प्रजातान्त्रिक आस्थाका पत्रकारहरुको संगठन, नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’मा नेपाली काँग्रेसका नेता नारायणप्रसाद गौडेलले २५ हजार प्रदान गरेका छन् ।
युनियनका सचिव विजय मल्लका अनुसार, कोषका उपसमिति संयोजक कमल खत्रीलाई आसन्न काँग्रेस जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवार गौडेलले शुक्रबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा पार्टी उपसभापति पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी र पार्टी पूर्व सभापति कृष्णमान श्रेष्ठ पनि सहभागी थिए ।
अध्यक्ष अर्जुन ओलीका अनुसार, कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले कोष स्थापना गरेको थियो । ‘धेरैले सहयोगको प्रतिबद्धता र घोषणापनि गर्नु भएको छ,’ अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘प्राप्त सहयोग नेता गौडेलको पहिलो हो ।’
कोषका लागि आवश्यक सहयोग गर्न शुभेच्छुक, संघ संस्था तथा निकायलाई आग्रह गरेको युनियनले कोषले बाँके जिल्लाका सबै पत्रकारलाई समेट्ने प्रतिबद्धता जनाएको छ ।
सचिव मल्लले शुक्रवार प्रेस विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार, कोषसँगै युनियनले ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’, ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’ लाई पनि थप ब्यवस्थित गर्ने योजना अगाडी सारेको छ । ‘यी पुरस्कारलाई थप ब्यवस्थित गर्ने कार्यमा पनि सहयोग तथा सहकार्य गर्न युनियन बाँके शाखाले सबैलाई आग्रह गरेको छ,’ सचिव मल्लले भने ।