास्थ, उद्योग व्यापार र श्रम तथा रोजगारीको बृहत्तर बिकासको लागि मूलरुपमा रुपमा सुधार गर्नुपर्ने कामहरुको प्राथमिकतानै निर्धारण गरेर आएको हो । राजनीति होइन, सेवा गर्न र सुधार गर्न मेरो आवश्यकता बोध भएको हो ।
दलीय दबाब झेल्न सकिन्छ त ?
मैले यो उम्मेदवारी घोषणा हुनुभन्दा अगाडीनै ती सबै पक्षलाई केलाएको छु । सम्पूर्ण परिणाम झेल्न आफुलाई मानसिक रुपमा तयार गरेको छु ।
उसो भए, अन्त्यमा केही ?
अन्त्यमा म सम्पूर्ण कोहलपुर नगरवासी दाजुभाई दिदिबहिनीहरुमा एउटा अनुरोध गर्दछु हामीले धेरै बर्षदेखि टेरिरहेको पार्टी, ब्यक्ति र गुटलाई अटेर गरांै र स्वतन्त्र सक्षम उम्मेदवारको लागि अटेरी अभियानमा सामेल बनांै ।
‘तपाई मलाई मात्रै एक भोट दिनुस्, म तपाईको प्रत्यक्ष सरोकार र बिकासका काममा ५ बर्ष दिनेछु ।’