वंशजको पहिचान मातृ हक

आज बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा हामी एउटा यस्तो विषयमा चर्चा गर्नेछौं । जसले सीधा प्रभाव हरेकको जीवनमा पारिरहेको हुन्छ नै । त्यसमा पनि सबभन्दा बढी प्रभाव महिलाको जीवनमाथि पार्ने गरेको छ । यद्यपि ती महिला कुनै धर्म, वर्ग र समुदायको किन नहुन् ।
यो जातको प्रश्न खास गरी तल्लो र माथिल्लो समुदाय बीच फरक छुट्याउने र महिलामाथि पुरुषको वर्चश्व देखाउनका लागि सोधिने गरिन्छ । जसको बारेमा लेखभित्र विस्तृत रुपमा खुलस्त पार्न खोजिएको छ । पुरुषले आफ्नो पत्नीको थर राखेर कहिल्यै आफ्नो परिचय दिदैनन् । पुरुषको कागजातमा कहिले पनि पत्नी थर लेखिदैन, फलस्वरूप पुरुषहरुको कागजातमा उनको नामका साथमा आमा वा पत्नी थर बिरलै भेटिन्छ ।


पुरुषले आफ्नो इच्छा अनुसार थर राख्दा कसैलाई कुनै आपत्ति हुँदैन । हुन त यही पुरुषप्रधान समाजभित्र भनिन्छ कि महिलाको कुनै जात हुदैंन । तर व्यवहारमा अलि फरक छ । जबकि हेर्ने हो भने सबभन्दा बढी जात थर महिलाकै पाइन्छ । यसको मुख्य कारण हाम्रो पुरुषप्रधान सोंच रहेको छ ।


पुरुषहरुले महिलामाथि आफ्नो कुनै कालखण्डमा वर्चश्व देखाउनका लागि यस्तो चलन थाले जसको परिणाम यो छ कि समाजको हरेक तह तप्का निकाय सब यही साेंचबाट ग्रसित भइ यथावत नै छन् । उदाहरणका लागि एउटी छोरीले आफ्नो पहिचान बताउन आफ्नो बुवाकै थर बताउनु पर्छ । यहांँसम्मकी सरकारी कागजात बनाउँदा बुवाकै थर लेखाउनु पर्छ । यदि बुवाको लेखिएन भने कागजात निकायमा आधिकारिक मानिदैन र व्यक्ति आधिकारिक मानिदैन समाजमा ।

यसै गरी उनले जब विवाह गर्छिन् तब उनले आफ्नो पतिको थर पनि आफुसंगै जोडिनुपर्ने चलन छ । एक महिला जो सक्षम हुन्छिन्, शिक्षित हुन्छिन् हुन त उनको पहिचानका लागि क्षमता योग्यता दक्षता र योगदानलाई महत्व दिनु पर्ने तर महत्व हुन्छ त केवल थर र जातको जुनकी उनले थप्दै बोक्दै जाने गर्नुमै समाजको मर्यादा कायम रहन जान्छ । एउटा महिलाले आफ्नो इच्छा अनुसार आफ्नो आमाको थर आमाको नामबाट वंशजको पहिचान चयन गर्न पाउनु उसको मातृ हक हो ।

जसबारे इस्लाममा प्रष्ट उदाहरण छ कि पैगम्बरे इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लाहो अलैहे वसल्लमको वंशज उहाँंकी छोरी हजरत फातिमा सलामुल्लाह अलैहाद्वारा अगाडि बढ्यो । हजरत फातिमा सलामुल्लाह अलैहाका छोरा हजरत इमाम हसन अलैहिस्सलाम र हजरत इमाम हुसैन अलैहिस्सलामले आफ्ना सन्तानबाट पैगम्बरे इस्लामको वंशलाई अगाडि बढाउनुभयो । यसले थाहा हुन्छ कि वंशज अगाडि बढाउने जिम्मा छोराको मात्र होइन छोरीलाई पनि हक हासिल छ , तर व्यवहारमा शुन्यता ।

समग्रमा जातको प्रश्न बारे चर्चा गर्नु अघि यो प्रष्ट हुनु आवश्यक छ कि प्रश्न नै किन गरिन्छ ? हेर्नुस् प्रश्नको सुरुआत नै ठुलो र सानो बीच फरक देखाउनका लागि गरिन्छ । यो लेख स्थलगत अनुभवका आधारमा लेखिएको हो । यस बारे तपाई आफै पनि कुनै पनि स्थान, टोल छिमेक, गाउँबस्ती, कार्यालय वा परिवार बीच बसेर मनन् गर्न सक्नुहुन्छ । यही सानो ठुलो, उच्च र तल्लो भनिने कुराले समाजमा भेदभाव, घृणा असभ्य व्यवहार, अमानवीयतालाई जन्म मात्र दिएन, त्यसलाई कायम राख्न समाजमा एउटा ठुलो खाडल नै बनाइ दिइसकेको छ । जुन खाडलको एकतिर ठुलो र अर्कोतिर सानो भनी दूरी बनाइ दिएको छ ।

त्यो सानो जात र ठुलो जातको प्रश्न फेरि एक ठाउँ मात्र हराउने गरेको छ जब पद, प्रतिष्ठा र सम्पति हुन्छ । जातीय विभेदको यो खाल्डोले जीवनयापनमा कसरी प्रभाव पार्दैछ ? यसलाई कसरी हटाउन सकिन्छ ? यसका लागि कस्ता पहल आवश्यक छन् ? यो खाडल पुरियो भने समाज कस्तो हुनेछ ? यिनै विषयवस्तुको सेरोफेरो रही आज चर्चा गर्नेछौं एउटा सभ्य समाज निर्माणका लागि हामीले आफ्नो भुमिका कसरी निर्वाह गर्नुपर्छ आदि ।


सामाजिक परिवेश
उदाहरणका लागि तपाई कुनै कार्यालयमा जानुस् त्यहाँं हाकिम समक्ष आउने एउटा सर्वसाधारण नागरिकसंग उसले गरेको वार्तालापमा प्रयोग हुने शब्दलाई मनन् गर्नुस् । सर्वसाधारण नागरिकसंग हाकिमले कुरा गर्नु त दोस्रो पार्ट हो पहिला त ऊतिर ध्यानाकर्षण हुन समय लाग्छ किनभने हाकिम साहब मोबाइल फोनमा वा आएका अन्य ठुलाबडासंग कुरा गर्न व्यस्त देखिन्छन् । जब फुर्सद मिल्छ अनि सोध्ने प्रश्न स्वर र शैली हेर्नु होला भने स्वर कडा शैली हाकिमेपारा र शब्द हुन्छ, ‘एक छिन पर्खिनुस् अलि व्यस्त छु’ वा के काम छ केका लागि वा किन आएको ? सोधिन्छ ।

जबकी हाकिमलाई थाहा हुन्छ कि निश्चित नै ऊ जहां बसेको छ त्यही कार्यालय संग सम्बन्धित काम भएर नै आएको हो आलु किन्न त आएको होइन होला । तर त्यही हाकिमको स्वर स्वाभाव र शब्द त्यतिखेर फरक पाउनुहुनेछ जब उसको कार्यालयमा ऊ भन्दा माथिल्लो तहको व्यक्ति वा राजनीतिमा उच्च पदमा रहेको व्यक्ति पुग्छ ऊ चाहे जुनसुकै समुदायको किन न होस् पदीय मर्यादा क्रममा उच्च होस् केवल । अनि हेर्नुहोला त्यतिखेर स्वरमा मिठास, शैलीमा सम्मान र शब्द हुन्छ, ‘ऐ सर, हजुर आउनुभयो म त धन्न भएँ, हजुर किन आउन कष्ट गर्नुभयो फोन गरे भइहाल्थ्यो नि हजुरले ।’ यो त उदाहरण मात्र हो पदीय रुपमा ठुलो र सानो बीच फरक छुट्याउने ।

अर्को उदाहरण गाउँ समाजको हेरौं तपाई कुनै अन्जान गाउँबस्तीमा पस्नुस् । त्यहांका मानिसले तपाईलाई यसरी आश्चर्य चकित भएर हेर्छन् तपाईलाई लाग्न थाल्छ कि म फरक टोलमा होइन् फरक ग्रहमा आइहालेछु कि क्या हो ! अनि तपाईसंग प्रश्न सोधिनेछ जसमा तपाई किन आउनुभयो के कारणले आउनुभयो भन्ने जस्ता शब्द भन्दा पहिला तपाईको नाम र थर सोधिन्छ । परिचयमा नाम मात्र भनेर हेर्नुस् त सबका आंखामा प्रश्नचिन्ह देखिनेछ कि नाम त ठीकै छ अनि थर नि ? नभन्दै तिनै बीचबाट कसैले लाज नमानेर टिठाइका साथ सोधि नै हाल्छन् अनि थर नि थर के हो ?

तपाईले समाजमा ठुलो गनिने थर भन्नुभयो वा त्यहां उपस्थित व्यक्तिहरुको थर भन्दा उच्च थर भन्नुभयो भने तपाईसंग गरिने व्यवहार अलि फरक खाले हुन्छ । भनाइको अर्थ तपाईकै लेबलको थर हुने व्यक्ति छ भने उसले तपाईको पुर्खा बारे सोध्न थाल्छ तपाईको बाउबाजेको नातागोता कहां कहां छ भनी सोध्दछन् । अनि अन्तमा ऊ तपाईसंगको भए नभएको नाता आकाश पाताल भुइं खनेर निकालिहाल्छन् । अब तपाईलाई आफ्नो घर लग्छ स्वागत सत्कार गर्छ । अनि बल्ल तपाईसंग गाउँबस्तीमा आउने कारण सोध्छन् ।

तर त्यही अर्को अवस्थामा व्यवहार फरक देखिन्छ जब तपाईले भनेको थर त्यहाँं रहेका व्यक्तिहरुको भन्दा तल्लो वा दलित पर्न जान्छ । एकएक गरि मानिस बाटो लागिहाल्छन् । ए फलाना त कुरा गर है, ओए ढिस्काना तैले कुरा गर भनी खिल्ली उडाउदैं त्यहिंबाट बिस्तारै बिस्तारै गइहाल्छन् । अब यदि कुनै एकदमै दयालु वा सामाजिक व्यक्ति छ भने मात्र उसले तपाईलाई आउने कारण सोध्छ । तपाईलाई चियापानी खान सोध्छ । नत्र त तपाईले त्यहां भीड कति खेर हरायो भनी ट्वां परेर हेरिरहेको हुनेछ ।

थाहा छ यो जातको प्रश्न आखिर किन गरिन्छ ताकी तपाई र समाज बीच उच्च र तल्लो को छ भनी पत्ता लगाइकन गांउ समाजलाई तपाईसंग त्यही अनुसार व्यवहार गर्न सहज होस् भनी ।
तल्लो जाति र माथिल्लो जाति बीचको फरक छुट्टियाउन र महिलाका हकमा पुरुषको वर्चश्व देखाउनका लागि गरिन्छ जातको प्रश्न ।

आवश्यक पहल
एकाईसौं शताब्दीमा जहां विज्ञानले फड्को मारेको छ । फलामको हवाईजहाज बनेर हावालाई चिर्दै उड्न थालेको छ । काठको नाव बनेर समुन्द्रको छाती चिरेर तैरिरहेको छ । मानिसलाई विस्थापित गर्दै उद्योग पतिहरुले रोबोटले कलकारखाना चलाइरहेका छन् । तामाको तारले करेन्ट प्रवाह गर्दैछ । कांचका बल्बले उज्यालो छर्दैछ । प्लास्टिक,फलाम र कांसले पंखा ए.सी. बनेर कोठा चिसो पारिरहेछ । फलामले सियो बनेर लुगा सिउँदैछ । विभिन्न धातु र प्लास्टिक मिलेर मोबाइल बनेर संसारलाई मुठ्ठीमा पारेको छ ।


त्यही एकाईसौं शताब्दीमा हाम्रो देश जातमा अल्झेर बसेको छ । जुन कार्य विभाजनका कारण समाजमा जातीय छुवाछूत ,घृणा भेदभाव प्रारम्भ भयो त्यस कार्यको दोष होइन । बरु सारा परपंच शिक्षा र धनको छ । शिक्षा र धन नै यस्तो कुरा हो जसले दलित शुद्र सबैलाई पवित्र गरिदिन्छ । आज अवस्था र मानसिकता यस्तो भइसकेको छ कि धनवान हुनु नै सफलता मानिन्छ । यस प्रथालाई यदि समाप्त गर्नु छ त ‘लुहार बन्नुस् त टाटा जस्तो, चमार बन्नुस् त बाटा जस्तो, दमाई बन्नुस् त अनु श्रेष्ठ र मनिष मल्होत्रा जस्तो, सुनार बन्नुस् त रिद्धि सिद्धि र शालीमार जस्तो, ज्ञानी बन्नुस् त बाल्मिकी जस्तो’ अनि हेर्नुस् कसरी तपाईलाई हेर्ने दृष्टिकोण फेरिएको पाउनु हुनेछ ।


भनाइको अर्थ यो छ कि हरेक समुदायका व्यक्तिले गुणस्तरीय उच्च शिक्षा हासिल गर्नुपर्छ । जसले तपाईलाई पद र तपाईको पद अनुसारको पदीय मान सम्मान दिलाउंँछ । त्यसका साथै जसले कारणवश शिक्षा आर्जन गर्न सकेका छैनन् तिनले अथक मिहेनत गरी धन कमाउनुपर्छ । स्मरण रहोस् धन कमाउन जायज बाटो र इमानदारिता हुनु अति जरूरी छ । चोरबाटो, भ्रष्टाचार र बेइमानीले कमाएको धनले तपाईलाई संसाधन त दिलाउन सक्छ तर सम्मान र सन्तोष इमानदारीले कमाएको धनले मात्र सम्भव छ ।


हाम्रो दायित्व
सर्वप्रथम त हामी मानव सृष्टिको सर्वश्रेष्ठ प्राणी हौं भनी प्रमाणित गरौं । यसका लागि हामीले मानवलाई मानव ठानेर उससंग मानवीय व्यवहार गरौं । जात,धर्म, पद, धनका आधारमा कसैसंग भेदभाव, घृणा र अमानवीय व्यवहार नगरौं । समस्यामा परेकाहरुको निस्वार्थ निष्ठाका साथ सहयोग गरौं । अनि सबभन्दा महत्त्वपूर्ण कुरा आ आफ्नो जिम्मेवारी चाहे त्यो राजनीतिक रुपमा होस्, न्यायधीशका रुपमा होस्, अधिवक्ताको रुपमा होस् , प्रहरीको रुपमा होस् सामाजिक रुपमा होस्, अधिकृतका रुपमा होस्, पत्रकारको रुपमा होस्, अधिकारकर्मीका रुपमा होस्, शिक्षकका रुपमा होस् , विद्यार्थीका रुपमा होस् , स्वास्थ्यकर्मीका रुपमा छिमेकीका रुपमा होस् , परिवारको सदस्यको रुपमा होस् वा देशको नागरिकको रुपमा होस् पुरै लगन र इमानदारीसाथ निर्वाह गरौं । सबै समुदायले एक अर्कासंग समान रुपले स–सम्मान व्यवहार गरौं ।

परिकल्पना
जब सबै लिंग, वर्ग, धर्म, समुदायकाले गुणस्तरीय शिक्षा हासिल गर्छन् र आफ्नो योग्यता दक्षता अनुसार पदमा आसीन हुन्छन् । तब यो जातीय विभेदको अन्त्य हँुदै जानेछ । सबै शिक्षित भइ आ–आफ्नो मर्यादा अनुसार भुमिका निर्वाह गर्नेछन् । शिक्षित व्यक्तिहरुले पदका साथै धन पनि आर्जन गर्नेछन् जसले गर्दा उनको आर्थिक स्थितिमा सुधार हुँदै जानेछ । समाजमा जातका आधार कायम रहेको भेदभाव, घृणा, अमानवीयतालाई शिक्षाले अन्त्य गरिदिनेछ । अनि एउटा सभ्य समाजको निर्माण हुनेछ, जहाँं जातीय वर्चश्व र विभेदरहीतका सबै लिंग, वर्ग, धर्म, जाति समुदाय आदिका शिक्षित व्यक्तिहरु रमाएर मिलेर बसेका हुनेछन् । जात बारे कसैसंग कुनै प्रश्न नै हुनेछैन ।

प्रतिक्रिया

प्रतिक्रिया