खजुरा : खानेपानीमा राजनीतिक गठबन्धन

स्थानीय निर्वाचनको ‘रिहर्सल’ गर्दै खजुरा

आगामी माघ २९ गते खजुरा खानेपानी तथा उपभोक्ता समितिको निर्वाचन हुँदैछ । आगामी कार्यकालका लागि हुन लागेको निर्वाचन पूर्ण रुपमा राजनीतिक प्रतिस्पर्धामा जाने भएको छ ।

मुख्यत सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनमा सहभागी दलहरुलाई समेटेर उम्मेदवारी दर्ता गराएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राप्रपालाई साथ लिएर प्रतिस्पर्धामा उत्रिएको छ । ‘सर्वसम्मत ढंगले निर्वाचन गरी खजुराबासीलाई शुद्ध पानी खुवाउनुको साटो दलीय राजनीति गरेर खजुरामा आसन्न स्थानीय निर्वाचनको रिहर्सल गरिएको छ’, निर्वाचन प्रक्रियालाई नजिकबाट हेरिरहेका एक विश्लेषकले भने ।

गत शनिबार सकिएको २२ औ साधारण सभा अघि माओवादी नेतृत्वमा रहेको सर्वसम्मत कार्यसमितिले खजुरा खानेपानीलाई सञ्चालन गरिरहेको थियो । साधारणसभा उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सर्वसम्मत ढंगले निर्वाचन गरेर नयाँ नेतृत्व दिन र सबैको प्रतिनिधित्व सुनिश्चित गर्न सुझाव पनि दिएका थिए । त्यस लगत्तै साधारण सभाले नयाँ कार्यसमितिको निर्वाचनका लागि मित्रलाल सापकोटाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनाएको थियो । ‘आगामी शनिबारका लागि मतदान कार्यक्रम तय भएको छ’, निर्वाचन समितिका संयोजक सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘उम्मेदवारी दलीय गठबन्धनका आधारमा देखिएको छ ।’
खजुरा गाउँपालिकाका वडा नं. ३, ४ र ५ का ८ सय ४८ घरलाई पानीको सेवा प्रदान गर्दै आइरहेको खजुरा खानेपानी तथा उपभोक्ता समितिमा आफ्नो अनुकूल नेतृत्व लैजान राजनीतिक पार्टीहरुले दलीय गठबन्धन बनाएका हुन् । ‘यी घरले खजुराको आधा मतदाताको प्रतिनिधित्व गर्छन्’, राजनीतिक विश्लेषक भन्छन्, ‘खानेपानीको नतिजालाई आधार बनाएर आगामी स्थानीय तहको निर्वाचनमा प्रभुत्वको प्रचार गर्न खोजिएको हो ।’

हुनपनि खानेपानीको हितका लागि राजनीतिक गठबन्धन भन्दा व्यक्तिगत योगदानको कदर गर्नुपर्ने कतिपय मतदाताहरुको भनाइ छ । खजुरा खानेपानीका संस्थापक सचिव, पत्रकार शरण कर्माचार्यले आफ्नो विचार प्रवाह गर्दै भनेका छन्, ‘प्रस्ताव जताबाट आएको भएपनि खजुरा खानेपानीका लागि सतिश निरौला उपयुक्त उम्मेदवार हुन्, अर्को समूहले अघि सारेका अरविन्द गोदार एक कार्यकाल अनुभव बटुल्नका लागि उपाध्यक्ष स्वीकार गर्दा राम्रो हुन्छ ।’ पत्रकार कर्माचार्यले सचिवमा मिरा खनाल र कोषाध्यक्षमा लेखनाथ सापकोटाको नाम प्रस्ताव गर्दै भनेका छन्, ‘महिला तथा अन्य सदस्यहरुको हकमा भेग, जाती, लिङ्ग र अन्त्यमा राजनीतिक सन्तुलन पनि मिलाएर सर्वसम्मत नेतृत्व चयन गरिदिन संस्थापक सचिवको हैसियतले खजुरामा क्रियाशिल दलहरुलाई मेरो आग्रह छ ।’

सत्ता गठबन्धनले काँग्रेसबाट अध्यक्ष नोक बहादुर गोदार, उपाध्यक्षमा श्रवणधीर केसी, महिला सदस्य नन्दकली खरेल, सदस्यमा प्रेम बुढाथोकी, गोपाल थापा र लक्ष्मण कार्कीलाई उम्मेदवारी दिएको छ । माओवादीबाट सचिव मदन सुनार, कोषाध्यक्ष गीता सापकोटा र सदस्य खेमलाल उपाध्याय छन् । समाजवादीका तोजेन्द्र विक र आशा बुढाथोकीलाई सदस्यमा उम्मेदवार बनाइएको छ ।
सतिश निरौला नेतृत्वको एमाले–राप्रपा गठबन्धनले उपाध्यक्ष मोहन बहादुर खड्का, सदस्य सुधिर कुमार शुक्ला, द्रोण काफ्ले र घनश्याम अधिकारीलाई राप्रपाबाट उम्मेदवार बनाएको छ भने अध्यक्ष पदका उम्मेदवार निरौला सहित सचिव निरा सापकोटा, कोषाध्यक्ष चन्द्र प्रकाश खड्का, महिला सदस्य पम्फा तिवारी, सदस्य सुनिता कंडेल, किरण कुमार क्षेत्री, भक्त गोदार र द्रोण बहादुर काफ्लेलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया